संघर्ष र मेहनतले उदाएका अन्जन !

‘कक्षा ३ मा पढ्न भनेर मलाई पोखराबाट काठमाडौं पठाइयो । काठमाडौंको गुहेश्वरी स्कुलमा पढ्न आएपछि शिक्षक करुणा म्याडमले कालोपाटीमा टेबुलको चित्र बनाउनुभयो जसको माथि एउटा किताब थियो र मुन्तिर बिरालो थियो । त्यसपछि भन्नुभयो, ‘बुक इज अन द टेबल, क्याट इज अन्डर द टेबल ।’ त्यो बुझ्ने मेरो क्षमता थिएन । म भर्खर ए, बी सी डी… पढ्न शुरू गर्दै थिएँ । पोखराको मेरो स्कुल बालज्योति प्राथमिक विद्यालयमा पढ्न जाँदा आफू बस्नका लागि बोरा पनि सँगै लिएर जानुपर्दथ्यो । छानो पनि थिएन । मानिसहरूलाई लाग्ला, को हो अन्जन श्रेष्ठ ? कहाँ बाट पलायो ? मलाई लाग्छ अन्जन श्रेष्ठको टुसो त्यही बोरा बोकेर क, ख, ग, घ… पढ्दै गर्दा पलाएको हो’, लक्ष्मी ग्रुपका प्रबन्ध निर्देशक अन्जन श्रेष्ठले कुराकानीको शुरूआतमै भने ।

 

कसैकसैले उनलाई ‘राजकुमार’ पनि भने रे । सायद खानदानी नेवार व्यवसायीको छोरा भनेका होलान् । ‘बर्न विथ  सिल्भर स्पुन’ (जन्मँदै चाँदीको चम्चामा मह चाटेको) भन्ठानेका होलान् मानिसहरूले । अन्जनलाई भने ‘राजकुमार’ भनेर खिसी गर्दा पनि रमाइलै लाग्छ रे । भन्छन्, ‘राजकुमार त राजा बन्ने हो नि !’ तर, उनी बन्न चाहेका छन्, कर्मको राजा । जन्मको राजा होइन ।

 

अहिले देशकै ठूलो मध्येको व्यवसायीक समूह लक्ष्मी ग्रुपको प्रबन्ध निर्देशक हुन् अन्जन । यो ग्रुपको शुरूआत धेरै अघि पोखरामा शुरूवात भएको थियो । तर, आजको स्वरूपमा भने होइन । बिल्कुल फरक स्वरूपमा । सेलरोटी पकाएर बेच्ने स्वरूपमा !

 

नाडीमा सेल भिरेर बस्दा मिहिनेतले ती बालकको हातमा पसिना आयो होला र त्यही पसिनामा चिप्लिएर केही सेल फुत्त खसे पनि होलान् । ती खसेका सेल  गुड्दै गुड्दै काठमाडौंसम्म आइपुगेका छन् । विश्वविख्यात गाडी ब्राण्ड हुन्डाइको चक्का बनेर अहिले ती सेल देशैभरि गुडिरहेका भेटिन्छन् ।

 

अन्जनका बुबाहरू सानो हुँदा नै उनको हजुरबाको निधन भएको थियो । त्यसैले गुजारमा चलाउनका लागि घरमै सेल रोटी पकाएर बेच्न गरिन्थ्यो ।पछि व्यवसाय बढाउनका लागि परिवारले पोखरा वरिपरि मेला लाग्दा त्यहीँ गएर सेलरोटी इत्यादि पकाएर बेच्ने गर्न थाल्यो । व्यवसाय विस्तार गर्ने अघोषित चेतना परिवारका सदस्यहरूमा व्याप्त थियो सायद ।‘त्यो समय मेरो बुवाले महिलाहरूले चुरा लगाए जस्तै गरेर सेल नाडीमा भिरेर बेच्न बस्नुहुन्थ्यो रे’, अन्जन भन्छन् ।

 

सायद दिनभर नाडीमा सेल भिरेर बस्दा मिहिनेतले ती बालकको हातमा पसिना आयो होला र त्यही पसिनामा चिप्लिएर केही सेल फुत्त खसे पनि होलान् । ती खसेका सेल  गुड्दै गुड्दै काठमाडौंसम्म आइपुगेका छन् । विश्वविख्यात गाडी ब्राण्ड हुन्डाइको चक्का बनेर अहिले ती सेल देशैभरि गुडिरहेका भेटिन्छन् ।

 

व्यवसायको शुरूआत

 

०२६ सालदेखि भने कामले अलिकति व्यवसायीक स्वरूप ग्रहण गर्यो । पुष्टकारी पनि बन्न थाल्यो । त्यो समय व्यवसायको आकार सानो भएकाले घरका महिलाहरूले पुष्टकारी बेचे पनि पुरुषहरूले भने केही समय जागिर खाएका थिए ।

 

पोखरा बुटवल राजमार्ग बनाउने कार्यालयमा अन्जनका ठूलोबुबा क्लर्क थिए भने बुवा पाल्पाको भूमिसुधारमा खरदार । ‘तर, बज्यै एक्लै घरमा हुने भएकाले उहाँहरूले जागिर छाडेर आफ्नै घरमा फर्कने र व्यवसाय गर्ने निर्णय गर्नुभयो’, अन्जन भन्छन् ।

 

त्यसपछि ३०० रूपैयाँमा चकलेट बनाउने मेशिन ल्याएर पोखरामा नयाँ चकलेट बनाउने नयाँ व्यवसाय शुरू भयो । लक्ष्मी मिठाइ भण्डारको रूपमा दर्ता गरिएको उक्त उद्योग नै आजको लक्ष्मी ग्रुपको टुसो हो, जसरी बोरामा बसेर पढ्नुपर्ने स्कुल यस ग्रुपको अहिलेका प्रबन्ध निर्देशकको टुसो थियो । लक्ष्मी मिठाइ भण्डार ०३० साल पुस ५ गते दर्ता भएको थियो ।

 

त्यो व्यवसायले राम्रो गति लियो । पछि ०३२ सालमा पोखरा औद्योगिक क्षेत्रमा उद्योग विस्तार पनि भयो । त्यहाँ सेमि–अटोमेटिक मेशिन ल्याएर जयमहालक्ष्मी कन्फेक्सनरी भनेर अर्को उद्योग पनि शुरू गरिएको थियो ।

 

शुरूमा स्थानिय स्तरमै विक्री वितरण भइराखेका उत्पादनहरू पछि ४४–४५ सालसम्म आइपुग्दा देशव्यापी रूपमै फैलन थाल्यो । ‘४५ साल सम्म हामीले कन्फेक्सनरी मै आफ्नो लगानी बढायौं । हाम्रो उद्देश्य भनेको कमाएको पैसा सबै व्यवसायमै लगानी गरेर बढाउँदै लैजाने भन्ने नै थियो । जग्गा किन्ने, घर बनाउने भन्ने थिएन । कन्फेक्सनरीमा धेरै खाले मेशिन चाहिन्थ्यो । क्यान्डी, टफी, बबलगम बनाउन सबै छुट्टै मेशिन चाहिन्थ्यो’, अन्जन भन्छन् ।

 

४५ सालको नाकाबन्दी

 

यो सबै हुन्जेलसम्म अन्जन काठमाडौंमै पढ्दै थिए । ४४ सालमा एसएलसी पास गरेका थिए र विस्तारै पोखरा फर्केर काम गर्ने योजना बनाउँदै थिए । तर, हठात् शुरू भएको नाकाबन्दीले योजना थोरै तलमाथि पार्यो ।

 

नाकाबन्दीका कारण उद्योग चलाउन गाह्रो हुन थाल्यो । भारतबाट प्याकेजिङको सामान ल्याउन गाह्रो भयो । नाकाबन्दीको समयमा सरकारले सूचना निकालेको थियो, ‘व्यवसाय सञ्चालन गर्न केही समस्या भयो भने उद्योग विभागका महानिर्देशक वा सचिवलाई भेट्नु भनेर ।’

 

‘त्यसै मेसोमा मैले गणपत राज राजभण्डारीलाइ भेटेको थिएँ । उहाँ नै मैले भटेको सबैभन्दा ठूलो सरकारी अधिकारी हुनुहुन्थो । उहाँ उद्योग सचिव हुनुहुन्थ्यो । उहाँलाई भेट्न जानु अघि मलाई धेरै डर लागेको थियो । उहाँले चिया मगाउनुभयो र मसँग कुरा गर्नुभयो । मैले उहाँसँग आफ्नो व्यवसाय सञ्चालनका सन्दर्भमा भोगका कठिनाइहरूको बताएँ । त्यसपछि मलाई धेरै आत्मविश्वास बढ्यो । एक किसिमको ब्रेक थ्रु नै भयो’, अन्जन सम्झन्छन् । यसरी योजना भन्दा अलि फरक ढंगले अन्जनको व्यवसायीक यात्रा शुरू भयो ।

 

४६ साल पछि जया कन्फेक्सनरी नामको अर्को उद्योगले म्याङगो टार्ट भन्ने चकलेट बनाएको थियो । त्यसको सेल्स टिम अन्जनले नै खडा गरेका थिए । जयमहालक्ष्मी नाम गरेको अर्को उद्योगको उत्पादन भनेको चाहिँ अरेन्ज बल र रिमझिम बल थियो । शुभलक्ष्मी कन्फेक्सनरीले बनाएको उत्पादन चाहिँ लफ्टी थियो । यी सबै उत्पादनहरू नेपालमा ‘सुपरहिट’ भएका थिए ।

 

सुजल फुड यी सबै कम्पनीहरूका एकत्रित रूप हो । त्यसपछि कम्पनीले वेफर र कोका चकलेटको क्षेत्रमा पनि हात हाल्यो । जुन ‘चोकोफन’को रूपमा अत्यन्तै सफल पनि भयो ।

 

आफ्नै पहलमा उद्योग

 

अन्जनले आफ्नै पहलमा खोलेको पहिलो उद्योग भने झोला उद्योग थियो । त्यो समय झोला बनाउने उद्योग धेरै चल्तिमा थियो । उनले एक वर्ष लगाएर त्यसको लाइसेन्स प्राप्त गरेका थिए । ४७ साल अघि त लाइसेन्स राज थियो नि मुलुकमा !

 

त्यो उद्योग लक्षमी ग्रुपको यो हाम्रो पहिलो वैदेशिक व्यापार पनि थियो । तेस्रो मुलुकबाट सामान ल्याइएको थियो । त्यो भन्दा पहिले भारतबाट मात्र सामान ल्याउने गरिएकोमा त्यो बेला भने थाइल्याण्डबाट मेशिन र सिङ्गापुरबाट कच्चा पदार्थ ल्याइएको थियो । उद्योगको ६० प्रतितश सामान आफ्नै उद्योगहरूले खपत गर्दथे । ‘ब्याकवार्ड इन्टिग्रेशन’ थियो त्यो ।

 

‘त्यसपछि आएर ६६ सालमा मैले आफ्नै अग्रसरतामा दोस्रो उद्योग शुरू गरें, प्लास्टिकको बोतल इत्यादि बनाउने । यसको पनि सामान आफ्नै उद्योगहरूले गर्छन, मूलरूपमा’, अन्जन भन्छन् । अहिले यातायात खर्च इत्यादि धेरै लाग्ने भएका कारण यी दुवै उद्योगहरू पोखरामा सारिएका छन् । क्षमता पनि बढाइएको छ ।

 

डेरी उद्योग

 

‘४८ साल पछि सरकारले निजीकरणको अवधारणा ल्यायो । हामी पनि व्यवसायको विविधीकरण गर्न खोजिरहेका थियौं । नेपाल सानो बजार भएको कारणले ग्रुप ठूलो हुनको लागि विविधिकरणको आवश्यकता पर्छ’, अन्जन भन्छन्, ‘नेपालमा धेरै उतारचढाव आइरहन्छ । मैले नै नाकाबन्दी, भूकम्प, राजनीतिक द्धन्द्ध, फेरी नाकाबन्दी, कोभिड इत्यादि भोगिसकेको छु । व्यवसाय विविधीकरण नगर्ने हो भने यस्तो समयमा जोगिन गाह्रो हुन्छ ।’

उनीहरू नयाँ व्यवसाय गर्न खोजिरहेका थिए । त्यही समयमा सरकारले दुग्ध विकास संस्थानलाई निजीकरण गर्ने कुरा आयो । ६५ सालमा आएर त्यो प्रक्रिया शुरू भयो । हस्तान्तरण गर्न अर्को ५ वर्ष लाग्यो । टेण्डर मात्र ६ पटक हालेको अन्जनहरूको अनुभव छ ।

 

‘रक्सी र चुरोटको व्यवसाय हाम्रो ग्रुपले नगर्ने भएका कारण पनि डेरीमा हामी आकर्षित भएका थियौं’, अन्जनले खुलाए । दुग्ध क्षेत्रमा उनीहरूले केही उल्लेख्य कामहरू गरे । जाडो महिनामा अत्याधिक दूध हुने अनी गर्मीमा नपाउने अवस्था थियो । त्यो समस्या समाधानको लागि उनीहरूले पाउडर दूधको उद्योग लगाए । ६ महिनामा सञ्चालनमा आएको त्यो उद्योगलाई आफ्नो ग्रुपको अभूतपूर्व सफलता मान्छन् अन्जन ।

 

‘डेरीमा पनि हामी अहिले नेपालको दोस्रो ठूलो हौं । दैनिक १ लाख ५० हजार लिटर दूध खपत गर्छौं । सिजनमा दैनिक १० हजार केजी पाउडर दूध उत्पादन गरिरहेका छौं’, उनले गर्वका साथ भने ।

 

अटो

 

व्यवसायीक अवसरहरू खोज्दै अटो क्षेत्र पनि उनीहरूको प्राथमिकतामा पर्यो । आफूहरू हुण्डाइको काठमाडौं डिलर रहेको त्यसमा धेरै राम्रो काम गरेका कारण राष्ट्रिय डिलर हुने अवसर पाएको अन्जन बताउँछन् ।

 

‘हामीले अटो क्षेत्रमा पनि केही नयाँ ढंगले काम गर्यौं । लक्ष्मी ग्रुपले जहिले पनि नया ढंगले काम गर्दे आएको छ । अटो क्षेत्रमा चाहिँ हामीले सोकेसिङ, बाइङ एक्पेरियन्समा राम्रो गर्यौं । त्यो भन्दा अघि नेपालमा अलि परम्परागत ढंगले अटो व्यवसाय चलिरहेको थियो । हामी सन् २००९ मा तेस्रो थियौं । सन् २०१४ सम्म आइपुग्दा त हामी प्यासेन्जर कारमा पहिलो भयौं, जुन अहिले पनि निरन्तर छ’, उनले भने ।

 

‘कन्फेक्सनरीमा पनि कुरा त्यही हो । त्यसैले अहिले हामी कन्फेक्सनरीको ४० प्रतिशत बजार हिस्सा ओगट्छौं । आयातलाई प्रतिस्थापन गरेका छौं’, उनले थपे । कर्मचारी प्रशिक्षणका लागि हुन्डाइसँग मिलेर ट्रेनिङ इन्सटिच्युट पनि चलाएको छ लक्ष्मी ग्रुपले । यो क्षेत्र (भारत बाहेक) का कर्मचारीहरू यहाँ आएर प्रशिक्षण लिन्छन् ।

 

लक्ष्मी ग्रुपले कन्फेक्सनरीमा पनि अध्ययन गर्नको लागि जयमहालक्ष्मी टेक्नो सेन्टर चलाएको छ । ग्रुपको अहिलेको नयाँ व्यवसायीक परियोजना भनेको स्टिल उद्योग हो । हुन्डाइको गाडी नेपालमै एसेम्बल गर्नको लागि पनि कम्पनी दर्ता भइसकेको छ । होटलका पनि योजनाहरू छन् । विभिन्न ठाउँमा होटल प्रोजेक्टकै लागि जग्गाहरू लिइएको छ । खाद्यान्न उद्योगमा पनि लगानी गरिसकेको यो ग्रुपको खेती गर्ने पनि योजना रहेको छ ।

बैंक तथा वित्तीय संस्थाको ६६% कर्जा घरजग्गा धितोमा, कृषि कर्जा ६% बढ्यो Read Previous

बैंक तथा वित्तीय संस्थाको ६६% कर्जा घरजग्गा धितोमा, कृषि कर्जा ६% बढ्यो

अमेरिकामा पहिलो चरणमा ६४ लाख व्यक्तिलाई कोरोनाको खोप लगाउने तयारी Read Next

अमेरिकामा पहिलो चरणमा ६४ लाख व्यक्तिलाई कोरोनाको खोप लगाउने तयारी