
काठमाडौं । निजी क्षेत्रको अग्रणी बैंक नबिल बैंक नेपाली सेयर बजारमा १ खर्ब बजार पूँजीकरण हुने तेस्रो कम्पनी बनेको छ ।
यस सता निरन्तर सेयर मूल्य बढेसँगै नबिल बैंकको बजार पूँजीकरण १ खर्ब रुपैयाँ कटेको हो । नेप्सेमा सूचीकृत कम्पनीमध्ये यसअघि नेपाल टेलिकम र नेपाल पुनर्बीमा कम्पनीको मात्र १ खर्ब बढी बजार पूँजीकरण रहेको थियो ।
नेपाल स्टक एक्सचेनजका अनुसार अहिले नबिल बैंकको १ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । नेप्सेमा १० करोड ८ लाख कित्ता सेयर सूचीकृत गरेको बैंकको सेयर मूल्य प्रतिकित्ता ११३० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार पूँजीकरणका आधारमा नेपाल टेलिकम सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको छ । टेलिकमको बजार पूँजीकरण १ खर्ब ६३ अर्ब ३५ करोड रुपैयाँ छ ।
यस्तै, पूँजीकरणका आधारमा नेपाल पुनर्बीमा कम्पनी दोस्रो स्थानमा छ । यसको बजार पूँजीकरण १ खर्ब ३३ अर्ब ९० करोड रहेको छ ।
बजार पूँजीकरणका आधारमा नेपाल लाइफ ९१ अर्ब ५१ करोड, नागरिक लगानी कोष ७७ अर्ब ७७ करोड, एनआइसी एशिया बैंक ७२ अर्ब १५ करोड, एनएमबी बैंक ६४ अर्ब १४ करोड रुपैयाँ सहित क्रमशः शीर्ष सात स्थानमा रहेका छन् ।
त्यसैगरी, ६२ अर्ब ६९ करोड बजार पूँजीकरण रहेको नेपाल इन्भेष्टमेन्ट बैंक आठौं, ६० अर्ब ३४ करोड रुपैयाँ सहित ग्लोबल आइएमइ बैंक नवौं र ५९ अर्ब २० करोड रुपैयाँसहित एभरेष्ट बैंक दशौं स्थानमा रहेको छ ।
नेप्सेका अनुसार सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण २५ खर्ब ३७ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । यो नेपाली सेयर बजारको इतिहासमा अहिलेसम्मकै धेरै हो ।