युनाइटेड इदी-मार्दीको आइपीओ भर्ने आज अन्तिम दिन, कति कित्ता भर्नु उपयुक्त

काठमाडौं । युनाइटेड इदी-मार्दी एण्ड आरबी हाइड्रोपावरको प्राथमिक साधरण सेयर (आइपीओ) मा आवेदन दिने खाज अन्तिम दिन रहेको छ ।

 

कम्पनीले मंसिर ३ गतेदेखि निष्काशन गरेको ८ करोड ७३ लाख ९१ हजार रुपैयाँ बराबरको ८ लाख ७३ हजार ९१० कित्ता आइपीओमा आवेदन दिने आज मंसिर ७ गते अन्तिम दिन हो ।

 

निष्काशित हुने कुल ८ लाख ७३ हजार ९१० कित्ता सेयरमध्ये ४३ हजार ६९६ कित्ता सामूहिक लगानी कोष र १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी ८ लाख १२ हजार ७३६ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

 

कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाका स्थानीयलाई ४ लाख २० हजार कित्ता आइपीओ जारी गरेको थियो । सोमध्ये विक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता सहित अहिले सर्वसाधरणमा निष्काशन गर्न लागेको हो ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

 

लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सी९आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।

 

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा माथि रहेको संकेत गर्दछ ।

 

कम्पनीले हाल कास्कीमा ७ मेगावाटको अपर मार्दीखोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । यसको प्रतिमेगावाट लागत २० करोड ३९ लाख ७६ हजार रुपैयाँ रहेको छ । कम्पनीको विद्युत उत्पादन अनुमति पत्र ३० वर्ष बाँकी रहेको छ ।

 

कति कित्ताका लागि आवेदन दिनु उपयुक्त

 

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

 

कम्पनीले सर्वसाधरणलाई ८ लाख १२ हजार ७३६ कित्ता छुट्याएको छ । सो अनुसार कम्पनीको आइपीओ समानुपातिक रुपमा बाँड्दा ८१ हजार २७३ आवेदकलाई १० कित्ताका दरले बाँडफाँट गर्न पुग्दछ। तर, ८१ हजार २७३ जनाभन्दा बढीले आवेदन दिएको खण्डमा गोलाप्रथाबाट भाग्यशाली आवेदकले मात्र १० कित्ता पाउने सम्भावना हुन्छ ।

 

पछिल्लो समय खुलेका आइपीओमा करिब ९ लाख हाराहारीमा आवेदन दिँदै आएका छन् । त्यसका आधारमा यस आइपीओमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नुपर्ने भएकाले १ हजार रुपैयाँ बराबरको आवेदन दिँदा उपयुक्त हुने देखिन्छ ।

साल्ट ट्रेडिङका सेयरधनी मालामाल, १२ कारोबार दिनमै सेयर मूल्य ३६०० रुपैयाँले बढेर दोब्बर Read Previous

साल्ट ट्रेडिङका सेयरधनी मालामाल, १२ कारोबार दिनमै सेयर मूल्य ३६०० रुपैयाँले बढेर दोब्बर

कुन बैंकबाट ऋण लिँदा सस्तो, यस्तो छ बैंकहरूको बेसरेट Read Next

कुन बैंकबाट ऋण लिँदा सस्तो, यस्तो छ बैंकहरूको बेसरेट