केही मान्छेको बदमासीले योजना असफल भए : कृषिमन्त्री खनाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि मन्त्रालयको केही योजना असफल हुनुमा केही मान्छेहरुको बदमासी रहेको आरोेप लगाएका छन् ।

 

उनले आफूले प्रत्यक्ष रुपमा देखेको भन्दै एक/दुई जनाले नचाहेका कारण योजना असफल हुन पुगेको बताएका हुन् ।

 

मन्त्रालयमा बिहीबार आयोजित तृत्तीय चौमासिक तथा वार्षिक अवधिको प्रगति समीक्षा र मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै सबैले आ–आफ्नो ठाँउमा जिम्मा लिनुपर्ने बताउँदै केहीको कु–चाहानाले गत वर्षका योजना असफल हुन पुगेको आरोप लगाएका छन् ।

 

‘सानो कुरा पनि कहिले कहीँ महत्वपूर्ण हुन्छ, गत वर्षका ९ योजनाहरु मलाई कण्ठै छ, त्यो सफल नहुनुमा केही मान्छेको बदमासी छ, मैले प्रत्यक्ष रुपमा देखेको छु, एक/दुई जनाले नचाहेका कारणले त्यो असफल भयो,’ मन्त्री खनालले भने ।

 

उनले त्यसको जिम्मेवार आफू पनि भएको बताउँदै ‘मूलतः मैले जिम्मा लिन्छु तर तपाईंहरु पनि त्यसमा दोषि हुनुहुन्छ,’ भनेका थिए ।कृषि मन्त्रालय अन्तर्गतका धेरै योजनाहरुमा ८० प्रतिशत भन्दा कम वित्तीय प्रगति भएका थिए ।

 

मन्त्री खनालले सबैले जो जुन ठाउँमा छन् त्यहाँ बसेर प्रतिबद्धता मात्र नभई कार्यान्वयन कसरी गर्ने लिखित मौखिक रुपमा कार्ययोजना अगाडि राख्नुपर्ने बताएका छन् ।‘राज्यका केही कार्यक्रमहरु असफल भए यो प्रष्ट बोल्न सक्नुपर्छ, किनभने यो कार्यान्वयन हुन्थे/हुँदैन्थे, यो मलाई भन्दा तपाईंहरुलाई थाहा हुन्थ्यो,’ मन्त्री खनालले भने ।

 

उनले गत वर्षका कार्यक्रमहरु गर्नै नसक्ने खाल्का नभएको भन्दै कहीँकतै ऐनले सम्बोधन नगरे पनि काम गर्न सकिने बताए ।

 

उनले होटलमा एक्लै बसेर दुई जनाबीच कुरा काटेर केही नजाने बताउँदै टेबुलमा बसेर सय २ सय जना बीच कुरा राख्न समेत आग्रह गरे ।‘अब उम्कने ठाउँ छैन, अब त सिधै प्रधानमन्त्रीको अगाडि मैले सकिन है भनेर भन्नु पर्छ,’ मन्त्री खनालले भने ।

 

उनले अहिले लक्ष्य पूरा गर्नैपर्ने बताउँदै ‘यसमा कुनै छुट हुँदैन, यसमा कसैले कसैको डर मान्नु पर्ने कुरा छैन, बरु हुँदैन भने हुँदैन भन्नुहोस्’ मन्त्री खनालले भने ।

 

कृषि योजना प्रगति कम हुनुका कारणहरुः

सरकारले बनाएका कृषि योजनमा प्रगति नहुनुका कारणहरु यस्ता रहेको छन्  ।

 

  • नयाँ संगठन संरचना अनुसार कायार्लय तथा कमर्चारी व्यवस्थापन हुन धेरै समय लाग्नु ।

  • प्रदेश अन्तर्गतका निकायहरुबाट संचालन गर्नु पर्ने कार्यक्रमहरुमा निकासाको कठिनाईले गर्दा समयमा शुरु हुन नसक्नु ।

  • केही कार्यक्रमहरुमा ठूलो रकम प्रथम चौमासिकमा एकमुष्ठ विनियोजन भएको हुँदा कार्यक्रम विस्तृतिकरणमा धेरै मसय लाग्नु ।

  •  केही आयोजना तथा कार्यक्रमहरुको पहिलो वर्ष भएकोले प्रकृयागत ढिलाई हुनु ।

  • ठूलो पूँजीगत रकम विनियोजन भएका आयोजनाहरुमा इन्जिनीयरिङ तर्फका कर्मचारीहरुको दरवन्दी नहुदा परामर्शदाता मार्फत कार्य गर्दा प्रकृया ढिलाई हुनु ।

  •  संघीय संचरचनामा रुपान्तरण हुँदा संगठित संस्थाहरुमा कर्मचारीहरुको सो अनुरुपको व्यवस्थापन नियमन, विनियम, विधान परिमार्जन हुनु ।

  • खारेज भएका समितिहरुको जिम्मेवारी, दायित्व तथा सम्पत्ती हस्तान्तरण ।

 

५६ लाख मेट्रिकटन धान उत्पादन

 

गत आर्थिक वर्षमा धानको उत्पादन ५६ लाख १० हजार मेट्रिक टन भएको थियो भने मकै उत्पादन २६ लाख ४४ हजार ८ सय १ मेट्रिक टन भएको थियो ।

 

गहुँ उतपादन २० लाख ३६ हजार ७ सय मेट्रिकटन भएको मन्त्रालयले जानकारी दिएको छ ।
तरकारी ४१ लाख ७५ हजार ६ सय २१ मेट्रिकटन उतपादन भएको थियो । आलु ३२ लाख २० हजार ७ सय ८४ मेट्रिक टन उत्पादन भएको थियो ।

 

उखु ३९ लाख ५१ हजार ५ मेट्रिक टन उत्पादन भएको थियो ।गत वर्ष दूध २२ लाख १२ हजार ५ सय मेट्रिकटन भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

सेयर कर्जामा आक्रमक बन्दै विकास बैंक Read Previous

सेयर कर्जामा आक्रमक बन्दै विकास बैंक

नेपाल बैंकको अधिकांश सूचकमा गिरावट, खुद नाफा १९ प्रतिशतले घट्यो Read Next

नेपाल बैंकको अधिकांश सूचकमा गिरावट, खुद नाफा १९ प्रतिशतले घट्यो