सेयर बजारको ‘ब्लुचिप’ सहित ६ कम्पनीको हकप्रद आउँदै, कुनको कति
चाणक्य पोष्ट
प्रकाशित : 4:08 pm, सोमबार, कात्तिक २४, २०७७

काठमाडौं । सेयर बजार अहिले बुलिस ट्रेण्डमा रहेको छ । लगानीकर्ताहरू सेयर किन्न हतारिएका छन् । यस्तोमा कतिपय लगानीकर्ताहरू प्राविधिक विश्लेषण गरेर सेयर किन्नमा तल्लिन छन् भने केही लगानीकर्ताहरू आधारभूत विश्लेषण गरेर कम्पनीले दिन सक्ने लाभांशको आंकलन गर्दै सेयर किन्न लालायित भएका छन् ।

 

नेपाली सेयर बजारमा भने हकप्रद सेयर जारी गर्ने कम्पनीहरू पनि लगानीकर्ताको आकर्षणमा रहने गरेका छन् । बजारमा बढी मूल्यमा कारोबार भइरहेको सेयर फेरि १०० रुपैयाँमै किन्न पाउने भएका कारण यसमा लगानीकर्ताको विशेष आकर्षण देखिने गरेको छ ।

 

हकप्रद भनेको कम्पनीले कमाएर लाभांश वितरण गरेको भने होइन । थप लगानी गर्नको लगानीकर्ताहरू बाटै पैसा उठाएको हो । यसरी उठाएको पैसा कम्पनीको व्यवस्थापनले राम्रोसँग प्रयोग गरेर थप भविष्यमा थप नाफा निकाल्न सकेमा हकप्रदमा गरिएको लगानी धेरै फलदायी पनि हुनसक्छ । कम्पनीले राम्रोसँग पुँजीको प्रयोग गरेर व्यवसाय विस्तार गर्न नसके यो धेरै फाइदाजनक नहुन पनि सक्छ ।

 

हकप्रद जारी गरिसकेपछि कम्पनीको सेयर मूल्य पनि समायोजन हुने हुनाले स्वतः नाफा हुने भन्ने चाहिँ हुँदैन । त्यसैले हकप्रदमा गरिएको लगानी फाइदाजनक हुन्छ वा हुँदैन भनेर विश्लेषण गर्नका लागि अन्य धेरै सूचकहरू लगायत कम्पनी र त्यसका व्यवस्थापनका बारेमा समेत गहिरो जानकारी राख्नैपर्छ । यो सेयर लगानीको अर्कै पाटो भयो ।

 

यहाँ भने हामीले अब बजारमा कुन कुन कम्पनीले हकप्रद सेयर जारी गर्न लागेका छन् भनेर समाचार तयार पारेका छौं । यी हकप्रदमा गरिने लगानी फाइदाजनक हुन पनि सक्छन् वा नहुन पनि सक्छन् । त्यसका लागि अन्य विश्लेषण गर्नुपर्ने हुन्छ ।

 

अब चाँडैनै वरुण हाइड्रोपावरले हकप्रद जारी गर्ने देखिएको छ । १०० प्रतिशत हकप्रदको लागि धितोपत्र बोर्डमा कम्पनीले दिएको आवेदन स्वीकृतीको अन्तिम चरणमा रहेको छ । कम्पनीले २५ लाख ५१ हजार ५०० कित्ता हकप्रद सेयर जारी गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले बोर्डले मागे अनुरुपको कागजात उपलब्ध गराइसकेको छ र बोर्डले उक्त आवेदनको अन्तिम मूल्याङ्कन गरिरहेको छ ।

 

यसैगरी नागरिक लगानी कोष र जलविद्युत विकास कम्पनीले (एजआइडीसीएल) पनि क्रमशः ८२ प्रतिशत र १०० प्रतिशत हकप्रद जारी गर्नको लागि आवेदन दिएका छन् । एजआइडीसीएलले ११ करोड कित्ता र नागरिक लगानी कोषले १ करोड ३५ लाख कित्ता हकप्रद सेयरको लागि आवेदन दिएका हुन् । यी दुवै कम्पनीको सेयरमा पछिल्लो समय लगानीकर्ताको आकर्षण देखिएको छ । यी कम्पनीको हकप्रदको बोर्डले मूल्याङ्कन गरेर थप प्रक्रियाको लागि पत्राचार गरेको जनाएको छ ।

 

यसैगरी, ङादी ग्रप पावर र अरुण भ्याली हाइड्रोपावरले पनि हकप्रदको लागि आवेदन दिएका छन् । ङादीले ३० प्रतिशतले अरुण भ्यालीले १०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेका हुन् । ङादीको १६ लाख ६ हजार र अरुण भ्यालीको ९९ ला ८३ हजार कित्ता हकप्रद सेयर मूल्याङ्कनको प्रारम्भिक चरणमा रहेका छन् । यी दुवै सेयरमा पनि लगानीकर्ताको आकर्षण देखिएको छ, दोस्रो बजारमा ।

 

श्री राम सुगर मिल्सले पनि हकप्रदको लागि बोर्डमा आवेदन दिएका थियो । तर, अहिले यो कम्पनी भने बन्द भइसकेको छ भने दोस्रो बजारमा कारोबार समेत रोक्का भएको छ ।

 

हकप्रद जारी गर्न लागेका यी सबै कम्पनीहरूको सेयरमा पछिल्लो समय निकै आकर्षण देखिएको छ । सेयरको संख्या धेरै हुने र १०० रुपैयाँमै किन्न पाउने भएका कारण लगानीकर्ताहरू यी सेयर प्रति आकर्षित भएका हुन् । तर, सेयरबाट राम्रो फाइदा गर्नका लागि भने हकप्रदका अलावा कम्पनीका अन्य पाटाहरूको बारेमा पनि जानकारी बटुल्नु आवश्यक हुन्छ ।

Advertisement Section