काठमाडौं । काठमाडौंको चक्रपथमा गुडाउने भनिएको मोनो रेलको आयोजना विस्तृत प्रतिवेदन (डीपीआर) अन्योलमा परेको छ । चिनियाँ कम्पनी ‘सेन्ट्रल चाइना रेल वे सेन्टर’ (सीसीआरसी) ले डीपीआर बनाइ रहे पनि सो मोनो रेल बनाउने कि नबनाउने नै अन्योलमा परेको हो ।
मोनो रेलको प्रि–फिजिविल्टी अध्ययनमै १ खर्ब २० अर्ब रुपैयाँ हाराहारीमा खर्च उठेपछि मोनो रेल डीपीआर निर्माण पछि लगानी कसले गर्ने भन्ने विषयमा अन्योलता सृजना भएको हो ।
चक्रपथमा २८.५ किलोमिटर लामो मोनोरेल निर्माणका लागि डीपीआर बनिरहेको छ । चक्रपथमा मोनोरेल चलाउन करिब ८० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । मोनो रेल कलंकीदेखि कोटेश्वर, चाबहिल, महारागञ्ज हुँदै पुनः कलंकीसम्म पुग्ने गरी सञ्चालन गरिने सम्भाव्य अध्ययनले देखाएको छ ।
काठमाडौं महानगरपालिकाका भौतिक शाखाका प्रमुख राम थापाले मोनो रेलको डीपीआर निर्माण भएपछि पनि त्यसमा लगानी कसले गर्ने भन्ने विषयले यसमा ढिलाइ गरिरहेको बताए ।
‘मोनो रेल बनाउने क्रममा प्रि फिजिब्ल्टिी गर्ने क्रममै धेरै रकम खर्च भयो, डीपीआर बनेपछि पनि डीपीआर बनाइरहेको कम्पनीलाई मोनो रेल बनाउन दिने कि अर्कै लगानी खोज्ने भन्ने टुंगो लागेको छैन,’ उनले चाणक्य पोष्टसँग भने ।
उनले यति मात्र नभइ चक्रपथ विस्तारका क्रममा कलंकीदेखि चाबहिलसम्म सडक विस्तार गर्न तयारी भइरहे पनि त्यसको डीपीआर पूरा नभएकाले अर्को अन्योलता थपेको बताए । उक्त मोनो रेल चक्रपथमा गुडाउने भनेर डीपीआर तयार भइरहेकाले चक्रपथको विस्तारले थप समस्या सृजना गरेको हो ।
उनका अनुसार चक्रपथ विस्तार पछि मोनो रेल चक्रपथको बीचमा गुडाउने कि साइडबाट भनेर छलफल भइरहेको छ । ललितपुर र काठमाडौं महानगरपालिकाको समन्वयनमा शुरू गरिएको मोनो रेल आयोजना रिङरोड विस्तारको पूर्ण डिजाइन पूरा नभएसम्म डीपीआर फाइनल हुन समस्या भइरहेको छ ।
यस्तै लगानीको मोडालीटी अझै तयार हुन बाँकी रहेको छ । उनले लगानीका लागिा मोडालिटी तयार हुन बाँकी रहेको र त्यसमा छलफल भइरहेको जानकारी दिए । उनले अबको समयमा चक्रपथ विस्तारको डिजाइन पूरा नभएसम्म मोनो रेलको डीपीआर पूरा हुन समय लाग्ने बताए ।
‘यसमा ती वटा समस्या देखा परेको छ, चक्रपथ विस्तारको डिजाइन नबन्नु एक, दोस्रो लगानी मोडालिटी र तेस्रो लगानी कस्ले गर्ने भन्ने, यी कुरामा समाधान नभई यो आयोजना अघि बढ्न सक्दैन।’ शाखा प्रमुख थापाले भने ।
प्रारम्भिक अध्ययन अनुसार मोनो रेल
चक्रपथमा २८.५ किलोमिटर लामो मोनोरेल निर्माणका लागि डीपीआर बनिरहेको छ । चक्रपथमा मोनोरेल चलाउन करिब ८० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यो रकमका लागि अन्तर्राष्ट्रिय लगानी कर्ता खोज्नु पर्ने हुन्छ ।
काठमाडौं उपत्यकामा मोनो रेल कलंकीदेखि कोटेश्वर, चाबहिल, महारागञ्ज हुँदै पुनः कलंकीसम्म पुग्ने गरी सञ्चालन गरिने सम्भाव्य अध्ययनले देखाएको छ ।
सम्भाव्यता अध्ययनका अनुसार चक्रपथमा गुडाइने सो रेलले दैनिक एकदेखि डेढ लाख यात्रुलाई सेवा दिने छ । तीन वटा डिम्बासहितको मोनोरेलले प्रतिघण्टा १० हजार यात्रुलाई सेवा दिने अनुमान गरिएको छ । मोनो रेलले १४ वटा स्टेशनबाट यात्रुलाई सेवा दिनेछ ।