बैंकिङ लिडर नबिललाई टक्कर दिँदै एनआइसी एशिया, अब सेयर बजारलाई कुनले गर्ला लिड

nabil vs nica

काठमाडौं । कुनै बेला नेपाली बैंकिङ क्षेत्रका दुई चिर प्रतिद्धन्दी बैंकहरू थिए, नबिल बैंक र नेपाल इन्भेष्टमन्ट बैंक । व्यवसाय सम्बद्ध हरेक सूचकहरूमा यी दुई बैंकहरूको दह्रो प्रतिस्पर्धा हुने गरेको थियो । तर, केही ठूला ऋणहरू प्रोभिजनिङ गर्नुपरेपछि केही वर्ष यता नेपाल इन्भेष्टमेन्ट बैंक यो प्रतिस्पर्धाबाट बाहिरिएको छ ।

 

छोटो समयको लागि नबिल बैंकको प्रतिस्पर्धी कोही नभए झैं देखियो । तर, अहिले एनआइसी एशिया बैंकको जसरी छोटो समयमै उदय भयो, त्यसले अब नेपालको बैंकिङ क्षेत्रको लिडर एनआइसी एशिया बैंक नै बन्ने संकेत देखिन थालेको छ ।

 

भारतको निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक एचडीएफसी बैंकको व्यवसायीक रणनीतिबाट साह्रै प्रभावीत रहेको एनआइसी एशियाले विगत २–३ वर्षमा नै लामो दूरी पार गरिसकेको छ, सबै क्षेत्रमा । अत्याधिक बलियो शाखा सञ्जालद्धारा रिटेल लेन्डिङलाई आफ्नो बलियो हतियार बनाएको यो बैंकले डिजटल बैंकिङमा पनि उल्लेख्य कामहरू गरेको छ ।

 

‘एनआइसी एशिया बैंक धेरै ठूलो बन्नकै लागि लागिपरेको बैंक हो । त्यसै अनुरूप यसका संरचनाहरू धेरै फराकिला र बलिया बनाइएका छन् । यो बैंकको संरचना नेपालको परम्परागत बैंकिङ संरचना भन्दा धेरै बलियो छ,’ एक पूर्व कर्मचारी भन्छन् ।

पछिल्लो समय एनआइसी एशियाको विस्तार र वृद्धिले लामो समयसम्म नेपाली बैंकिङ क्षेत्रको लिडरको रूपमा रहेको नबिल माथि पनि धेरै दवाव परेको छ । नबिलले पनि समयको माग अनुसार डिजिटल बैंकिङलाई आक्रामक रूपमा प्रर्बद्धन गर्न शुरू गरिसकेको छ । वित्तीय उत्पादनहरू पनि त्यसै अनुसारको विकास गरिरहेको छ नबिलले । नबिलका कार्यकारी प्रमुख अनिल शाहले सार्वजनिक रूपमै एनआइसी एशियाको कारण आफूहरू माथि पनि धेरै दवाव परेको बताउने गरेका छन् ।

 

यी दुई बैंक बीच प्रतिस्पर्धा कसरी चल्दै जाला त्यो त अब भविष्यले नै बताउला । तर, चालू आर्थिक वर्षको त्रैमाससम्मको वित्तीय विवरण हेर्दा भने एनआइसीले नबिललाई धेरै सूचकहरूमा पछि पारेको छ ।

 

सेयर लगानीकर्ताहरूले धेरै चासोका साथ हेर्ने सूचकहरू प्रति सेयर आम्दानी र मूल्य आम्दानी अनुपातको कुरा गर्दा यसमा एनआइसी एशिया अगाडि देखिएको छ ।

 

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म एनआइसी एशियाको प्रतिसेयर आम्दानी ४२ रूपैयाँ रहेको छ भने नबिलको ४१ रूपैयाँ रहेको छ । सेयर बजारमा नबिलको भन्दा एनआइसीको सेयर मूल्य कम भएका कारण एनआइसी एशियाको मूल्य आम्दानी अनुपात नबिलको भन्दा राम्रो रहेको छ । एनआइसीको मूल्य आम्दानी अनुपात १५.३ गुणा छ भने नबिलको २१.६ रहेको छ ।

 

खराब कर्जाको कुरा गर्दा नबिलको खराब कर्जा ०.६५ छ भने एनआइसीको ०.४० छ । यसमा पनि एनआइसी अगाडि देखिएको छ ।

 

एनआइसी एशियाले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको भन्दा चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आफ्नो जगेडा कोषमा २०.७ प्रतिशतले बढोत्तरी गरेको छ भने सोहि अवधिमा नबिलको जगेडाकोष ०.३३ प्रतिशतले ऋणात्मक रहेको छ ।

 

यसैगरी सोही अवधिमा एनआइसीले नाफा १.१३ प्रतिशतले बढाएको छ भने नबिलको नाफा ७.८ प्रतिशतले घटेको छ । एनआइसीको ब्याज आम्दानी ७.७ प्रतिशतले बढेको छ भने नबिलको ब्याज आम्दानी १७.९६ प्रतिशतले घटेको छ ।

 

समीक्षा अवधिमा एनआइसीको निक्षेप र कर्जा क्रमश १४.७३ र १८.५ प्रतिशतले बढेको छ भने नबिलको २.८ र ६.०५ प्रतिशतले मात्र बढेको छ ।

 

यसरी हेर्दा पछिल्लो समय एनआइसी एशिया नबिलको कडा प्रतिस्पर्धी मात्र नभएर लिडर नै पो बन्न थालिसकेको होकी भन्ने जस्तो देखिन थालेको छ । महामारीको यो समयका कारण समग्र व्यवसायीक सूचकहरूको वस्तुनिष्ठ तुलना हुन पनि संभव नहोला । तर पनि यी दुई बैंकहरू बीचको रोचक प्रतिस्पर्धा भने अबको भविष्यमा देख्न पाइने नै भएको छ ।

१११ मेगावाटको रसुवागढी जलविद्युतको काम ७८ प्रतिशत सम्पन्न Read Previous

१११ मेगावाटको रसुवागढी जलविद्युतको काम ७८ प्रतिशत सम्पन्न

साढे १९ करोडको आइपीओ ल्याएको माउन्टेन इनर्जीको ४२ मेगावाटको आयोजना अन्तिम चरणमा Read Next

साढे १९ करोडको आइपीओ ल्याएको माउन्टेन इनर्जीको ४२ मेगावाटको आयोजना अन्तिम चरणमा