काठमाडौं । अब सहकारी संस्थाहरुले कर्जा प्रवाह गर्दा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । सहकारी विभागले साउन १९ गतेबाट सहकारीहरुलाई १६ प्रतिशत ब्याजदरको सिलिङ लागू हुने जनाएको छ ।
शुक्रबार विभागमा आयोजित कार्याक्रममा बोल्दै रजिष्टार टोकराज पाण्डेले आईतबार देखि सबै सहकारीमा यो नियम लागू हुने गरी ब्याजदर तोकिएको बताएका छन् । यो नियम नयाँ कर्जा लिने व्यक्तिहरुको हितमा हुने उनले जानकारी दिए ।
ऋण लागतमा लिने अधिकतम ब्याजदर १६ प्रतिशत हुनु पर्ने त्यो भन्दा बढि ब्याजदर कुनै पनि सहकारीले लिन नपाउने उनले बताए ।
यस्तै न्यूनतम ऋण ब्यादर तर्फ ६ प्रतिशत भन्दा कम ब्याजदर लिन नपाईने नियमावलीमा उल्लेख छ । सो ब्याजदर प्रत्येक ३/३ महिनामा समायोजन गर्न सकिने पाण्डेले जानकारी दिए ।
ब्याजदर निर्धारणका लागि २०७६ सालको साउन १६ गते बसेको बैठकले राष्ट्रिय सहकारी विभाग, राष्ट्र बैंक, अर्थमन्त्रालय, भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालय लगायतका पदाधिकारीहरुको सहभागितामा निर्धारण गरिएको हो ।
यसले सहकारीहरुमा समेत ब्याजदरको अंकमा एकरुपता आउने अनुमान गरिएको छ । विभागका अनुसार यसले सहरकारीको भारी ब्यादरमा परेका जनतालाई राहत पुर्याउने छ ।
नेपालमा झण्डै ३५ हजार सहकारी संस्थाले वित्तीय कारोवार गर्दै आएका छन् । बचत तथा ऋण परिचालन गर्न सहकारीले थोरैमा ११ प्रतिशतदेखि बढीमा २३ प्रतिशतसम्म ब्याज असुल्ने गरेका छन् । नेपालको मुलुकी संहितामा भने १० प्रतिशतभन्दा बढी ब्याज असुल्न नपाइने उल्लेख छ ।
पछिल्लो तथ्याङ्कअनुसार नेपालका सहकारी संस्थासँग झण्डै ७ खर्ब रुपैयाँ पूँजी बचत छ भने ६५ हजारले प्रत्यक्ष रोजगार पाउनाका साथै ६३ हजार व्यक्ति सहकारीमा आबद्ध छन् ।सहकारी ऐन, २०७४ मा सहकारी संस्थाले ब्याजदर निश्चित गर्नुपर्ने उल्लेख छ ।