उपत्यकामै पाइन्छ ४ लाखमा एक रोपनी जग्गा !
चाणक्य पोष्ट
प्रकाशित : 2:32 pm, बिहीबार, मंसिर ४, २०७७

काठमाडौं । पछिल्लो समय घरजग्गा कारोबार निकै न्यून रहेको छ । कोभिड १९ का कारण कारोबार घटेसँगै जग्गाको मूल्य समेत स्थिर रहेको छ ।

 

रियल स्टेट कारोबार नेपालका प्रबन्धक प्रकाश छत्कुलीका अनुसार कोरोनाका कारण घरजग्गाको मूल्य नघटे पनि स्थिर भने रहेको छ । उनले घरजग्गा कारोबार ठप्प नभए पनि मूल्यमा भने स्थिरता छाएकाले विक्रेताहरूले बेच्न नचाहेको बताए ।

 

‘कारोबार नहुने नै भएको छैन, मूल्य घटेको पनि हैन तर, जग्गाको मूल्य बढ्न भने सकेको छैन,’ छत्कुलीले चाणक्य पोष्टसँग भने ‘जग्गाको मूल्य नबढेकाले घर तथा जग्गा धनीहरूले बेच्न चाहिरहेका छैनन् ।’

 

यस्तै कोरोना कहरको यस बीचमा सस्तो जग्गा किन्न चाहानेहरूका लागि हामीले केही जानकारी ल्याएकाछौं  । उपत्यका भित्र सस्तो जग्गा किन्न खोज्नेलाई यो सुवर्ण अवसरको रूपमा रहेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा केही स्थानहरूमा सस्तो जग्गा रहेको प्रबन्धक छत्कुली बताउँछन् ।

 

उनका अनुसार ललितपुरको बागमती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकामा सस्तो मूल्यमा जग्गा रहेको छ । सो स्थानमा जग्गाको मूल्य रोपनीको  ४ लाख रुपैयाँदेखि रहेको छत्कुली बताउँछन् ।

 

उनले यी जग्गाहरू रिङरोडबाट २७/२८ किलोमिटर पर रहेको बताए । ‘उपत्यकामा भनेर घना वस्ती भएका स्थानमा छैन, तर रिङरोडबाट २७/२८ किलोमिटर पर रहेको छ, त्यहाँ घना वस्ती छैन,’ छत्कुलीले भने ‘ सडक नजिकै छैन, अब विस्तारै त्यहाँ पनि वस्तीहरू पुग्दै छ ।’

 

काठमाडौंमा पनि यस्ता सस्तो जमिन रहेका छन् । काठमाडौंको सुंकरापुर नगरपालिकामा जग्गाको मूल्य रोपनीको ७ लाख रुपैयाँदेखि ८ लाख रुपैयाँ रहेको उनले बताए । संकरापुरको मेलम्चीतर्फ सो जग्गा रहेको उनले बताए ।

 

यस्तै भक्तपुरमा गुण्डु क्षेत्रमा रोपनीकै ६ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँ प्रति रोपनी जग्गा रहेको छ ।

 

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ३ महिनामा १ लाख ७० हजार घरजग्गा सम्बन्धी कारोबार भएको छ । असोज मसान्तसम्ममा कुल ५६ हजार ८३८ वटा घजग्गा किनबेच भएका छन् ।

 

विभागका सूचना अधिकारी विष्णुकुमार महतका अनुसार उपत्यकामा मात्रै असोजमा ६ हजार ९०८ घरजग्गा किनबेच भएको छ । चालू आर्थिक वर्षको ३ महिना (साउन–असोज) मा भूमि कारोबार मार्फत ४ अर्ब ४२ करोड ३० लाख रुपैयाँ राजश्व संकलन भएको छ । विभागको तथ्यांक अनुसार चालू आवमा २ अर्ब ९१ करोड ५२ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन भएको छ । १ अर्ब २२ करोड २१ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको हो ।

 

चालू आवको पहिलो त्रैमासिकमा उपत्यका भित्र मात्र २ अर्ब ३ करोड ५ लाख रुपैयाँ राजश्व संकलन भएको छ । घरजग्गा कारोबारका क्रममा उपत्यका भित्र १ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन गरिएको छ भने कुल ६४ करोड ७ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ ।

 

ललितपुरमा मात्र ४४ करोड ९ लाख रुपैयाँ राजश्व संकलन भएको छ । ललितपुर क्षेत्रमा घरजग्गा कारोबारबाट २८ करोड ७८ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन भएको थियो । १५ करोड ५६ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो ।

 

भक्तपुरबाट मात्र ३२ करोड ६६ लाख रुपैयाँ कुल राजश्व संकलन भएको छ । घरजग्गा कारोबारका क्रममा २० करोड २१ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन भएको थियो भने पूँजीगत लाभकर ११ करोड ४६ लाख रुपैयाँ संकलन भएको थियो ।

Advertisement Section