सेयर बजारले बनायो ऐतिहासिक रेकर्ड, यी १५ कम्पनीका लगानीकर्ता भए मालामाल
चाणक्य पोष्ट
प्रकाशित : 3:16 pm, बिहीबार, मंसिर ४, २०७७

काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लागेको सेयर बजारले नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ ।

 

एकै दिनमा करिब ६ अर्ब रुपैयाँ बढीको को कारोबार भई सेयर बजार इतिहासमै सर्वाधिक कारोबारको नयाँ रेकर्ड बनाएको हो । यसअघि गत फागुन १८ गते इतिहासकै धेरै ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५०५ रुपैयाँको कारोबार भएको थियो ।

 

पछिल्लो ७ कारोबार दिनमै बजार सूचक करिब १६० अंकले बढेको छ । हरेक दिन दोहोरो अंकले बढेको बजार तिहार अघिको १ हप्तामा १०० अंकले बढेको थियो भने तिहार पछिका दुई दिनमै ६० अंकले बढेको छ ।

 

बैंकिङ प्रणालीमा अधिक तरलता भई ब्याजदर सस्तो हुँदा सेयर बजारले दिनदिनै नयाँ उचाइ लिँदै गएको जानकारहरु बताउँछन् । साथै पछिल्लो समय बजारमा नयाँ लगानीकर्ताको प्रवेश, सेयर बजार प्रविधिमैत्री हुँदै जानु, सूचीकृत कम्पनीहरुले कोरोनाका बीच पहिलो त्रैमासको आकर्षक रिपोर्ट सार्वजनिक गर्नु, गत वर्षको नाफाबाट लाभांश घोषणा गर्नु लगायत कारणले गर्दा पनि बजारले नयाँ उचाई चुमेको हो ।

 

सेयर बजार मापक सूचक नेप्से ३६.३२ अंकले बढेर १७७८.१३ विन्दुमा पुगेको छ । यसदिन १९८ कम्पनीको १ करोड ४० लाख ६२ हजार ५०७ कित्ता सेयर ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७० रुपैयाँमा कारोबार भएको छ ।

 

कारोबारमा आएका १२ वटै समूहको परिसूचक उकालो लागेका छन् । आज निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३९९.१६ अंकले बढेको छ ।

 

आज पनि लगानीकर्ता नेपाल पुनर्बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ४१ करोड ८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबार रकमकै आधारमा हिमालय डिस्ट्रिलरी र नेपाल लाइफ इन्स्योरेन्सको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे । यी दुवै कम्पनीको २६ करोड बढीको कारोबार भएको

 

आज कारोबार भएका कुल १९८ कम्पनी मध्ये १४८ कम्पनीको मूल्य बढेको छ भने ३२ कम्पनीको मूल्य घटेको छ । १८ कम्पनीको मूलय भने स्थिर रहेको छ ।

 

बढ्दो बजारमा आज १५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । तारागाउँ रिजेन्सी होटल, युनिलिभर, हिमालय डिस्ट्रिलरी, विशाल बजार, बोटलर्स नेपाल (तराई), साल्ट्र ट्रेडिङ, नेको इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, सोल्टी होटल, एनआरएन इन्फ्रास्ट्रकचर, हिमालय जनरल, सानिमा जनरल, ओरेन्टल होटल र गोर्खा फाइनान्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

 

दोहोरो अंकले बढेको बजारमा आज प्रभु बैंकको डिभेन्चरका लगानीकर्ताले भने सबैभन्दा धेरै २.२९ प्रतिशतले गुमाएका छन् ।

Advertisement Section