सेयर बजारले बनायो फेरि ऐतिहासिक रेकर्ड, एकैदिन झन्डै ७ अर्बको कारोबार

काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लागेको सेयर बजारले फेरि नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ ।

 

एकै दिनमा झन्डै ७ अर्ब रुपैयाँ बढीको कारोबार भई सेयर बजार इतिहासमै सर्वाधिक कारोबारको नयाँ रेकर्ड बनाएको हो । गत बिहीबार मात्रै नयाँ रेकर्ड राख्दै ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७० रुपैयाँ कारोबार भएको थियो ।

 

पछिल्लो ८ कारोबार दिनमै बजार सूचक करिब १६३ अंकले बढेको छ । दिनभर तीव्र उतरचडाव देखिएको बजार अन्त्यमा करिब ५ अंकले बढेर बन्द भएको हो ।

 

बैंकिङ प्रणालीमा अधिक तरलता भई ब्याजदर सस्तो हुँदा सेयर बजारले दिनदिनै नयाँ उचाइ लिँदै गएको जानकारहरु बताउँछन् । साथै पछिल्लो समय बजारमा नयाँ लगानीकर्ताको प्रवेश, सेयर बजार प्रविधिमैत्री हुँदै जानु, सूचीकृत कम्पनीहरुले कोरोनाका बीच पहिलो त्रैमासको आकर्षक रिपोर्ट सार्वजनिक गर्नु, गत वर्षको नाफाबाट लाभांश घोषणा गर्नु लगायत कारणले गर्दा पनि बजारले नयाँ उचाई चुमेको हो ।

 

सेयर बजार मापक सूचक नेप्से ४.६९ अंकले बढेर १७८२.८१ विन्दुमा पुगेको छ । यसदिन २०१ कम्पनीको १ करोड ६० लाख ३४ हजार ७१७ कित्ता सेयर ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३१४ रुपैयाँमा कारोबार भएको छ ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये बैंकिङ, बिकास बैंक र अन्य समूह बाहेक अरु सबै समूहको परिसूचक ओरालो लागेका छन् । आज बैंकिङ समूहको परिसूचक सबैभन्दा धेरै २९.४४ अंकले बढेको छ भने जीवन बीमा समूह सबैभन्दा धेरै २७८.८१ अंकले घटेको छ ।

 

आज पनि लगानीकर्ता नेपाल पुनर्बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ५७ करोड ९१ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स र नेपाल टेलिकमको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज कारोबार भएका कुल २०१ कम्पनी मध्ये ७२ कम्पनीको मूल्य बढेको छ भने ११३ कम्पनीको मूल्य घटेको छ । १६ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

 

सामान्य अंकले बढेको बजारमा आज दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सिटिजन्स् म्युचुअल फण्ड र गोर्खा फाइनान्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

 

आज माउन्टेन हाइड्रपावरका लगानीकर्ताले सबैभन्दा धेरै ८.९३ प्रतिशतले गुमाएका छन् ।

हिउँदमा भारतबाट २५० मेगावाट विद्युत् आयात गरिने Read Previous

हिउँदमा भारतबाट २५० मेगावाट विद्युत् आयात गरिने

सानिमा बैंकको ४ अर्बको डिबेन्चर आउँदै, बोर्डबाट पायो अनुमति Read Next

सानिमा बैंकको ४ अर्बको डिबेन्चर आउँदै, बोर्डबाट पायो अनुमति