बैंकको स्प्रेडदर कम गर्न पहल गर्छु : चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नव निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसाय विस्तार हुन बैंकहरुले कम स्प्रेडदरमा लगानी गर्नु पर्ने बताएका छन् ।

 

उनले बैंकले कम स्प्रेड राखेर व्यवसाय खोल्न कर्जा दिन सकेमात्र नेपालमा औद्योगिक वातावरण निर्माण हुने बताएका हुन् ।

 

निर्यात महासंघले नेपाल उद्योग वाणिज्य महासंघको नव निर्वाचित पदाधिकारी तथा वस्तुगत तर्फबाट निर्वाचित कार्यकारिणी सदस्यहरुलाई स्वागत तथा बधाई दिन आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले उक्त धारणा राखेका हुन् ।

 

‘म व्यवसायसँगै बैंकर पनि हुँ, मैले जति आम्दानी बैंकले दिने बोनसबाट पाउँछु त्यसको कयौं गुणा रकम उद्योग व्यवसायबाट पाएको छु । म बैंकले लिने स्प्रेड सधैँ कम हुनु पर्छ भन्ने मान्यताबाट अगाडि बढेको व्यवसायी हुँ । त्यसैले व्यवसायी मित्रहरुलाई बैंकको स्प्रेड कम गर्न मेरो पहल हुने विश्वास दिलाउँछु’, ढकालले भने ।

 

 

उनले व्यवसायीक वतावरण निर्माणमा नयाँ कार्यसमितिले काम गर्ने बताउँदै अब महासंघ पक्ष विपक्षमा बाँडिएर नभई एक ढिक्का भएर अगाडि बढ्ने बताएका थिए ।

 

कार्यक्रममा निर्यात महासंघका अध्यक्ष रामहादुर गुरुङले नेपाल आयातमा मात्रै निर्भर रहेकाले हाम्रा वस्तु उत्पादन र त्यसको निर्यातमा महासंघसँग मिलेर काम गर्ने धारणा राखेका थिए ।

 

एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छाले अहिले नेपालको अर्थतन्त्र सिंगल इन्जिन जडान भएको जहाज जस्तो देखिएको बताउँदै अर्को इन्जिन वस्तु उत्पादन र त्यसको निर्यात हुनु पर्ने धारणा राखेका थिए ।

 

गोल्छाले महासंघले १० वर्षे रणनीति निर्माण गरेर अगाडि बढ्ने योजना अनुसार काम भइरहेकाले अहिलेको नयाँ कार्यसमितिले निजी क्षेत्रको लागि केही उल्लेखनिय काम गर्ने दाबी गरे ।

 

वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपालले व्यापार शुरू गर्दा अमेरिका जस्तो देश नै पत्ता नलागेको बताउँदै हाम्रा समस्या, चुनौती र त्यसको समाधान गर्ने आधार खोज्दै काम अगाडि बढाउने बताएका थिए ।

चिलिमे जलविद्युतको लाभांश घोषणा, बोनस र नगद कति Read Previous

चिलिमे जलविद्युतको लाभांश घोषणा, बोनस र नगद कति

मोडेर्नाले माग्यो अमेरिका र यूरोपमा कोरोनाको खोप प्रयोगको अनुमति Read Next

मोडेर्नाले माग्यो अमेरिका र यूरोपमा कोरोनाको खोप प्रयोगको अनुमति