थप २० शाखा विस्तार गर्दै राष्ट्रिय सहकारी बैंक

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नेपाल राष्ट्र बैंकबाट थप २४ शाखा सञ्चालनको अनुमति पाएको छ । सोही अनुरुप बैंकले शाखा सञ्चालनको प्रक्रिया थालनी गरेको छ ।

 

आइतबार मात्रै काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा एकै दिन थप ४ वटा शाखा सञ्चालनमा ल्याएको छ । भक्तपुरको कमलविनायक तथा काठमाडौंको कीर्तिपुर, कालीमाटी र जोरपाटीमा आइतबार एकै दिन शाखा शुभारम्भ गरिएको हो ।

 

यस लगत्तै थप २० वटा शाखा पनि सञ्चालनमा ल्याउने तयारी गरेको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए । काठमाडौंमा नारायणगोपाल चोक, नयाँ बजार, पुतलीसडक, बलम्बु र कोटेश्वर, भुक्तपुरको सूर्यविनायक, ललितपुरको इमाडोल र चितवनको टाडीमा पनि शाखा सञ्चालनको तयारी छ ।

 

यस्तै प्रदेश नं. १ मा झापाको मेचीनगर, सुनसरीको इनरुवा र मोरङको सुन्दरहरैचा, प्रदेश नं. २ मा बाराको कलैया, गण्डकी प्रदेशमा कास्कीको तालचोक र स्याङ्जाको पुतलीबजार, लुम्बिनी प्रदेशमा रुपन्देहीको भैरहवा र तिलोत्तमा, दाङको तुलसीपुर, बाँकेको नेपालगञ्ज र बर्दियाको भुरीगाउँ तथा सुदुरपश्चिम प्रदेशमा कञ्चनपुरको महेन्द्रनगरमा शाखा सञ्चालनको तयारी भैरहेको बैंकले जनाएको छ ।

 

४४ वटा शाखामार्फत सदस्यहरु लाई सेवा प्रवाह गर्दै आएको सहकारी बैंकले आगामी पुस मसान्त भित्र ६८ वटै शाखामार्फत सेवा सञ्चालन गर्ने भएको छ । शाखासंगै शाखारहित सेवाको समेत तयारी भैरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले जानकारी दिए ।

 

सहकारी बैंकका सदस्य संस्थाहरु ७७ वटै जिल्लामा छन् । बैंकको शाखा र शाखारहित सेवा सबै जिल्ला, महानगरपालिका र उपमहानगरपालिका हुदै नगरपालिका र गाउँपालिकासम्म पुर्याउने योजनाका साथ अगाडि बढेको प्रमुख कार्यकारी अधिकृत गुरागाईंले जानकारी दिए ।

 

बैंकमा हाल १२ हजार २८३ सहकारी संघ संस्था सदस्य रहेका छन् । नेपाल सरकार सहित देशभरका सहकारी संघ सस्थाहरुको सेयर रहेको बैंकको हाल २ अर्ब ४८ करोड सेयर रकम, ५१ अर्ब ३६ करोड निक्षेप र २४ अर्ब २८ करोड कर्जा लगानी रहेको छ ।

सेयर बजारको 'ब्लुचिप' सहित ६ कम्पनीको हकप्रद आउँदै, कुनको कति Read Previous

सेयर बजारको 'ब्लुचिप' सहित ६ कम्पनीको हकप्रद आउँदै, कुनको कति

एफएनसीसीआई निर्वाचनः बस्तुगततर्फका समस्याबारे छलफमा उपाध्यक्षका उमेद्वार अञ्जन श्रेष्ठ Read Next

एफएनसीसीआई निर्वाचनः बस्तुगततर्फका समस्याबारे छलफमा उपाध्यक्षका उमेद्वार अञ्जन श्रेष्ठ