अघिल्लो बुलमा प्रतिकित्ता ३५ हजार पुगेको कम्पनी सेयर यो बुलमा भने किन लाग्दैैछ ओरालो
चाणक्य पोष्ट
प्रकाशित : 4:57 pm, बुधबार, मंसिर ३, २०७७

काठमाडौं । युनिलिभर नेपाली सेयर बजारको सबैभन्दा महँगो कम्पनी हो । करिब ४ वर्ष अघिको बुल बजारमा कम्पनीको सेयर मूल्य प्रति कित्ता ३५ हजार रुपैयाँ भन्दा पनि बढी थियो । साना र सामान्य लगानीकर्ताको पहुँचमा यो कम्पनीको सेयर छँदै थिएन । ठूला लगानीकर्ताहरु, जो यो कम्पनीको सेयर किन्न चाहन्थे, उनीहरुको लागि पनि यो सेयर सहजै उपलब्ध थिएन । थोरै पूँजी भएका कारण बजारमा सूचीकृत सेयरको संख्या नै धेरै कम थियो ।

 

यो कम्पनीको सेयर मूल्यलाई यसले दिने लाभांशको प्रतिशतले पनि न्यायोचित नै ठहर्याएको थियो । कम्पनीले विगत १० वर्ष यता आफ्ना लगानीकर्तालाइ ५०० प्रतिशत भन्दा बढी नै लाभांश वितरण गर्दै आएको छ ।

 

गत वर्षको लाभांशलाई छाड्ने हो भने कम्पनीले क्रमश १२७०, ७००, ७७० प्रतिशत लाभांश वितरण गरेको थियो । तर, गत वर्षको नाफाबाट भने कम्पनीले १०० प्रतिशत नगद लाभांश मात्र प्रस्ताव गरेको छ ।

 

यसै कारण अहिले सेयर बजारमा यो कम्पनी प्रति आकर्षण त्यति आकर्षण देखिन सकेको छैन । आज (बुधबार) उत्पादन उप–सूचकका कम्पनीहरुले सेयर बजारमा छलाङ लगाएका छन् । हिमालयन डिस्टिलरी, बोटर्लस नेपाल, शिवम सिमेन्ट जस्ता कम्पनीहरुले सेयर बजारमा सकारात्मक सर्किट लगाएका छन् । तर, युनिलिभरको भने सेयर मूल्य आज प्रति कित्ता ५ रुपैयाँले घटेको छ । आज युनिलिभरको सेयर प्रतिकित्ता १८ हजार ४९५ रुपैयाँमा बन्द भएको छ ।

 

कोरोना महामारीले अन्य उत्पादनमूलक कम्पनीको तुलनामा युनिलिभर कम्पनीलाई अलि बढी नराम्रो असर पारेको देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासको रिर्पोटका अनुसार कम्पनीको खुद नाफामा ६६.६४ प्रतिशतको गिरावट आएको छ । सो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १ अर्ब ६ लाख रुपैयाँबाट ३५ करोड ५३ लाख रुपैयाँमा आइपुगेको थियो ।

 

९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी भएको र जगेडाकोषमा १ अर्ब ८७ करोड रुपैयाँ रहेको उक्त कम्पनीको कुल आय गत वर्षको चौथो त्रैमाससम्मा ३.६० प्रतिशतले घटेको थियो । सो अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ३८६ रुपैंयाँ र नेटवर्थ २१ सय ४२ रुपैयाँ रहेको थियो ।

 

कोरोना महामारीको कारण कम्पनीको कारोबार र आयमा धेरै असर परेको अनुमान गरिएको थियो । तर, अहिले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा पनि राम्रो वित्तीय विवरण सार्वजनिक नगरेपछि भने अब युनिलिभरको दिन नेपालमा सकिएकै हो त भनेर चर्चा हुन थालेको छ ।

 

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको खुद नाफामा ५१ प्रतिशतको गिरावट आएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म २४ करोड रुपैयाँ भन्दा बढी नाफा गरेको कम्पनीले यो वर्ष सोही अवधिसम्म १२ करोड रुपैयाँमात्र नाफा कमाउन सफल भएको छ ।

 

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको प्रति सेयरआम्दानी २५२ रुपैयाँ (वार्षिकिकरण) रहेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीको प्रति सेयर आम्दानी १०६३ (वार्षिकिकरण) रहेको थियो ।

 

कम्पनीको आय निरन्तर घटेका कारण नाफा र प्रति सेयर आम्दानीमा धेरै असर पर्दै गएको देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ७३ करोड रुपैयाँको कारोबार गरेको कम्पनीले यो वर्षको पहिलो त्रैमाससम्म १ अर्ब २३ करोड रुपैयाँको मात्र कारोबार गर्न सक्यो ।

 

तर, यो समयमा, उदाहरणको लागि, हिमालयन डिस्टिलरीले आफ्नो नाफा ९२ प्रतिशतले बढाएको छ । त्यसैको परिणामस्वरुप कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

 

कुनै पनि उथलपुथलले नयाँ लिडर जन्माउने र पुरानोलाई विस्थापित गर्ने इतिहास छ, समाजको सबै क्षेत्रमा । त्यसैले नेपालको सेयर बजारमा सूचीकृत उत्पादनमूलक क्षेत्रको सन्र्दभमा धेरै लामो समय देखि लिडरको रुपमा रहँदै आएको युनिलिभर अब कोरोनाको यो उथलपुथलको पृष्ठिभुमिमा विस्थापित त हुँदै छैन भन्ने शंका भने उठ्न थालेको छ ।

Advertisement Section