काठमाडौं । नेपाली सेयर बजारमा दोस्रो महँगो सेयर मूल्य रहेको राष्ट्रिय बीमा कम्पनीको खुद नाफा करिब १८ प्रतिशतले घटेको छ ।
कम्पनीले मंगलबार सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले ५ करोड १७ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ९२ लाख ४३ हजार कमी हो । कम्पनीले गत वर्षको पहिलो त्रैमासमा ६ करोड १० लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
बीमा शुल्क आर्जन घटेसँगै कम्पनीको खुद नाफामा पनि गिरावट आएको हो । समीक्षा अवधिमा कम्पनीले ५ करोड ९९ लाख ५४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिकोभन्दा २ करोड ३२ लाखले कमी हो । गत वर्ष इन्स्योरेन्सले ८ करोड ३१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
हाल २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ९९ करोड ४२ लाख ४३ हजार रुपैयाँ सञ्चित छ । इन्स्योरेन्सको बीमा कोषको आकार २८.३३ प्रतिशतले बढेर २ अर्ब २७ करोड ५९ लाख १२ हजार रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीले ४१५ बीमा दाबी बापत १ करोड ४१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७७.७० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १ हजार २२२.९६ रुपैयाँ रहेको छ ।
राष्ट्रिय बीमा कम्पनी नेपाली सेयर बजारमा सूचीकृत कम्पनी मध्येमा दोस्रो महँगो सेयर मूल्य रहेको कम्पनी हो । हाल यसको सेयर मूल्य प्रतिकित्ता १५ हजार ११० रुपैयाँ रहेको छ ।