काठमाडौं । तिहार नजिकिएसँगै शहर झिलिमिलि हुन थालेको छ । कोरोनाका कारण विगतका वर्षहरुको जस्तो रौनक नदेखिए पनि शहरका मुख्या व्यापारिक केन्द्र, बिजनेश मल, कर्पोरेट हाउस, गहना पसल लगायत स्थान झिलिमिलि हुन थालेका छन् ।
फूल र बत्तिको पर्व भनेर चिनिने तिहारमा हरेक वर्ष मानिसका घरदेखि बजारका पसलसम्म माला र आकर्षक बत्तिले सजिन्छन् । यस वर्ष कोरोनाका कारण मानिसहरुमा विगतको जस्तो उत्साह नदेखिँदा झिलिमिलि बत्तिको व्यापार खस्केको व्यापारीहरु बताउँछन् ।
‘विगतका वर्षहरुमा तिहार आएसँगै झिलिमिलि बत्ति बेच्न भ्याइ/नभ्याइ हुन्थ्यो,’ महाबौद्धका बिजुली पसले रामप्रसाद गौतमलेल भने, ‘तर, तिहारमा पनि सामान्य अवस्थाको जस्तो पनि व्यापार छैन । तिहारका लागि ल्याएका बत्तिमध्ये आधा पनि बिकेका छैनन् ।’ विगतमा शहरका हरेक गल्लीगल्ली झिलिमिलि बनाउने गरिए पनि यस वर्ष त्यस्तो नहुँदा बत्तिको व्यापार घटेको उनको भनाइ छ ।
विगतका वर्षहरुमा ५० भन्दा बढी बत्तिको कारोबार हुँदै आएकोमा यस वर्ष त्यो घटेर २० करोड हाराहारीमा सीमित हुने व्यापारीहरुको भनाइ छ ।

यस वर्ष झिलिमिलि बत्तिको आयात पनि आधाभन्दा धेरैले घटेको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षमा १ करोड २४ लाख रुपैयाँ बराबरको झिलिमिललि बत्ति आयात गरिएको छ । सो मूल्यमा १ लाख ८७ हजार पिस झिलिमिलि बत्ति आयात भएको हो ।
यो गत वर्षको भन्दा १ करोड ७२ लाख कम हो । गत वर्ष सोही समयमा २ करोड ९६ लाख रुपैयाँ बराबरको झिलिमिलि बत्ति आयात भएको थियो । ५ लाख ३३ हजार पिस झिलिमिलि बत्ति आयात भएको हो ।
नेपाली दियोको प्रयोग बढ्दो
यस वर्ष कोरोनाका कारण भारतीय दियो आयात हुन नसक्दा नेपाली दियोको प्रयोग भने बढेको पाइएको छ । यस वर्षको तिहारमा दियोको खपतमा कमी आए पनि नेपाली दियोको व्यापार भने बढेको व्यापारी बताउँछन् ।

कोरोनाका कारण यसवर्ष भारत लगायत मुलुकबाट बुट्टे दियो आयात नहुँदा नेपाली दियोको प्रयोग बढेको असनका दियो व्यापारीले बताए । यो वर्ष कलकत्ते दियो बजारमा कमै देख्न पाइएको छ । कोभिड १९ का कारण उपत्यकामा उपभोक्ता घटेसँगै दियोको आयात कम देखिएको हो । नेपालमै बनेका भक्तपुरे दियो भने धेरै प्रयोजनमा आइरहेको छ ।
नेपालमा बनेका सादा दियोको तुलनामा विभिन्न आकृतीले भरिएका भारतको कलकताबाट आएका दियोहरुले बजार लिन थालेको थियो भने कोभिडका कारण नेपाली दियोले बजार पाएको छ ।
असनका बजारमा माटोका सादा दियो ३० रुपैयाँ दर्जनदेखि प्रतिदियो १ सय रुपैयाँसम्मका रहेका छन् । भारतीय कलकत्ते दियो ५० रुपैयाँ गोटादेखि २ सय रुपैयाँसम्म पर्ने गर्दछ ।
