काठमाडौं । देशका कुल ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ७४८ तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७७ असोजसम्ममा नेपालका ५ स्थानीय तह मात्रै वाणिज्य बैंक पुग्न सकेको छैनन् । गत वर्षको सोही अवधिसम्म देशका ७४१ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा पुगेका थिए ।
राष्ट्र बैंकका अनुसार प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् । प्रदेश १ का १३७ पालिकामध्ये ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा वाणिज्य बैंकका शाखा पुगेको छैन ।
यस्तै, वाग्मती प्रदेशको धादिङको रुवी भ्याली र नेत्रावती गाउँपालिकामा शाखा पुगेको छैन । कर्णालीमा जाजरकोटको जुनीचाँदै गाउँपालिका र सुदूरपश्चिममा बझाङको काँडा गाउँपालिकामा वाणिज्य बैंकको शाखा नपुगेको राष्ट्र बैंकले जनाएको छ ।
यसका साथै बैंक तथा वित्तीय संस्थाको संख्या असोज मसान्तमा १४६ रहेको छ । यसमध्ये २७ वाणिज्य बैंक, १९ विकास बैंक, वित्त कम्पनी, ७८ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक छन् ।
बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७७ असार मसान्तमा ९ हजार ७६५ रहेकोमा २०७७ फागुन मसान्तमा ९ हजार ९०३ पुगेको छ ।