काठमाडौं । तिहारमा चिनीको अभाव नहुने भएको छ । सामान्य बेलाभन्दा तिहारमा बढी खपत हुने अवस्थालाई मध्येनजर गर्दै साल्ट्र ट्रेडिङले १० हजार मेट्रिकटन चिनी आयात गरेसँगै अभाव नहुने भएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनीले ल्याउने साल्ट ट्रेडिङले २० हजार टन मध्ये १० हजार मेट्रिकटन चिनी आयात भइसकेको छ । कलकताबाट आउने क्रममा रहेको बाँकी चिनी अबको एक सातामा आइपुग्ने साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीले बताए ।
सरकारबाट १० हजार मेट्रिकटन चिनी आयात गर्न अनुमति पाएको खाद्य व्यवस्था कम्पनीले भने अहिलेसम्म ठेक्का समेत लगाउन सकेको छैन । कम्पनीले चिनी आयात गर्न असोजमै टेन्डर खुलाएपनि कुनै आवेदन नपरेपछि पुनः टेन्डर आह्वान गर्ने तयारी गरेको छ ।
साल्ट ट्रेडिङले २० हजार टन चिनी आयातका लागि रेनुका सुगर मिललाई ठेक्का दिएको हो । राजभण्डारीले दैनिक २५ सय टनको दरले चिनी लगातार आयात भइरहेको बताए । उनले तिहारमा चिनी अभाव नहुने दाबी गरेका छन् ।
‘तिहारमा चिनी अभाव हुने छैन, २० हजार टन ल्याउन लागेका हौँ, त्यो मध्ये १० हजार टन चिनी आइसकेको छ, दैनिक २५ सय टन चिनी कलकताबाट आइरहेको छ,’ राजभण्डारीले चाणक्य पोष्टसँग भने । उनले बाँकी चिनी अबको एक सातामा आइपुग्ने स्पष्ट पारे । हाल साल्ट ट्रेडिङमा ९ हजार टन चिनी स्टक रहेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट स्वीकृति पाएपछि साल्ट ट्रेडिङले १५ दिने समयसीमा राखेर टेन्डर आह्वान गरेको थियो । सो टेन्डरमा ४ प्रस्ताव आएका थिए । उक्त प्रस्ताव आएकाहरुको उच्च मूल्य प्रस्ताव रहेको तर, प्रस्ताव गरेका मध्ये कसैले जमानत जम्मा नगरेकोले उनीहरुको प्रस्ताव खारेज गरिएको थियो ।त्यसपछि साल्ट ट्रेडिङले रिटेन्डर आह्वान गरेको थियो । साल्ट ट्रेडिङले भदौ ७ गते रिटेन्डर गरेको र त्यसैबाट रेनुका सुगर मिलले ठेक्का पाएको थियो ।
सरकारले विदेशबाट ३० हजार मेट्रिक टन चिनी आयातको अनुमति दिएको हो । त्यस मध्ये साल्ट ट्रेडिङ कर्पोरेसनले २० हजार केजी चिनी आयात गर्ने छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार मेट्रिक टन चिनी आयात गर्ने छ ।
खाद्य कम्पनीको टेन्डरमा परेन आवेदन, फेरि खुलाउने तयारी
विगतमा जस्तै यो वर्ष पनि खाद्य व्यवस्थापन कम्पनीले ल्याउने चिनी आयातमा ढिलाइ हुने भएको छ । खाद्य व्यवस्थापन कम्पनीले कात्तिकको मध्यतिर आयात गर्ने भनेको चिनी अब तिहार पछि मात्र आउने भएको छ ।
खाद्य कम्पनीकी सूचना अधिकारी सर्मिता सुवेदीले तिहारलाई लक्षित गरी ल्याउन लागेको चिनी आयातका लागि कुनै ठेक्का नलागेको बताएकी छन् । आवेदनको अन्तिम मिती असोज २९ गते रहेकोमा सो अवधिसम्म कसैले आवेदन दिएका थिएनन् । कुनै कम्पनीको आवेदन नआएपछि रिटेन्डर गर्न लागिएको हो ।
खाद्य व्यवस्थापन कम्पनीले चिनी आयात गर्न ४५ दिने टेन्डर आह्वान गरेको थियो । खाद्य व्यवस्थापन कम्पनीले भदौ ७ गते टेन्डर आह्वान गरेको थियो ।
सूचना अधिकारी सुवेदीले रिटेन्डर गर्दा केही सर्तहरु परिवर्तन गर्ने अथवा सोही सर्तमा रिटेन्डर गर्ने अझै निर्णय नभएको बताइन । हाल खाद्य कम्पनीले साल्ट ट्रेडिङबाट चिनी ल्याउदै बेच्ने काम गरिरहेको छ ।
‘तिहार अधि नै चिनी ल्याउने भनेका थियौँ तर, कसैले पनि आवशानमा प्रस्ताव नराखेकाले फेरि टेन्डर गर्नु पर्ने भएको छ, त्यसको लागि तयारी भइरहेको छ,’ सुवेदीले भनिन् ‘ अब अझै समय लाग्छ, अहिले साल्ट ट्रेडिङबाटै चिनी ल्याएर विक्री गरिरहेका छौँ ।’
रिटेन्डर गर्नका लागि अझै केहि समय लाग्ने छ । आवेदन समयसकेपछि मूल्याङकन गरिने छ । त्यसपछि ठेक्क छनोट गरी चिनी आयात गरिने छ । यसका लागि समय अझै बढि लाग्ने देखिन्छ ।
नेपालमा वार्षिक २ लाख ६० हजार मेट्रिक टन चिनी खपत हुँदै आएको छ । यसरी दैनिक करिब ७ सय १५ किलो चिनी खपत हुन्छ ।चिनी उत्पादक संघको तथ्यांक अनुसार नेपालमा ४ जनाको परिवारले एक वर्षमा १० किलोसम्म चिनी खपत गर्छन् ।