काठमाडौं । केही दशक अगाडिसम्म पनि केही व्यवसाय गर्नुपर्यो वा सम्पत्ती खरिद गर्नुपर्यो भने चिनेजानेका, आफन्त तथा साहू महाजनसँग मात्र ऋण लिने चलन थियो । मानिसको जीवनशैलीमा आएको परिवर्तन, बदलिँदो अर्थव्यवस्था, बैंकिङ प्रणालीको विकास लगायत कारणले यस्तो प्रचलनमा परिवर्तन आएको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू को संख्या र पहुँच बढेसँगै नेपालमा पनि व्यावसायीक तथा व्यक्तिगत प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाहरू बाट ऋण लिने प्रचलन बढ्दै गएको । आफ्नो आम्दानी तथा पूँजीले मात्र व्यवसाय गर्न पर्याप्त नहुने भएकाले साना व्यापारीदेखि ठूला व्यावसायी समेत ऋण लिन बैंकमा जाने गर्छन ।
पछिल्लो एक वर्षमा बैंकको ब्याजदर औसतमा करिब २ प्रतिशतले घटेको छ । गत वर्षको असोजसम्म बैंकहरू को औसत आधारदर ९.५१ रहेकोमा अहिले घटेर ७.७१ मा आएको छ । अहिले सबै बैंकहरूको आधारदर ९ प्रतिशतभन्दा कम रहेको छ ।
मानिसहरू ले घरजग्गा, सवारीसाधन खरिद गर्न, सेयरमा लगानी गर्नदेखि अन्तर्राष्ट्रिय स्तरका उद्योग संचालन गर्न ऋण लिने गर्छन् । यसले एकातिर व्यावसायीलाई आफ्नो उद्योगधन्दा विस्तारमा सहजता प्रदान गरेको छ भने अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाको कमाई बढाएको छ ।
तपाईं कुनैपनि व्यावसायीक वा व्यक्तिगत प्रयोजनको लागि बैंकबाट ऋण लिने सोचमा हुनुहुन्छ ? अथवा कुन बैंकमा सबैभन्दा सस्तो ब्याजदरमा ऋण पाइन्छ भन्ने थाहा नपाएर भौंतारिरहनु भएको छ ? तपाईंहरू को जिज्ञासालाई समेट्न सहज होस् भनेर हामीले २७ वटा वाणिज्य बैंकको आधारदरको बारेमा जानकारी दिने प्रयास गरेका छौं ।
कुन बैंकबाट ऋण लिदा सस्तो ब्याजमा पैसा पाइन्छ त ? यसको लागि बैंकहरू को आधार दर (बेस रेट) कति छ भनेर हेर्नुपर्ने हुन्छ ।आधार दरले नै कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू बाट ऋण लिँदा सस्तो वा महँगो ब्याज तिर्नु पर्छ भन्ने निर्धारण गर्दछ ।

बैंकहरू ले ऋण लगानी गर्दा वित्तीय विवरणमा प्रकाशित गर्ने आधार दरभन्दा केही महँगो ब्याज लिन्छन् । यसमा उनीहरू ले केही प्रतिशत प्रिमियम जोडेर कर्जा लगानी गर्छन् ।
नियामक निकाय नेपाल राष्ट्र बैंकले नै बैंक तथा वित्तीय संस्थाहरू ले आधार दरमा प्रिमियम थप गरेर कर्जा लगानी गर्न पाउने नीतिगत व्यवस्था गरेको छ । तर, आधार दरमा कतिसम्म प्रिमियम जोडर कर्जाको ब्याजदर कायम गर्ने भन्ने स्पष्ट तोकेको छैन् ।
बैंकहरू ले ऋण लगानी गर्दा कर्जाको प्रकृति अनुसार आफैंले प्रिमियम निर्धारण गर्ने गरेका छन् । अहिले बैंकहरू ले आधारदरमा कर्जाको प्रकृति अनुसार शून्यदेखि ६ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा लगानी गर्दै आएका छन् ।
विगतका वर्षहरू मा बैंकको आधारदर नै १२ प्रतिशतसम्म हुँदा त्यसमा प्रिमियम थप गरी कर्जा लगानीगर्दा बैंकहरू को ब्याजदर १७/१८ सम्म थियो । तर, पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता कायम छ । जसका कारण अधिकांश बैंकहरू को आधारदर एकल अंकमा झरिसकेको छ भने भने कुल ब्याजदर नै अधिकतम १३/१४ प्रतिशतमा झरिसकेको छ । अहिले बैंकहरूले कर्जाको प्रकृति अनुसार न्यूनतम ६.५५ देखि १४ प्रतिशतसम्म ब्याजदरमा कर्जा लगानी गरेका छन् ।
पछिल्लो एक वर्षमा बैंकको ब्याजदर औसतमा करिब २ प्रतिशतले घटेको छ । गत वर्षको असोजसम्म बैंकहरू को औसत आधारदर ९.५१ रहेकोमा अहिले घटेर ७.७१ मा आएको छ । अहिले सबै बैंकहरू को आधारदर ९ प्रतिशतभन्दा कम रहेको छ ।
कुन बैंकबाट ऋण लिँदा ब्याजदर सस्तो ?
वाणिज्य बैंकहरू ले प्रकाशित गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार सबैभन्दा कम आधार ब्याजदर पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । यसको आधार ब्याजदर ५.७४ प्रतिशत मात्र छ ।
बैंकले यो आधारदरमा न्यूनतम् १ प्रतिशतदेखि कर्जाको प्रकृति अनुसार थप प्रिमियम जोडेर कर्जा लगानी गर्दछ । वाणिज्य बैंकबाट न्यूनतम् साढे ६ प्रतिशत ब्यादजरमा ऋण पाउन सकिन्छ । बेसरेटका आधारमा राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा सस्तो ब्याजदरमा ऋण दिने बैंक हो ।
राष्ट्रिय वाणिज्य बैंकपछि सस्तो ब्याजदरमा ऋण दिने बैंकहरू मा आक्रमक लगानी विस्तार गर्दै आएको एनआइसी एशिया बैंक रहेको छ । यसका आधार ब्याजदर ६.५० प्रतिशत रहेको छ । एनआइसीले एक वर्षमा यस्तो ब्याजदर ३ प्रतिशतले घटाएको छ । गत वर्ष सोही अवधिमा एनआइसीको आधारदर ९.५१ प्रतिशत रहेको थियो ।

यस्तै, स्ट्यान्डर्ड चार्टर, नबिल र सरकारी लगानीकै नेपाल बैंकको बेसरेट पनि ७ प्रतिश भन्दा कम रहेको छ । यिनीहरू को बेसरेट क्रमशः ६.६१, ६.६८ र ६.८१ प्रतिशत रहेको छ ।
यस्तै, ९ बैंकको आधारदर ७ देखि ८ प्रतिशतको बीचमा रहेको छ । एभरेष्ट, हिमालयन, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट, एनएमबी, प्रभु, बैंक अफ काठमाण्डू, सानिमा र सनराइज बैंकको बेसरेट ७ देखि ८ प्रतिशतको बीचमा रहेको छ । यी बैंकहरू पनि तुलनात्मक रुपमा सस्तो ब्याजदरमा कर्जा दिने बैंकहरू को सूचीमा पर्दछन् ।
यस्तै, १३ वटा वाणिज्य बैंकहरू को बेसरेट ८ प्रतिशतभन्दा बढी र ९ प्रतिशतभन्दा कम रहेको रहेको छ । यो आधारदर नै अहिलेको अवस्थामा महँगो आधारदर हो । अहिले सबैभन्दा महँगो आधारदर सिभिल बैंकको रहेको छ । यसको बेसरेट सबैभन्दा धेरै ८.८८ प्रतिशत रहेको छ ।
बैंकहरू को आफ्नो आधार ब्याजदरमा कर्जाको प्रकृति अनुसार प्रिमियम जोडर कर्जा लगानी गर्छन् । बैंकिङ प्रणालीमा हुने तरलताको अवस्था अनुसार ब्याजदरमा परिवर्तन गर्ने गर्दछन् ।
पछिल्लो समय राष्ट्र बैंकको निर्देशन अनुसार घर, गाडी लगायत कर्जामा बैंकहरू ले स्थिर (परिवर्तन नहुने) ब्याजदर पनि लागू गरेका छन् ।
नोटः यहाँ प्रस्तुत सामाग्री बैंकहरू ले प्रकाशन गरेको चालू आवको प्रथम त्रैमासिक वित्तीय विवरणको आधारमा तयार पारिएको हो ।