चालु आर्थिक वर्षमा ५ लाखलाई रोजगार दिने श्रम मन्त्रालयकाे याेजना

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा श्रम तथा रोजगार मन्त्रालयले ५ लाख जनशक्तिलाई रोजगार दिने योजना बनाएको छ । मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा ५ लाख जनशक्तिलाई रोजगार दिने योजना बनाएको हो ।

 

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गत वर्ष सोचे अनुसार रोजगार उपलब्ध गराउन नसके पनि यो आर्थिक वर्षमा भने बढी भन्दा बढी जनशक्तिलाई रोजगारसँग जोड्ने बताए ।

 

आर्थिक वर्ष २०७५/७६ सालमा १ लाख ७५ हजार ९ सय ९ जनशक्तिलाई प्रधानमन्त्री रोजगार अन्तर्गत काम दिइएको थियो । उक्त जनशक्तिलाई २२ लाख ६२ हजार २ सय ६९ दिनको रोजगारी दिइएको थियो । उनीहरुलाई ६ हजार ८ सय ६४ वटा विभिन्न सामूदायिक आयोजनामा रोजगार दिइएको हो ।

 

हालसम्म ५ सय ९९ स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमको विवरण उपलब्ध गराएको विभागले जानकारी दिएको छ । प्रधानमन्त्री रोजगारका लागि खुल्ला गरिएको आवेदनमा झण्डै १७ लाख जनशक्तिले बेरोजगारी दर्ता गरेका थिए ।

 

प्रधानमन्त्री कृषि आयोजना अन्तर्गत ७ सय ५३ स्थानीय तहलाई कामका लागि कुल २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

 

विनियोजित बजेट प्रत्येक स्थानीय तहलाई न्यूनतम ५ लाख र अधिकतम १ करोड रुपैयाँ भन्दा बढी नहुने गरी बजेट बाँडफाँड गरिएको थियो ।

 

अब अभियानको रुपमा नयाँ ढंगले नीति निर्माण गर्दै यस रोजगार कार्यक्रमलाई अघि बढाउने मन्त्री विष्टले बताए ।

 

मन्त्रालयले ८६ वटा प्रकृया पार गर्दै यस योजनालाई अघि बढाई कार्यान्वयनमा ल्याएको बताए । ‘८६ वटा प्रकृया पार गरेर हामीले प्रधानमन्त्री रोजगार कार्याक्रमलाई कार्यान्वयनमा ल्याएका छाैं, यो कार्यक्रमले दिगो विकास समृद्ध नेपाल बनाउन सहयोग पुराउने छ,’ मन्त्री विष्टले भने ।

 

फागुन महिनादेखि सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्याक्रमले आगामी दिनमा धेरै सफलता पाउने उनले बताए । अहिलेको प्रगती झिनो भएपनि आगामी दिनमा यसलाई लक्ष्य हासिल गर्ने गरी कार्यन्वयनमा ल्याउने उनले आश्वासन दिए ।

 

श्रमलाई सम्मान गर्नु पर्ने भन्दै उनले कुनै काम सानो ठूलो नहुने बताए । बेरोजगारको भयाभय अवस्थालाई कम गर्न सरकारले ल्याएकोे योजनालाई कार्यान्वयनमा ल्याउन जनता आफू पनि रोजगारसँग गाँसिन आउनु पर्ने उनले बताए । उनले काम गर्ने संस्कृति बढाउन समेत सबै माझ आग्रह गरेका छन् ।

नेपाल एयरलाइन्सले असोजदेखि जापानको नारिता चार्टर्ड उडान गर्ने Read Previous

नेपाल एयरलाइन्सले असोजदेखि जापानको नारिता चार्टर्ड उडान गर्ने

सेयर कर्जामा आक्रमक बन्दै विकास बैंक Read Next

सेयर कर्जामा आक्रमक बन्दै विकास बैंक