काठमाडौं । माैद्रिक नीतिकाे सार्वजनिक पछि विभिन्न विकास बैंकहरुले आक्रामक ढंगले सेयर कर्जामा लगानी बढाएका छन् । वित्तीय संस्थाले बजारमा लगानी बढाउने तयारी गरेसँगै बजारमा नयाँ चहलपहल आउने देखिएको छ । अहिले सेयर बजार सरकारको बिभिन्न नीतिगत अस्थिरताका थला पर्न लागेको विषयमा बहसमा आइरहेको समयमा वित्तीय क्षेत्रले सेयरकर्जा सहज दिने नीति लिनु लगानीकर्तालाई उत्साहित गर्नु हो ।
‘सेयरमा लगानी गर्ने नयाँ पुँजीको आवस्यकता थियो, वित्तीय संस्थाले नयाँ आर्थिक वर्ष सुरु भएसँगै लगानी गर्ने तयारी देखियो, यसले बजारलाई अगाडि बढ्न सहयोग गर्छ’ सेयरमा साना लगानीकर्ता मनोज बस्नेतले भने । बस्नेत जस्तै धेरैलाई सेयर बजारमा लगानी गर्ने पैसा नभएर बजार नबढेको भन्ने लाग्छ । यस्तो वित्तीय संस्थाहरुले दिने सेयरकर्जाले बजारमा केही नयाँ चहलपहल ल्याउने छ ।
सामान्यत यो सेयर बजार बढ्ने बेला पनि हो । कम्पनीहरुको वित्तीय विवरण प्रकाशित हुने यो समयमा गत बर्षको नाफाबाट पाउन सकिने लाभांशका लागि राम्रा कम्पनीको सेयर खरिद गर्ने समय हो यो ।
बैंकहरुले आर्थिक बर्षको अन्त्यसँगै जम्मा हुन थालेको पैसा सेयर कर्जाको रुपमा लगानी गर्न थालेका हुन् । ‘क्लोजिङ’को समयमा बैंकमा तरलता जम्मा हुनु स्वभाविक हो । ज्योति विकास बैंकले सेयर कर्जा १ दिनमै स्वीकृत गर्ने भनेर विज्ञापन गर्न थालेको छ । साथै, बैंकले धितो राखेको सेयरको ६५ प्रतिशतसम्म कर्जा प्रवाह गर्ने र कर्जाको अवधि १ वर्षको हुने जनाएको छ ।

‘हामीसँग सेयर कर्जा दिनका लागि मार्जिन थियो । त्यसैले पैसा जम्मा भएका बेला लगानी गरिएको हो । यो कर्जा प्रवाह गर्न अन्य कर्जाको तुलनामा छरितो हुने हुनाले यसमा आक्रामक ढंगले अघि बढेका छौ,’ ज्योती विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले चाणक्यपोष्टसँग भने । ज्योति विकास बैंकको ‘बेस रेट’ ११.४६ प्रतिशत छ । बैंकले त्यसमा करिब २ प्रतिशत प्रिमियम जोडेर सेयर कर्जा लगानी गरिरहेको छ ।
सेयर कर्जा आक्रामक ढंगले विस्तार गर्ने अर्को विकास बैंक मुक्तिनाथ हो । बैंकले आकर्षक सुविधा र ब्याजदरमा सेयर र आवास कर्जा योजना सञ्चालनमा ल्याएको छ । ‘आधाको ब्याज, आधाको किस्ता साथमा पाउनुहोस् नगद फिर्ता’ भन्ने नाराका साथ बैंकले आवास कर्जा योजनासमेत सञ्चालनमा ल्याएको छ । बैंकले पुँजी बजारमा लगानी गर्नका लागि सेयर धितो राखेर लिन मिल्ने सेयर कर्जा सुबिधा पनि सञ्चालन गरेको छ । यो कर्जा धितो राखेको सेयरको ६५ प्रतिशतसम्म कर्जा १ बर्षका लागि लिन सकिनेछ । ‘असारमा बैंकमा पैसा बढेको छ । त्यही पैसा लगानी गर्ने गरि यो प्रडक्ट ल्याइएको हो । यो तरलताको दिर्घकालिन समाधान भएको अवस्था भने होइन,’ मुक्तिनाथका प्रमुख कार्यकारी प्रद्युमन पोखरेलले भने ।
बजेट बक्तब्य आउनु अघि सेयर बजारले गति लिने संकेत देखाएको थियो । यद्यपी बजेटपछि त्यो क्रम अघि बढ्न सकेन । बजारमा लगानीकर्ताहरु मौद्रिक नीतिको पर्खाइमा रहेको हल्ला पनि चल्यो । तर, मौद्रिक नीति पछि पनि बजारले उठ्ने संकेत देखाएको छैन । झन् यसबीच त सरकारको सेयर बजार सम्बन्धी अस्थिर नीति (भारित औसतको आधारमा पुँजीगत लाभकर गणना गर्ने बिधि) का कारण बजार झनै सुस्तायो । यस्तो अवस्थामा विकास बैंकहरुले ल्याएका तुलनात्मक रुपमा कम ब्याज र सहजताका साथ सेयर कर्जा योजनाले आम लगानीकर्तालाई केही राहत दिने देखिएको छ ।
सामान्यत यो सेयर बजार बढ्ने बेला पनि हो । कम्पनीहरुको वित्तीय विवरण प्रकाशित हुने यो समयमा गत बर्षको नाफाबाट पाउन सकिने लाभांशका लागि राम्रा कम्पनीको सेयर खरिद गर्ने समय हो यो । तर, मुक्तिनाथ विकास बैंकका सिइओले भने झैं नेपालको वित्तीय बजारको सदाबहार समस्याको रुपमा रहेको तरलता अभावको दिर्घकालीन समाधान भने भएको छैन । त्यसकारण निकट भविष्यमा ब्याजदर घट्ने संभावना देखिदैंन । यसको मतलब सेयर बजारले छलाङ नै हान्न सक्ने वस्तुगत आधार अझैं तयार भइसकेको छैन ।
यद्यपी, राम्रा कम्पनीका सेयर सस्तोमा किनेर लाभांश खाने र सेयर मूल्य पनि बढे डबल नाफा कमाउने उद्देश्य राख्ने लगानीकर्ताका लागि भने सेयर कर्जामा बैंकहरुले देखाएको आक्रामकता काठमाडौंमा ताजा हावामा श्वास फेरे झैं हुने देखिएको छ ।