पुनर्बीमा कम्पनी बन्यो १ खर्ब पूँजीकरण हुने दोस्रो कम्पनी, यी हुन् सेयर बजारका १० ठूला कम्पनी
चाणक्य पोष्ट
प्रकाशित : 1:23 pm, शनिबार, मंसिर ६, २०७७

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी १ खर्ब बजार पूँजीकरण हुने दोस्रो कम्पनी बनेको छ ।

 

पछिल्लो समय निरन्तर सेयर मूल्य बढेसँगै पुनर्बीमा कम्पनीको बजार पूँजीकरण १ खर्ब रुपैयाँ कटेको हो । नेप्सेमा सूचीकृत कम्पनीमध्ये यसअघि नेपाल टेलिकमको मात्र १ खर्ब बढी बजार पूँजीकरण रहेको थियो ।

 

नेपाल स्टक एक्सचेनजका अनुसार अहिले पुनर्बीमा कम्पनीको बजार पूँजीकरण १ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । नेप्सेमा १० करोड कित्ता सेयर सूचीकृत गरेको कम्पनीको सेयर मूल्य प्रतिकित्ता १११० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार पूँजीकरणका आधारमा नेपाल टेलिकम सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको छ । टेलिकमको बजार पूँजीकरण १ खर्ब ४४ अर्ब ७५ करोड रुपैयाँ छ ।

यस्तै, पूँजीकरणका आधारमा नबिल बैंकलाई उछिन्दै नेपाल लाइफ इन्स्योरेन्स तेस्रो स्थानमा उक्लिएको छ । यसको बजार पूँजीकरण ९१ अर्ब ८९ करोड रहेको छ । ८१ अर्ब १७ करोड रुपैयाँ पूँजीकरण रहेको नबिल बैंक चौथो स्थानमा रहेको छ ।

 

यस्तै, बजार पूँजीकरणका आधारमा नागरिक लगानी कोष ८१ अर्ब २९ करोड पाँचौं, एनआइसी एशिया बैंक ६५ अर्ब १० करोड, एनएमबी बैंक ६२ अर्ब १२ करोड रुपैयाँ सहित क्रमशः शीर्ष सात स्थानमा रहेका छन् ।

 

त्यसैगरी, ५९ अर्ब ७० करोड बजार पूँजीकरण रहेको नेपाल इन्भेष्टमेन्ट बैंक आठौं, ५६ अर्ब ९२ करोड रुपैयाँ सहित ग्लोबल आइएमइ बैंक नवौं र ५६ अर्ब ४ करोड रुपैयाँसहित हिमालयन बैंक दशौं स्थानमा रहेको छ ।

 

नेप्सेका अनुसार सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण २३ खर्ब २ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । यो नेपाली सेयर बजारको इतिहासमा अहिलेसम्मकै धेरै हो ।

Advertisement Section