काठमाडौं । सानिमा बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्री गर्न अनुमति पाएको छ । बैंकले १० वर्ष अवधिको ‘सानिमा डिबेन्चर २०८६’ नाममा ऋणपत्र विक्री गर्न अनुमति पाएको हो ।
नेपाल धितोपत्र बोर्डले बैंकलाई प्रतिइकाई १ हजार रुपैयाँ दरले ४० लाख कित्ता (इकाई) ऋणपत्र विक्री गर्न अनुमति दिएको हो ।
निष्काशन हुने ४० लाख कित्ता ऋणपत्र मध्ये २४ लाख कित्ता बैंकले व्यक्तिगत तवरमा विभिन्न संघसंस्थालाई विक्री गर्नेछ भने बाँकी १६ लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
यस ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइनेछ । बैंकको ऋणपत्र विक्री प्रबन्धकको रुपमा एनआइसी एशिया क्यपिटल रहेको छ ।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरेको थियो । गत वर्ष धरेैजसो बैंकहरु ऋणपत्र जारी गरे पनि सानिमाले भने निष्काशन गरेको थिएन ।