चाबहिल-चुच्चेपाटी सडक कालोपत्रमा अझै समस्या, अब ठेकेदारले नगरे सडक डिभिजन आफैले गर्ने

काठमाडौं । चाबहिल–साँखु सडक अन्तर्गत चाबहिलदेखि चुच्चेपाटीसम्म कालोपत्र काम अझै ढिला हुने भएको छ । चाबहिल चोकमा एकै पटक ढल, विद्युत, खानेपानीको समस्या देखापरेकाले कालोपत्रमा ढिलाइ हुने उपत्यका विस्तार आयोजनाले जनाएको छ ।

 

आयोजनाका सूचना अधिकारी लक्ष्मण देवकोटाका अनुसार चाबहिलदेखि तल मित्रपार्क खण्डमा छिटै कालोपत्र हुने छ । त्यसका लागि ठेकेदारहरु तयारी अवस्थामा रहेको उनले बताए ।

 

२०७१/७२ देखि शुरू भएको चाबहिल–साँखु सडकखण्ड आर्थिक वर्ष २०७६/७७ को अन्तिमसम्ममा सम्पन्न गरिसक्नु पर्ने भए पनि ठेकेदारको लापरबाही, स्थानीयको अवरोध, मुआब्जा विदवाद लगायत कारणले अझै सम्पन्न हुन नसकेको हो । उक्त सडकखण्डको ७.५ किमी सडक कालोपत्र भइसकेको छ भने अझै झण्डै ५ किमी सडक कालोपत्र गर्न बाँकी छ ।

 

चाबहिल चोकदेखि चुच्चेपाटीसम्म भने ढल, विद्युतको काम सकेपछि मात्र कालोपत्र हुने उनले बताए । ‘चाबहिल–चुच्चेपाटीको कन्ट्राक्ट सकिसकेको हो तर, खानेपानी, ढल र विद्युतका कारण अझै कालोपत्र गर्न सकिएको छैन ।’ सूचना अधिकारी देवकोटाले चाणक्य पोष्टसँग भने ‘ढल, बिजुलीको काम सकेपछि उनीहरुले कालोपत्र नगरे सडक डिभिजनले गर्छ ।’

 

चाबहिल–साँखु सडक अन्तर्गत विस्तार भएका केही ठाउँमा सर्वसाधरणले तारले बारेकाले सडक विस्तारले गति लिन नसकेको उनले बताए । सर्वसाधरणले खाली जमिनको मुआब्जा माग्दै विरोध गरेर विस्तारका लागि तयार गरेका स्थानमा तारले बारेका हुन् ।

 

‘यो खण्डमा सबै कालोपत्र हुने चरणमा छन् । बाटो चौँडा भइसक्यो, डिमार्ककेसन वाल पनि लगाइसकेका छौ तर, हरेक सेक्सनमा सर्वसाधनले तारले बारेका छन्, जग्गाको मुआब्जा मागिरहेका छन् । त्यो सम्भव छैन । अब जति छ त्यसैमा कालोपत्र गर्दै अघि बढिन्छ,’ देवकोटाले भने ।

 

चाबहिल–साँखु सडक खण्ड अन्तर्ग थलिबजार लगायत रोकिएका केही स्थानमा पाइप हाल्ने, डिमार्केसन गर्ने र कालोपत्र गर्ने गरी काम अघि बढेको उनले जानकारी दिए । बाँकी चाबहिलदेखि बागमतीमा एक तहको कालोपत्र (डीबीएम) सकिएको छ । केही काम बाँकी रहनुका साथै ओभर ले (कालोपत्र) को काम गर्न बाँकी रहेको उनले बताए । सरासर काम भए अबको १ महिनामा चाबहिलदेखि बागमतीको काम सकिने छ ।

 

चाबहिल–साँखु सडकखण्ड आर्थिक वर्ष २०७६/७७ को अन्तिमसम्ममा सम्पन्न हुने भनिए पनि त्यसो हुन सकेन । उक्त सडकखण्डको साढे ७ किलोमिटर सडक कालोपत्र भइसकेका छन् । झण्डै ५ किलोमिटरको हाराहारीमा सडक कालोपत्र गर्न बाँकी रहेको छ ।चाबहिल–साँखु सडक खण्ड निर्माण २०७१/७२ सालबाट शुरू भएको हो । सो सडकखण्ड अन्तर्गत लामा/समान्तार जेभीले ठेक्का लिएको १ किलोमिटर सडक मात्र निर्माण सम्पन्न भएको छ ।

 

सूचना अधिकारी देवकोटाले केही समस्या नआए चाबहिलको पूरै काम ३ महिना जतिमा सकिने बताए । अन्तिम खण्डमा एक लेनको काम सकिसक्यो भने २ लेनको काम बाँकी छ । बाँकी २ लेनको काम गर्दै जादा केही महिना लाग्ने छ ।

 

यस्तै जोरपाटि सुन्दरीजल सडक खण्डमा अहिले सबैभन्दा धेरै प्रगति भएको सूचना अधिकारी देवकोटा बताउँछन् । सो खण्डमा गोकर्ण साइडमा भने काम भइरहेको छ ।जोरपाटि–सुन्दरीजल खण्डमा हिमपाइप लगाउने काम सकेर कालोपत्र गर्नका लागि सब बेस हाल्ने तयारी भइरहेको उनले बताए ।

 

‘यहाँ सब बेस हाल्ने तयारी भइरहेको छ । सब बेस हालेपछि कालोपत्र हुने छ ।,’ सूचना अधिकारी देवकोटाले भने ‘सबै जसो सडकहरु प्राय कालोपत्र गर्नका लागि सब बेस शुरू गर्ने चरणमा रहेका छन्, धेरै खण्डमा अबको ३ महिनामा कालोपत्र हुने छ ।’ ७ किलोमिटर लम्बाई यो सडक निर्माण चालू आवभित्र सम्पन्न हुने उनको दाबी छ । साइटमा काम गर्ने ठेकेदार राम्रो परेकाले यसको काम छिटो सम्पन्न हुने उनको भनाइ छ ।

 

यस्तो छ उपत्यका अन्य सडक आयोजनाको अवस्था

 

कर्मनासा–गोदावरी खण्डमा पनि राम्रो गतिमा काम भइरहेको उनले बताए । सो खण्ड अन्तर्गत हरिसिद्धिमा पाइपको काम भइरहेको छ भने गोदावरी तर्फ ग्राबेलिङको काम भइरहेको छ । उक्त खण्डमा ३ किलोमिटरमा पाइपको काम सकिएको छ । बाँकी रहेको काम १०/१५ दिनमा सकिने उनले बताए ।

 

साढे ७ किलोमिटर लम्बाई रहेको यो सडक खण्ड चालू आर्थिक वर्षभित्र सम्पन्न हुनेछ । यस सडक खण्डमा हालसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । यो सडक चालू आर्थिक वर्षभित्र सम्पन्न गर्न नसके छोड्नुपर्ने अवस्था सृजना हुने देवकोटाले बताउँछन् । सो खण्डमा ४ सय घर भत्काउनुपर्ने भएकोमा एउटै पनि घर भत्काउन सकिएको छैन ।

 

भैँसेपाटी–बुङमति सडकमा नख्खु चोकदेखि उकालोमा दुबै तर्फ वाल लगाएर पाइप हाल्ने काम भइरहेको छ । बुङमति सेक्सनमा केहिमा रिटेङको काम भएको छ । त्यहाँ अहिलेकै अवस्थामा काम गर्न लागिएको हो ।

 

सबै ठाउँमा विस्तार गर्न सम्भव नभएका कारण जस्तो छ त्यस्तै अवस्थामा कामलाई अघि बढाइएको उनले बताए । सो खण्डमा ७ वटा मात्र घर भत्काइएको छ ।

 

त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक खण्डमा मेन्टेनेन्सको मात्र काम बाँकी रहेको छ । कलंकी क्षेत्रमा सबै काम सकिसकेको देवकोटाले बताए ।उनले सो खण्ड अन्तर्गत कलंकी–नागढुंगामा मेन्टनेन्सको काम भइरहेको बताए । ‘यस खण्डमा सबै काम सकिसकेको छ, मेन्टेनेन्सको मात्र काम बाँकी हो, त्यो पनि भइरहेको छ, १०/१५ दिनमा सकिन्छ,’ उनले भने । ११ किलोमिटर लम्बाई रहेको सो सडकमा ६८८ घर भत्काउनु पर्नेमा ३ सय ५० मात्र घर भत्काइएको छ भने बाँकी घर नभत्काई यथास्थितिमा निर्माण भइरहेको हो ।

 

इमाडोल–लुभु खण्डको काम फाइनल स्टेजमा रहेको छ । सो खण्डमा अढाइ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । उक्त खण्डमा सब बेस हाल्ने काम भइरहेको उनले बताए । सो काम अब २ महिनामा सकिने उनको दाबी छ ।

 

८ किलोमिटर लम्बाई रहेको सो सडक चालू आर्थिक वर्ष भित्र सम्पन्न हुने आयोजनाले जनाएको छ । सो सडकखण्ड २०७७/७८ भित्र सक्ने लक्ष्य रहेको छ । उक्त खण्डमा ५६ वटा घर भत्काउनु पर्नेमा १० वटा मात्र घर भत्काइएको थियो । चालू आवमा लामाटारमा समेत ३०/३५ वटा घर भत्काइएको छ ।

 

अन्य बाँकी रहेका घर नभत्काई यथास्थितिमै सडक विस्तार अघि बढेको हो । भैँसेपाटी, गोदावरी, लामाटार लगायतका खण्डहरुमा अबको ३ महिना भित्र कालोपत्रको काम सकिने देवकोटा बताउँछन् ।

डिप्रोक्स लघुवित्तको नाफा दोब्बरले बढ्यो, कति पुग्यो प्रतिसेयर आम्दानी Read Previous

डिप्रोक्स लघुवित्तको नाफा दोब्बरले बढ्यो, कति पुग्यो प्रतिसेयर आम्दानी

सूर्य लाइफको लाभांश घोषणा, बोनस र नगद कति Read Next

सूर्य लाइफको लाभांश घोषणा, बोनस र नगद कति