कहिले हुँदैछ युनाइटेड इदी-मार्दीको आइपीओ बाँडफाँट ?
चाणक्य पोष्ट
प्रकाशित : 1:46 pm, शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावरको प्राथमिक साधरण सेयर आगामी साता बाँडफाँट हुने भएको छ।

 

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज आइपीओको प्रि-अलोटमेन्ट  सम्पन्न भएको छ । । प्रि-अलोटमेन्ट भएको ३ दिन भित्र आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।

 

सो अनुसार अब आगामी मंगलबारसम्ममा आइपीओ बाँडफाँट गरिसक्ने क्यापिटलले जनाएको छ। सम्भवत आइतबार बाँडफाँट हुनसक्ने सम्भावना रहेको जनाइएको छ ।

 

कम्पनीले मंसिर ३ गतेदेखि ८ करोड ७३ लाख ९१ हजार रुपैयाँ बराबरको ८ लाख ७३ हजार ९१० कित्ता आइपीओमा निष्काशन गरेको थियो ।

 

निष्काशित हुने कुल ८ लाख ७३ हजार ९१० कित्ता सेयरमध्ये ४३ हजार ६९६ कित्ता सामूहिक लगानी कोष र १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो भने बाँकी ८ लाख १२ हजार ७३६ कित्ताका लागि सर्वसाधरणले आवेदन दिएका छन् ।

 

कम्पनीको आइपीओमा ५ लाख ५७ हजार ८२९ जनाले आवेदन दिएका छन् । धितोपत्र नियमावली अनुसार सबै आवेदकलाई समानुपातिक न्यूनतम १० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ । सो अनुसार सबै आवेदकलाई सेयर बाँड्न नपुग्ने भएकाले भाग्यमानी ८१ हजार २७३ जनाले मात्र गोलाप्रथाबाट १० कित्ता पाउने छन् ।

 

कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाका स्थानीयलाई ४ लाख २० हजार कित्ता आइपीओ जारी गरिसकेको छ ।

 

कम्पनीले हाल कास्कीमा ७ मेगावाटको अपर मार्दीखोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । यसको प्रतिमेगावाट लागत २० करोड ३९ लाख ७६ हजार रुपैयाँ रहेको छ । कम्पनीको विद्युत उत्पादन अनुमति पत्र ३० वर्ष बाँकी रहेको छ ।

Advertisement Section