काठमाडौं । भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित ध्वनी, धुँवा र रसायन प्रदूषण गर्ने उद्योगहरु बन्द गर्न स्थानीयले माग गरेका छन् ।
भक्तपुर नगरपालिका वडा नं. २ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित ध्वनी र धुँवा प्रदूषण गर्ने उद्योग स्थानान्तरणबारे भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मी नेतृत्वमा आएको टोलीले छलफल गरेको छ ।
नगर प्रमुख प्रजापतिले भक्तपुर औद्योगिक क्षेत्रलाई घरेलु तथा साना उद्योग वा हस्तकला ग्रामको रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उद्योग क्षेत्रभित्र सञ्चालित धुँवा, धूलो फाल्ने डाइङ, टेक्सटाइल र र·रोगण उद्योगहरूलाई तत्काल उपयुक्त ठाउँमा स्थानानान्तरण गर्नुपर्नेमा उनले जोड दिए ।
स्थानीय किसानको जग्गा सस्तोमा अधिग्रहण गरी भक्तपुर साना उद्योग क्षेत्र स्थापना गरिएकोमा स्थापनाको उद्देश्यविपरीत ध्वनि, धुवाँ, रसायन प्रदूषण फाल्ने टेक्सटाइल, डाइङ, रङरोगन, प्लास्टिक उद्योगलगायतका उद्योगहरू सञ्चालनप्रति विरोध रहँदै आएको छ ।
उनले सरकारकै नीतिअनुरुप ती उद्योगहरू उपत्यका बाहिर स्थानान्तरण गर्नुपर्ने बताए । उनले उद्योग क्षेत्रमा स्थापित कतिपय उद्योगीहरूले नगरपालिकाको निर्देशन पालना नगरेको र तिर्नुपर्ने कर समेत नतिरी सञ्चालन गरिरहेको तर्फ ध्यानाकर्षण गराए ।उनले प्रदूषण फाल्ने उद्योगहरूलाई पहिलो चरणमा स्थानान्तरणको लागि आवश्यक पहल गरिदिन आग्रह गरे ।
बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीले भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगबारे जनताको गुनासो सम्बोधन हुने आश्वासन दिए । उनले उद्योगहरू स्थानान्तरणको विषयमा स्थायी समस्या समाधानको लागि आफूहरू तयार रहेको बताए ।