चन्द्रागिरीको सेयर पनि शिवम् र पुनर्बीमाको जस्तै महँगो बन्ला ?
चाणक्य पोष्ट
प्रकाशित : 4:22 pm, बुधबार, मंसिर १०, २०७७

काठमाडौं । नेपाली सेयर बजारमा अलि फरक खाले कम्पनीहरूको सेयर मूल्य सधैं उच्च रहने गरेको छ । बजार बुल रनमा भएको बेलामा पनि यस्ता सेयरहरूमा अन्य ‘सामान्य’ कम्पनीको सेयरमाभन्दा बढी नै उछाल आउने गरेको छ ।

 

उदाहरणको लागि नेपाली सेयर बजारमा सूचीकृत एकमात्र सिमेन्ट कम्पनी शिवम् सिमेन्टको सेयर मूल्यमा उछाल आइरहेको छ । २ वर्ष अघि ३ सयमा सर्वसाधारणको लागि जारी गरिएको यो सेयर अहिले प्रति कित्ता १ हजार ६०० रुपैयाँ माथि पुगिसकेको छ ।

 

यसैगरी हिमालयन डिस्ट्रीलरीको सेयर पनि केही महिना अघि १२०० रुपैयाँ प्रति कित्ता हाराहारी थियो । अहिले उक्त कम्पनीको सेयर प्रतिकित्ता ४ हजार रुपैयाँ माथि पुगेको छ ।

 

पुनर्बीमा कम्पनी, साल्ट ट्रेडिङ, नागरिक लगानी कोष कम्पनीका सेयर लगानीकर्ता पनि केही हप्ताकै अवधिमा मालामाल भएका छन् । सदावहार कम्पनी युनिलिभरको त झन् कुरै भएन ।

 

आन्तरिक ‘कम्पलायन्स’ राम्रो भएका र लगानीकर्तालाई निरन्तर लाभांश वितरण गर्दै आएका र गर्ने क्षमता भएका कम्पनी मात्र नभएर अहिलेको वास्तविक अवस्था कस्तो छ भनेर थाहै नभएका विशाल बजार जस्ता कम्पनीको समेत सेयर मूल्यमा उछाल आएको छ ।

 

समग्रमा भन्दा सूचीकृत सेयर संख्या कम रहेको, राम्रो लाभांश दिने क्षमता भएको र बजारका सामान्य कम्पनीभन्दा अलि फरक खाले कम्पनीको सेयर मूल्य तुलनात्मक रूपमा उच्च रहने र बजार बढ्दा पनि तुलनात्मक रूपमा धेरै बढ्ने देखिएको छ ।

 

त्यस्तै अलि फरक खाले कम्पनीले सर्वसाधारणको लागि सेयर जारी गरेकाे छ । मुख्य रूपमा केबलकार सञ्चालन गर्ने र सहायक रूपमा होटल व्यवसाय पनि गर्ने चन्द्रागिरी केवलकार कम्पनीले सर्वसाधारणको लागि सेयर जारी  गरिसकेकाे छ ।

 

कम्पनीले  पहिलाे चरणामा मंसिर १७ गतेबाट आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ३ लाख ६ हजार ८१९ कित्ता र दाेस्राे चरणामा पुस २४ गतेदेखि सर्वसाधारणका लागि कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता सेयर जारी गरेकाे छ ।

 

यो सार्वजनिक निष्काशन भनेको कम्पनीको कुल पूँजीको १२ प्रतिशत हो । निष्काशन पश्चात् कम्पनीको कुल चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।

 

काठमाडौंबाट केन्द्रबाट केही किलोमिटर मात्र टाढा रहेको र समुद्री सतहबाट २५ सय ५१ मिटर उचाइमा रहेको यो केबलकार कम्पनी घुम्न जानेका लागि चर्चित गन्तव्य बनिसकेको छ । यहाँबाट विभिन्न हिमश्रृंखलाहरूको अवलोकन गर्न सकिन्छ ।

 

कम्पनीका प्रमोटरहरूमा आइएमई ग्रुपका चन्द्र ढकाल र हेमराज ढकाल, सेयर लगानीकर्ता अम्बिका पौडेल, नवराज नेपाल र भाटभटेनीका कल्याण गुरुङ लगायत छन् ।

 

यो कम्पनी पनि माथि उल्लेख गरिएजस्तै बजारमा सूचीकृत अन्य कम्पनी भन्दा फरक खाले कम्पनी हो । सूचीकृत हुने सेयर संख्याको कुरा गर्ने हो भने पनि चुक्ता पूँजीको जम्मा १२ प्रतिशत अर्थात १८ लाख हाराहारी कित्ता मात्र बजारमा कारोबार हुने हो । यसको मतलब के यो कम्पनीको सेयर मूल्यले पनि माथि उल्लेख गरिएका कम्पनीले झैं शिखर चुम्ला त ?

 

यो त भविष्यले नै बताउने कुरा भयो । लगानीकर्ताको मानेविज्ञान यो कम्पनीको सेयरका सन्दर्भमा कसरी विकसित हुँदै जाला भन्ने कुराले पनि फरक पार्ला । वा, ‘खेलाडी’ भनिने केही स्वार्थ समूहको कब्जामा पर्ला वा नपर्ला भन्ने विषय पनि महत्वपूर्ण छ । कम्पनीले व्यवसायलाई कसरी विस्तार गर्दै लैजान्छ र लगानीकर्तालाई कस्तो लाभांश दिन्छ भन्ने विषय पनि महत्वपूर्ण हुन्छ ।

 

वित्तीय विवरण अनुसार कम्पनीको नेटवर्थ आर्थिक वर्ष ०७३/०७४, ०७४/७५, ७५/७६ र ७६/७७ मा क्रमश ९४.५२, ९६.६३, ९६.६९ र ८४.८८ रहेको छ । यसैगरी चालू आर्थिक वर्षमा नेटवर्थ ९०.६९ र आगामी २ आर्थिक वर्षमा १०९.२४ र १२२.०७ पुग्ने प्रक्षेपण कम्पनीले गरको छ ।

 

यसैगरी, चालू आर्थिक वर्षमा ४ रुपैयाँ प्रति सेयर आम्दानी पुग्ने प्रक्षेपण गरेको यो कम्पनीले त्यसपछिका आगामी २ आर्थिक वर्षमा २३.५४ रुपैयाँ र ३२.८४ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

 

यस्तै हालसम्म सञ्चित मुनाफा ऋणात्मक रहेको यो कम्पनीले आर्थिक वर्ष ०७८/७९ मा १४ करोड १७ लाख रुपैयाँ र त्यसपछिको आर्थिक वर्षमा ३३ करोड ८३ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ ।

 

कम्पनीले चालू आर्थिक वर्षमा ६ करोड १३ लाख खुद नाफा कमाउने प्रक्षेपण गरेको छ भने आगामी २ आर्थिक वर्षमा क्रमशः ३६ करोड ११ लाख र ५० करोड ३७ लाख रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपण गरेको छ ।

 

कोरोना महामारीले कम्पनीलाई यो वर्ष धेरैै असर पारेको देखिन्छ । यो असरबाट निस्कन कम्पनीलाई एकाध वर्ष लाग्ने देखिन्छ । त्यसपछि भने कम्पनीको भविष्य राम्रै देखिन्छ ।

 

काठमाडौंबाट नजिक रहेको र नेपालीहरू माझ घुम्न निस्कने संस्कृति बढ्दै जानु कम्पनीका प्रतिस्पर्धात्मक क्षमता हुन् ।

 

अत्यन्तै थोरै सेयर सर्वसाधारणलाई जारी गर्ने भएका कारण आपूर्तिको तुलनामा अत्याधिक माग हुने भएकाले कम्पनीको सेयर मूल्यले आकाश छोला वा अन्य सामान्य कम्पनी झैं कारोबार होला भन्ने त भविष्यले नै बताउला ।

Advertisement Section