नेपाली सेयर बजारको हालसम्मकै ठूलो आइपीओ प्रस्ताव पारित, सबैले ५० कित्ता पाउने सम्भावना

काठमाडौं । नेपाली सेयर बजारमा अहिलेसम्मको सबैभन्दा ठूलो आइपीओ निष्काशन सम्बन्धी प्रस्ताव पारित भएको छ ।

 

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बुधबार सम्पन्न वार्षिक साधरण सभाले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता सेयर आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

 

उक्त प्रस्ताव पारित भएसँगै आइपीओ नेपाली सेयर बजारको हालसम्मकै सबैभन्दा ठूलो आइपीओ निष्काशनको बाटो खुलेको हो । अब आइपीओ निष्काशनको अनुमतिका माग्न छिट्टै धितोपत्र बोर्डमा निवेदन दिने बैंकले जनाएको छ ।

 

बैंकले यसअघि नै सेयर निष्काशनको लागि नागरिक लगानी कोषलाई अन्डरराइटर र एनआइबीएल एस क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

 

बैंकको अधिकृत पूँजी २० अर्ब रुपैयाँ छ भने हाल चुक्ता पूँजी १२ अर्ब रुपैयाँ छ । आइपीओ पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

 

पछिल्लो समय खुलेका आइपीओमा करिब ९ लाखले आवेदन दिँदै आएका छन् भने नयाँ आइपीओ पिच्छे आवेदकको संख्या पनि बढ्दै गएको छ । धितोपत्र बाँडफाँट नियमावली अनुसार सबै आवेदकलाई समानुपातिक रुपमा सेयर बाँडफाँट गर्नु पर्ने व्यवस्था छ । सो बैंकको आइपीओमा करिब १५ लाखले आवेदन दिए भने पनि सबैलाई कम्तीमा ५० कित्ता सेयर पाउने सम्भावना देखिन्छ ।

 

कम्पनीको वित्तीय अवस्था

 

बैंकले चालू आवको पहिलो त्रैमासमा १८ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा १२.४३ प्रतिशतले कमी हो । बैंकले गत आवको पहिलो त्रैमासमा २० करोड ५७ लाख खुद नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा १८ करोड १ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।बैंकले २८ अर्ब ३५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

 

समीक्षा अवधिमा बैंकले २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ करोड रुपैयाँ लगानी गरेको छ ।  बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ ११५ रुपैयाँ रहेको छ ।

 

बैंकको व्यवसाय

 

धेरै पूँजी भएको यो ठूलो बैंक ठूला पूर्वाधारहरुमा लगानी गर्ने उद्देश्यका साथ खोलिएको हो । त्यसै अनुरुप बैंकले केही ठूला परियोजनाहरुमा लगानी गर्न शुरू गरिसकेको छ ।

 

बैंकले आफ्नो पहिलो लगानी कास्की जिल्लामा रहेको ३२ मेगावाटको करुवा सेती जलविद्युत परियोजनामा गरेको छ । यो परियोजनामा यस बैंकका अलावा हिमालयन बैंक र सानिमा बैंकले समेत संयुक्त रुपमा ४ अर्ब ६ करोड रुपैंयाँ लगानी गरेका हुन् ।

 

यसैगरी कुमारी बैंक र पूर्वाधार विकास बैंकले २२ मेगावाटको सेतीखोला हाइड्रो पावर कम्पनीमा पनि संयुक्त रुपमा ३ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरिसकेका छन् । यसमा कुमारी बैंकले २ अर्ब र पूर्वाधार विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरिसकेका छन् ।

एउटा असान्दर्भिक बहस : कर पन्छाई Read Previous

एउटा असान्दर्भिक बहस : कर पन्छाई

दक्षिण कोरियाद्वारा मानवरहित हवाई ट्याक्सीको परीक्षण, प्रतिघण्टा १३० किमी उडने Read Next

दक्षिण कोरियाद्वारा मानवरहित हवाई ट्याक्सीको परीक्षण, प्रतिघण्टा १३० किमी उडने