विश्वभरका फुटबल पारखीहरूका लागि आजको दिन कालो दिन साबित भएको छ । विश्व फुटबलका महानतम हस्ती डिएगो अर्मान्डो म्यारोडोनाको आज दुःखद निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको उनको वकिलले जानकारी दिएका हुन् ।
म्याराडोना र पेले लामोसमयसम्म विश्वका दुई महानतम फुटबल खेलाडीका रूपमा रहे । अहिले आधुनिक युगमा त्यो सूचीमा मेस्सी र रोनाल्डो पनि थपिएको चर्चा हुन थालेको छ ।
जब म्यारोडोना फुटबल खेल्दै थिए तब फुटबलको यस्तो व्यसायीकरण भइसकेको थिएन । फुटबल क्लबहरूको पनि यस्तो व्यवसायीकरण भइसकेको थिएन भने तीनको आम्दानीको स्रोतहरू पनि अहिलेजस्तो बाक्लो थिएन ।
अहिले खेलाडीहरूको किनबेच पनि लाखौं डलरमा हुने गरेको छ भने त्यतिबेला सामान्यत त्यस्तो महँगो मूल्यमा खेलाडी किनबेच गर्ने चलन पनि थिएन ।
तर, म्यारोडोना भने विश्वकै महान खेलाडी एवं फुटबलकै जादूगरको रूपमा चिनिएका हुनाले उनको मूल्य अहिलेका खेलाडीका भन्दा पनि उच्च थियो ।

रकमका हिसाबले अहिलेसम्मै महँगा खेलाडी ब्राजिलका नियमार हुन् । उनी स्पेनको बार्सिलोनाबाट फ्रन्सको पीएसजी क्लबजाँदा उनको मूल्य झण्डै २० करोड पाउण्डमा थियो ।
म्यारोडोनाको मूल्य सन् १९८४ मा बार्सिलोनाबाट नेपोलीमा जाँदा ६० लाख पाउण्ड थियो । तर, उक्त मूल्य आजको मूल्यमा हिसाब गर्दा ३० करोड पाउण्ड हुन आउँछ । यस हिसाबले म्यारोडोना अहिलेसम्म विश्वकै दोस्रो महँगोे खेलाडी हुन् ।
विश्व फुटबल इतिहासकै हालसम्मका महँगो खेलाडी भने ब्राजिलका रोनाल्डो हुन् । उनी सन् १९९७ मा बार्सिलोनाबाट एटालीको इन्टरमिलान जाँदा २.५ करोड पाउण्डमा गएका थिए । यो रकम भनेको अहिलेको मूल्यमा हिसाब गर्दा ३८ करोड पाउण्ड हुन आउँछ ।
विश्व इतिहासकै महँगो खेलाडीहरूको सूचीमा रोनाल्डो र म्यारोडोना पछि प्लाटिनी, भियरी, मार्को भ्यान बास्टन, बाटिस्टुटा र हिगुआन लगायत छन् । विश्वका महँगो खेलाडीहरूको सूचीमा अहिले खेलिरहेका खेलाडीहरू मध्ये नियमारमात्र अटाएका छन् ।
अर्जेन्टिनालाई सन् १९८६ को विश्वकप जिताएका र सन् १९९० को फाइनलसम्म पुर्याएका म्यारोडोनाले सन् १९८६ को विश्वकपको क्वाटरफाइनलमा इङल्याण्ड विरुद्ध गरेको गोल विश्व फुटबल इतिहासकै सबैभन्दा उत्कृष्ट गोल मानिन्छ ।