‘थारो’ कम्पनीको सेयर महँगोमा किन्ने लगानीकर्ता फस्दै

काठमाडौं । सेयर बजार बुल रनमा हुँदा लगानीकर्ताहरु सकारात्मक मनस्थितिमा हुन्छन् । बजारले यस्तो रन लिँदा मानिसहरुको मनोविज्ञान पनि बलियो भएको हुन्छन् । उनीहरु लगानी गर्न हौसिरेहका हुन्छन् ।

 

कारोबार रकम हेर्दा पनि यो कुराको पुष्टि हुन्छ । केही महिना अघिसम्म दैनिक ३०–३५ करोड रुपैयाँ कारोबार हुने नेपाली सेयर बजारमा अहिले दैनिक ७ अर्ब हाराहारीको कारोबार हुन थालेको छ ।

 

बुल रनमा पैसा कमाउन अवसर हुन्छ । तर, यस्ता कमशल कम्पनीमा खेलाडी भनिनेहरुको पासोमा पर्ने पनि उत्तिकै संभावना नहुने होइन । यस्तोमा सर्वसाधारण लगानीकर्ताहरु सचेत हुनुपर्ने देखिएको छ ।

 

मानिसहरु ऋण गरेर भए पनि सेयर बजारमा पस्न थालेका छन् । पस्ने योजना पनि बनाइरहेका छन् । बुल बजार सामान्य मानिसहरुको लागि पनि राम्रै कमाउने अवसर दिने बजार हो । तर, यस्तो समय केही पुराना र ‘खेलाडी’ भनिने मानिसहरुको लागि पनि सर्वसाधारणलाई झुक्याउने अवसर भइदिन्छ ।

 

पछिल्लो समय सेयर बजारमा अचाक्ली बढेका केही कम्पनीहरु हेर्ने हो भने त्यस्ता खेलाडी भनिने केही मानिसहरुको समूह फेरि सर्वसाधारण झुक्याउन लागि परेको देखिन थालेको छ ।

 

बजारमा केही समययता धेरै कारोबार नहुने र कम पूँजी भएका कम्पनीहरु अस्वाभाविक रुपमा बढ्न थालेका छन् । यस्ता कम्पनीहरुको सेयर केही मानिसहरुसँग मात्र हुने भएकाले सानो समूह मिलेर ‘अर्डर म्याचिङ’ गर्दे बढाउन सकिने भएकाले खेलाडी भनिनेहरुको रोजाइमा पर्ने गरेका छन् ।

कम पूँजी भएको, कम कारोबार हुने र वित्तीय रुपमा पनि अति कमशल कम्पनी हो विशाल बजार कम्पनी । तर, अहिले कम्पनीको व्यवस्थापनमा र वित्तीय अवस्थामा कुनै पनि सुधार नआएको भए पनि यो कम्पनीको सेयरमा उछाल आइरहेको छ ।

 

दशैंपछिको कारोबारको पहिलो दिन कात्तिक १२ गते विशाल बजार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७ सय रुपैयाँ थियो । तर अहिले १ महिनापनि नबित्दै मंसिर ८ गतेका दिन ३५ सय प्रति कित्ता हाराहारीमा कारोबार भइरहेको छ । यो कम्पनीको ५२ हप्ताको सबैभन्दा न्यूनतम भनेको १३९० प्रतिकित्ता हो । यसको मतबल यो कम्पनीको सेयर मूल्य १ वर्षमै ३ गुणाले बढेको छ ।

 

यसैगरी कारोबारमा पनि यो कम्पनीले छलाङ लगाएको छ । भदौ देखि कात्तिक महिनासम्म यस कम्पनीको कुल कारोबार संख्या ४५ सय कित्ता रहेको छ । यसको मतलब कारोबार संख्या एकदमै न्यून थियो । त्यसपछिका दिनमा भने एकै दिन ५ देखि ६ हजार कित्ता सम्म कारोबार भएको छ । अहिले हरेक दिन ३ देखि ४ हजार कित्ता कारोबार भइरहेको छ ।

 

तर, यससाताका दुई दिनमा बजार सूचक १०५ अंकले बढ्दा पनि यस कम्पनीको सेयर मूल्यमा भने लगातार नेगेटिभ सर्किट लागेको छ । बुल रनको नाममा कर्नरिङ गरी भाउ उचालेर बेच्नेहरु नाफा बुक गरेर बाहिएको आँकलन गरिएको छ । यसको प्रभाव कम्पनीको मूल्य दैनिक १० प्रतिशतले घट्न थालेको देखिन्छ ।

 

दुःखको कुरो के हो भने यो कम्पनीले विगत १० वर्षयता लगानीकर्तालाई कुनै लाभांश दिएको छैन । सरकारलाई ४.५ अर्ब रुपैयाँ तिर्नुपर्ने भएका कारण अब पनि लाभांश दिने कुनै संभावना छैन ।

 

यति मात्र नभएर कम्पनीको बारेमा सर्वसाधारण लगानीकर्तालाई धेरै कम मात्र थाहा छ । कम्पनीको वेबसाइटमा वर्षौं देखि ‘मेन्टिनेन्स’ मात्र भनेर लेखिएको छ । कम्पनीले करिब ४ वर्षयता साधारण सभा समेत गरेको छैन । ३ वर्षयता वित्तीय विवरण समेत प्रकाशित गरेको छैन । त्यस भन्दा अघि पनि सञ्चालन नाफा र खुद नाफामा व्यापक उतारचढाव आएको देखिएको थियो ।

 

तर पनि कुल ४ करोड ९१ लाख चुक्ता पूँजी रहेको यस कम्पनीको सेयर मूल्यले भने दैनिक छलाङ लगाइरहेको छ । यस कम्पनीमा ८५ प्रतिशत सेयर सर्वसाधारणको रहेको छ भने १५ प्रतिशत प्रमोटरको रहेको छ । तर, कारोबार हेर्दा सर्वसाधारण समूहको सेयर पनि ‘कर्नरिङ’ गरेर केही सीमित मानिसहरुको हातमा पुगेको र त्यसैको फाइदा उठाउँदै उनीहरुले साधारण लगानीकर्ताहरुलाई महङ्गोमा सेयर भिराउन अस्वाभाविक रुपमा मूल्य बढाइरहेको देखिएको छ ।

 

बुल रनमा पैसा कमाउन अवसर हुन्छ । तर, यस्ता कमशल कम्पनीमा खेलाडी भनिनेहरुको पासोमा पर्ने पनि उत्तिकै संभावना नहुने होइन । यस्तोमा सर्वसाधारण लगानीकर्ताहरु सचेत हुनुपर्ने देखिएको छ ।

सेयर कारोबारमा किन आयो ह्वात्तै गिरावट, एकैदिन २ अर्ब बढीले घट्यो Read Previous

सेयर कारोबारमा किन आयो ह्वात्तै गिरावट, एकैदिन २ अर्ब बढीले घट्यो

साल्ट ट्रेडिङको लाभांश घोषणा, बोनस र नगद कति Read Next

साल्ट ट्रेडिङको लाभांश घोषणा, बोनस र नगद कति