६० करोडको आइपीओ जारी गर्न अनुमति पाएको प्रभु लाइफको यस्तो छ वित्तीय अवस्था
चाणक्य पोष्ट
प्रकाशित : 12:07 pm, मंगलबार, मंसिर १६, २०७७

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ ।

 

हाल १ अर्ब ४० करोड चुक्ता पूँजी रहेको इन्स्योरेन्सले २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

 

नेपाल धितोपत्र बोर्डले प्रभुलाई १०० रुपैयाँ अंकित दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्न गत बिहीबार अनुमति दिएको हो । कम्पनीले गत साउन २१ गते आइपीओ अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।

 

वित्तीय विवरणको कुरा गर्दा नेपालको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु लाइफलाई ४ को रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत वित्तीय अवस्था औसत भन्दा कम रहेको संकेत गर्दछ ।

 

काठमाडौंको कमलादीमा प्रधान कार्यालय रहेको प्रभु लाइफ सन् २०१७ देखि सञ्चालनमा आएको हो । कम्पनीको प्रमोटरमा बैंकहरु, मचेन्ट बैंकहरु, लगानी व्यवस्थापन कम्पनीहरु, बीमा कम्पनीहरु र केही व्यक्तिगत लगानीकर्ताहरु समेत रहेका छन् ।

 

अहिलेसम्म कम्पनीका १ सय हाराहारी शाखा कार्यालयहरु रहेका छन् भने झण्डै ७ हजार एजेन्टहरु समेत छन् । कम्पनीका करिब २० कर्पोरेट एजेन्टहरु समेत रहेका छन् ।

 

इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा १५३.२७ प्रतिशतले बढाएको छ । कम्पनीले असोज मसान्तसम्ममा ३ करोड ९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १ करोड ८६ लाख रुपैयाँले बढी हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा १ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा इन्स्योरेन्सले २५ करोड ९७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १२ करोड ६८ लाख रुपैयाँले बढी हो । इन्स्योरेन्सले गत आवको पहिलो त्रैमासमा १३ करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

 

समीक्षा अवधिसम्म कम्पनीले २२ हजार ५९४ वटा बीमालेख जारी गरी २५ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरको छ । यस अवधिमा इन्स्योरेन्सले १७५ वटा दाबी बापत ६१ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ वटा दाबी वापत ४१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

 

हाल १ अर्ब ४० करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २३ करोड ९१ लाख रुपैयाँ, जीवन बीमा कोषमा १ अर्ब १९ करोड ४९ लाख रुपैयाँ र महाविपत्ती जगेडामा १ करोड ५४ लाख रुपैयाँ सञ्चित छ ।

 

कोरोना संक्रमणका बाबजूद कम्पनीले राम्रो व्यवसाय विस्तार गरेको देखिएको छ । यस्तो प्रतिकूल अवस्थालाई चुनौतीका साथै अवसरको रुपमा समेत लिएर व्यवसायलाई अघि बढाउने रणनीति रहेको कम्पनीले जनाएको छ ।

Advertisement Section