साढे १९ करोडको आइपीओ ल्याएको माउन्टेन इनर्जीको ४२ मेगावाटको आयोजना अन्तिम चरणमा

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा ४२ मेगावाट क्षमत्ताको मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छ ।

 

माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रर्वद्धक रहेको मिस्ट्रीको बाँध, क्यानल निर्माण र पेनस्टक पाइप जडानको काम सकिएको छ । टनेल निर्माणलाई अन्तिम रुप दिनुका साथै विद्युतगृहमा जडान भएका उपकरणको परीक्षण भैरहेको आयोजनाको परामर्शदाता इञ्जिनियर दिवाकर खड्काले बताए ।

 

‘‘टनेलको फिनिसिङ सकिनै लागेको छ । समग्रमा ९८ प्रतिशत काम सकिएको छ,’ उनले भने ‘‘विद्युतगृहमा जडान भएको टर्वाइन, जेनेरेटर लगायतका उपकरण परीक्षण भइरहेको छ ।’ सन् २०१६ को जुन १३ मा शुरु भएको आयोजनाको दुई हजार २७०.५ मिटर सुरुङको २०७६ बैशाखमा ब्रेक थ्रु भएको थियो ।

 

नारच्याङको बेसीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युतगृह निर्माण गरेको छ । निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाइएको छ । बाँधमा पानी थुनेर परीक्षण भइसकेको छ । कूल ११५ मिटर लम्बाई, ८.५ मिटर चौडाई र १३ मिटर गहिराइ भएको दुई भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाइएको छ । आउटलेटदेखि बाँधसम्मे पेन स्टक पाईप जडान भएको छ ।

 

मिस्ट्री सहित नुवाकोटमा निर्माणको अन्तिम चरणमा पुगेको ५ मेगावाट क्षमताको तादीखोला जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर बाँडफाड गरिएको छ । दुवै आयोजनाको प्रर्वद्धक माउन्टेन इनर्जीका प्रशासन तथा लेखा प्रमुख राजेन्द्र शर्माले दोस्रो चरणमा कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि पनि शेयर खरिदका लागि आवेदन आव्हान गरिएको बताए।

 

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाले सेयर हालेका हुन् । नारच्याङका श्याम पुर्जाले बैदेशिक रोजगार, गाइभैसी, भेडाबाख्रा बेचेर स्थानीयले हाइड्रोमा सेयर लगानी गरेको बताए । ५अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा प्रर्वद्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट बैङ्कले ७० करोड, जलविद्युत विकास कम्पनीले एक अरब र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।

 

यसैगरी नविल बैंकले एक अरब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलभमेन्ट बैंकले ३० करोड ऋण लगानी रहेको छ । विद्युत विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स (निर्माण अनुमति) दिएको थियो ।

 

नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब स्टेशन बनाउन ढिलाई गर्दा आयोजना नौ वर्ष पछि धकेलिएको हो । मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेका मध्ये सबैभन्दा ठूलो आयोजना हो ।

 

नारच्याङमा २ मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना सञ्चालनमा छ । त्यस्तै ५ मेगावाटको घलेम्दीखोलाले गत माघ महिनादेखि उत्पादन शुरु गरेको छ ।

 

माउन्टेन इनर्जीले कात्तिक २६ गतेदेखि सर्वसाधरणमा प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ निष्काशन गरेको छ ।

बैंकिङ लिडर नबिललाई टक्कर दिँदै एनआइसी एशिया, अब सेयर बजारलाई कुनले गर्ला लिड Read Previous

बैंकिङ लिडर नबिललाई टक्कर दिँदै एनआइसी एशिया, अब सेयर बजारलाई कुनले गर्ला लिड

माउन्टेन इनर्जीको आइपीओ कहिलेसम्म भर्ने, कति कित्ता भर्नु उपयुक्त Read Next

माउन्टेन इनर्जीको आइपीओ कहिलेसम्म भर्ने, कति कित्ता भर्नु उपयुक्त