विमानस्थलका लागि छुट्टै प्रहरी टोलि राख्ने तयारी
चाणक्य पोष्ट
प्रकाशित : 3:41 pm, मंगलबार, मंसिर २, २०७७

काठमाडौं । विमानस्थल सुरक्षाका लागि छुट्टै प्रहरी खटाउने तयारी भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थलहरुको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्न आवश्यक रहेको बताउँदै उक्त विषयमा तयारी भइरहेको बताएका हुन् ।

 

आज त्रिभुवन विमानस्थल भित्र निर्मित सुरक्षा गार्ड भवनको उद्घाटन गर्दै मन्त्री भट्टराईले ‘विमानस्थल सुरक्षा प्रहरी’ भनेर छुट्टै युनिट बनाउनुका लागि गृह, अर्थ रक्षा र पर्यटन मन्त्रालय बीच छलफल चलिरहेको बताए ।

 

उनले हाल मुलुकमा ५५ वटा विमानस्थल रहेकाले केही समय भित्रै पोखरा र भैरहवा विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालनमा आउने भएकाले विमानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर छुट्टै युनिट बनाउनेबारे छलफल चलाइएको बताएका थिए ।

 

उनले एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएका कारण काठमाडौँ विमानस्थलमा अत्याधिक चाप हुने गरेकाले लागू औषधको ओसारपसार, अन्तर्राष्ट्रिय अपराधिक क्रियाकलाप हुन नदिन विमानस्थलको सुरक्षा मजबुत हुनुपर्ने बताए ।

 

‘विमानस्थलको सुरक्षा संवेदनशील हुन्छ’ मन्त्री भट्टराईले भने ‘विमानस्थलमा राम्रो मात्रै नियत बोकेर मानिसहरु आएका हुँदैनन्, अन्तर्राष्ट्रिय आपराधिक गिरोहसँग संगठित भएकाहरु पनि आवतजात गर्ने सम्भावना रहन्छ ।’

 

नेपाल नागरिक उड्डयन प्राधिकरणकरणका महानिर्देशक राजन पोखरलले लकडाउनको समयमा पनि टीआइएमा दुईवटा वाइडबढी जहाज अटने पाकिङ, टयाक्सी पाकिङ, रनवे विस्तार लगायतका काम गरेको जानकारी गराउँदै टीआइएको गुरु योजना पुनरावलोकन भइरहेको बताए ।

 

अहिले नेपाल प्रहरीले नै विमानस्थलको सुरक्षाको काम हेरिरहेको छ भने नेपाली सेनाले बाहिरी घेराको सुरक्षाको काम गर्दै आएको छ ।३५० जनाको क्षमता भएको तीन तले भवन ७ करोड १५ लाख १७ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो ।

Advertisement Section