काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई, मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)को ट्रयाक खन्ने (माटो/ ढुंगा काट्ने र भर्ने) काम ८८ प्रतिशत सम्पन्न भएको छ ।
कुल ७२.५ किलोमिटर लम्बाइ सडकखण्ड मध्ये (३ वटा सुरुङमार्ग ६.४१ किमी र पुलहरुको लम्बाई १०.५९ किमी) बाहेका ५५.५ किलोमिटर सडक खण्ड निर्माण गर्नुपर्ने हुन्छ । त्यसमध्ये अहिलेसम्म ४४. १ किलोमिटर सडक खण्डमा माटो/ ढुंगा काट्ने र भर्ने काम सम्पन्न भएको आयोजनाले जनाएको छ । यसकाममा लागि अहिलेसम्म १६ अर्ब ६६ करोड रुपैयाँ खर्च भइसकेको जनाइएको छ ।
कुल ७२.५ किलोमिटर लम्बाइ सडकखण्ड मध्ये (३ वटा सुरुङमार्ग ६.४१ किमी र पुलहरुको लम्बाई १०.५९ किमी) बाहेका ५५.५ किलोमिटर सडक खण्ड निर्माण गर्नुपर्ने हुन्छ । त्यसमध्ये अहिलेसम्म ४४. १ किलोमिटर सडक खण्डमा माटो/ ढुंगा काट्ने र भर्ने काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।
यस्तै , फास्ट ट्रयाक अन्तर्गत बन्ने सुरुङ निर्माण सम्बन्धी जियो टेक्नीकल तथा जियो फिजिकल इन्भेष्टमेन्टको फिल्ड कार्य सम्पन्न भइसकेको छ । उक्त अध्यन्नको रिपोर्ट हाल मूल्यांकनको चरणमा रहेको नेपाली सेनाका सूचना अधिकारी सन्तोष बल्लभ पौडेलले जानकारी दिए । राष्ट्रिय परामर्शदाता छनोट भई सुचारु गरिएको सो अध्ययन कार्य सम्पन्न गरिएको हो । जियो टेक्नीकल इन्भेष्टमेन्ट अन्तर्गत महादवटारमा ९, धेद्रेमा ५ र लेनडाँडामा ४ गरी कुल १८ स्थानमा ड्रिलिङको काम अन्तिम चरणमा रहेको छ ।
ड्रिलिङ कार्य सम्पन्न भएका स्थानको स्यामपलहरूको परीक्षण गर्ने कार्य समेत शुरू भइसकेको छ । अन्तर्राष्ट्रिय परामर्शदाताको परामर्श अनुसार थप ड्रिलिङ तथा परीक्षण गर्ने कार्य भईरहेको छ । सुरुङ मार्ग निर्माण कार्यको लागि सक्षम अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनौट गर्न प्रिक्वालिफिकेसन आह्वान गरिएको छ । सो हाल मूल्याङ्कनको चरणमा रहेको छ । मुल्याङ्कनको कार्य यहि मंसिर मसान्तसम्म सम्पन्न भइ कम्पनीहरूको सर्ट लिस्टिङ गरिने पौडेलले बताए ।

‘छनोट भएको कम्पनीलाई ‘बिड डकुमेन्ट’ पौष महिनाको १५ गतेसम्ममा प्रदान गरी सक्ने छाँै, चैत्र महिनासम्ममा सम्झौता सम्पन्न भइ सुरुङ मार्गको कार्य शुरू गर्ने लक्ष्य रहेको छ,’ पौडेलले चाणक्य पोष्टसँग भने ।
१२ वटा बेली ब्रिज निर्माण हुँदै
सुरुङ र पुल निर्माण लगायतका कार्यमा सहजताको लागि पहुँच मार्ग (ब्एक्सेस रोड ) निर्माण गर्ने कार्य भई रहेको छ । पहिलो प्राथमिकतामा ३ वटै सुरुङ खण्डको इनलेट र आउट लेट पोर्टल जोड्ने गरी एक्सेस रोड निर्माणको कार्य अगाडि बढाइएको छ ।
आयोजनास्थलको विभिन्न पहुंच मार्ग सडक खण्डमा १२ वटा बेलिब्रीज जडान गर्ने योजना मुताबिक एबोर्डमेन्ट निर्माणको कार्य भइरहेको छ । निजगढमा २ वटा बेलिब्रीज जडान भइसकेको छ । हाल राजदमार, धेद्रे, सिस्नेरी र खोकनामा एबोर्टमेन्ट निर्माण कार्य सुचारु गरिएकोमा खोकनामा विवादको कारण एबोर्टमेन्ट साइट अवरुद्ध भएको जनाइएको छ ।
जग्गा अधिग्रहण तथा मुआब्जा वितरण
फास्ट ट्रयाक आयोजना अन्तर्गत अधिग्रहण गर्नको लागि प्रकाशित सूचना मध्ये हालसम्म ८४ प्रतिशत जग्गाको मुआब्जा लगिसकेको छ । १६ प्रतिशत जग्गाको मुआब्जा सम्बन्धितहरूले लैजान बाँकी रहेको छ ।
जस अनुसार मकवानपुर जिल्ला अन्तर्गतको ९९ रोपनी जग्गाको पुर्जा तयार भई सम्वन्धित जग्गा धनीहरूलाई मुआब्जा रकम बितरण गर्ने कार्य सम्पन्न भएको छ । खोकना ईलाकाको द्रुतमार्ग रेखाङकनमा परेका स्थानमा स्थानीय विवादको कारण जग्गा प्राप्तिमा बाधा परेको छ । सो सम्वन्धमा समस्या समाधानको लागि आवश्यक समन्वय तथा पहल भइरहेको सूचना अधिकारी पौडेलले बताए ।

मकवानपुर जिल्ला वन कार्यालय तथा सामुदायिक वन उपभोक्ता समितिसँग समन्वय गरी बागदेव इलाकाको मौरीभिरमा हालसम्म २६७ वटा रुख कटान गरिएको छ । उक्त इलाकाको बाँकी रुख कटान कार्य सुचारु रहेको छ । धेद्रे सुरुङ मार्गको एक्जीट पोर्टल इलाकाको रुख कटान कार्य शुरु गरिएको छ र सो स्थानमा ४७१ वटा मध्ये ५० वटा रुख काटिएको छ ।
द्रुत मार्गमा तीन वटा सुरुङ निर्माण हुनेछ । आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार महादेवडाँडामा ३.३५५ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । धेद्रेमा १.६३० र लेनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ निर्माण गर्ने तयारी छ ।
आर्थिक वर्ष २०८०/८१ मा फास्त ट्रयाक सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सेनाका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा द्रुतमार्ग आयोजनाका भौतिक प्रगति ११.११ प्रतिशत र वित्तीय प्रगति ९.१० प्रतिशत मात्र रहेको थियो । गत आवमा कोभिड १९ का कारण द्रुतमार्ग आयोजनाले गति लिन सकेको थिएन ।
द्रुतमार्ग परियोजनामा तीनवटा सुरुङ र साना/ठूला गरी ८७ वटा पुल निर्माण हुनेछन् ।तीमध्ये १७ वटा पुल विशेष प्रकृतिका रहने छन् । कुल साढे ७२ किलोमिटरको हुने द्रुतमार्गमा सडक ५५.५ किमि, सुरुङमार्ग ६.४१ किमि र पुल १०.५९ किमि पर्नेछ ।
सेनाका अनुसार समयमै काम सक्नका लागि आयोजनालाई ११ वटा खण्डमा विभाजन गरेर समग्र योजना बनाएर निर्माण अघि बढाइएको छ । जसमा सेना र अन्तर्राष्ट्रिय परामर्शदाता एकसाथसँगै भएर काम गर्नेछन् ।

द्रतमार्गका सडकमा समथर भू–भागमा २७ मिटर चौडाइ र अरू ठाउँमा २५ मिटर चौडाइ हुनेछ । आयोजनामा तीनवटा सुरुङको लम्बाइ ६.४१ किलोमिटर र पुलको लम्बाइ १०.५९ किलोमिटर हुनेछ ।
फास्ट ट्रयाकमा गत आर्थिक वर्ष २०७६/७७ मा कुल १५ अर्ब ७२ लाख रुपयाँ बजेट विनियोजन गरिएको थियो । त्यस अन्तर्गत खर्च हुन नसकेको ७ अर्ब ७० लाख रुपैयाँ फिर्ता गरेको थियो । गत आवमा द्रुतमार्ग आयोजनाको कुल बजेट खर्च ९.१० प्रतिशत रहेको थियो ।
चालू आर्थिक वर्ष २०७७/८० कालागि ८ अर्ब ९३ करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
चालू आवमा द्रुत मार्ग अन्तर्गत हुने कार्यहरू
चालू आर्थिक वर्षमा द्रुत मार्ग अन्तर्गत सुरुङ मार्ग प्याकेजको ठेक्का व्यवस्थापन गरि कार्य सुचारु गरिने योजना रहेको छ । ४ किलोमिटर ढुंगा माटोको कार्य (फर्मेसन लेभल) निर्माण गरिने योजना रहेको छ । यस्तै चालू आव भित्रै ८०७ रोपनी जग्गा अधिग्रहण प्राप्ति गरिने सेनाको योजना रहेको छ । साथै १ हजार १५० रुख कटान गरी वृक्षारोपण समेत शुरू गरिने जनाइएको छ ।