सेयर बजारमा अब ‘बुल’ आउने माइक्रोफाइनान्सको पालो, यस्तो छ कारण

काठमाडौं । उच्च नाफा दरका कारण निजी क्षेत्र र सेयर बजारमा समेत अति रुचाइएको लघुवित्त क्षेत्र कोरोना भाइरसको महामारी यता अलि सुस्ताए झैं देखिन थालेको छ । सेयर बजारमा यो क्षेत्र उल्लेख्य रूपमा बढ्न सकेको छैन, जसरी केही समय अघि निर्जीवन बीमा र अहिले जलविद्युत् क्षेत्रका कम्पनीहरूको सेयर मूल्य बढिरहेको छ ।

 

महामारीले ठूलै असर पारेको अनुमानका कारण बैंकिङ क्षेत्र र लघुवित्त क्षेत्रमा सेयर लगानीकर्ताको उति आकर्षण देखिन सकेको छैन । तर, कतिपय बैंकहरूले गत आर्थिक वर्षको नाफाबाट सोचे भन्दा राम्रै लाभांश दिएर लगानीकर्ताको मन जित्न सफल भएका छन् । गत आर्थिक वर्षको अन्तिम ३ महिना नेपालका महामारी नियन्त्रणको लागि भनेर देशव्यापी लकडाउन गरिएको थियो ।

 

बचत परिचालन, ऋण प्रवाह, पूँजी पर्याप्तता अनुपात, खराब कर्जा, तरलता, नाफा इत्यादी सूचकहरूको आधारमा हेर्दा अघिल्लो आर्थिक वर्षको अन्तिम तिरबाटै लघुवित्त कम्पनीहरू आफ्नो लयमा फर्कन थालिसकेको तथ्याङ्कहरूले देखाएका छन् ।

 

लघुवित्त क्षेत्रका पनि केही कम्पनीहरूले गत आर्थिक वर्षको अन्तिम र महत्वपूर्ण समयमा लकडाउन भएको भए पनि रामै लाभांश दिएका छन् । तर, यो क्षेत्र सम्बद्ध राम्रा र ठूला कम्पनीहरूले भने अझै लाभांश घोषणा गरिसकेका छैनन् । यसकारण लगानीकर्ताहरू अझै ढुक्क हुन सकेका छैनन् । साथै राष्ट्र बैंकले जारी गरेका कतिपय सर्कुलरका कारण पनि लघुवित्त कम्पनीहरूको नाफा र लाभांश क्षमता घट्ने होकी भनेर लगानीकर्ताहरू अझै झस्किरहेका छन् ।

 

राष्ट्र बैंकले पनि क्यास रिर्जभ रेसियो, बैंक रेट, रिपो रेट, निक्षेप संकलन रेट इत्यादिमा कटौती गरिदिएपछि लघुवित्त कम्पनीहरूको नाफामा गिरावट आउने अनुमान गरिएको थियो ।

 

अन्य सबै क्षेत्रहरूमा झैं लकडाउनको समयमा लघुवित्त क्षेत्रमा खराब कर्जाको प्रतिशत बढेको र पोर्टफोलियोको गुणस्तरमा पनि केही कमी आएको थियो । तर, लकडाउन आंशिक रूपमा खुल्न थालेसँगै महामारीले निम्त्याएको प्रतिकूल अवस्थाको सामना लघुवित्त कम्पनीहरूले रामैसँग गर्न थालिसकेका थिए ।

 

बचत परिचालन, ऋण प्रवाह, पूँजी पर्याप्तता अनुपात, खराब कर्जा, तरलता, नाफा इत्यादी सूचकहरूको आधारमा हेर्दा अघिल्लो आर्थिक वर्षको अन्तिम तिरबाटै लघुवित्त कम्पनीहरू आफ्नो लयमा फर्कन थालिसकेको तथ्याङ्कहरूले देखाएका छन् ।

 

लघुवित्त कम्पनीहरूले प्रवाह गर्ने ऋणको करिब ४७ प्रतिशत उनीहरूले नै संकलन गरेको निक्षेप हो । लकडाउन भएपछिको पहिलो महिनामा लघुवित्त कम्पनीहरूको निक्षेप संकलनमा १.९ प्रतिशतको बढोत्तरी भएको थियो । दोस्रो महिनामा भने बचतमा केही गिरावट आयो ।

 

मानिसहरूले महामारीको समना गर्नको लागि लघुवित्त कम्पनीहरूमा बचत गर्नुको साटो घरमै पैसा राख्न थालेको देखिएको थियो । तर, लकडाउनको तेस्रो महिनामा आइपुग्दा बचत ०.२३ प्रतिशतले बढेको थियो । यसले मानिसहरू महामारीसँग आफूलाई ‘एडजस्ट’ गर्न थालेको देखिएको थियो ।

 

यसैगरी लकडाउन लगत्तै ऋण प्रवाहमा ०.१३ प्रतिशतको गिरावट आएको थियो । ऋण प्रवाह भने त्यसपछि पनि लगातार घटेको तथ्याङ्कले देखाएको छ । महामारीको कारणले लगानीको क्षेत्र खुम्चिएका कारण ऋण प्रवाहमा कमी आएको देखिएको थियो । यसका अलावा यो समयमा मानिसहरूले भएको ऋण समेत तिरेको देखिएको थियो ।

 

अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा भएको लकडाउनले लघुवित्त कम्पनीहरूको खराब कर्जा बढेको थियो । त्यो समयमा लघुवित्त कम्पनीहरूको खारब कर्जा २.३४ प्रतिशत पुगेको थियो । तर, त्यसपछि असोज महिनासम्म उठेको पैसालाई पनि अघिल्लो आर्थिक वर्षमै गणना गर्न पाउने भएका कारण खराब कर्जा घटिसकेको अनुमान स्वभावीक रूपमै गर्न सकिन्छ ।

 

अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अर्थात लकडाउन शुरू हुनु अघिसम्म लघुवित्त कम्पनीहरूको एकीकृत नाफा ५.५२ अर्ब रुपैयाँ थियो । तर, लकडाउन भएपछि एकीकृत नाफा निरन्तर घट्न थालेको थियो, प्रोभिजनमा राख्नु परेका कारण । लकडाउन आंशिक रूपमा खुल्न थाल्ने बित्तिकै एकिकृत नाफा बढ्न थालेको देखिन्छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म लघुवित्त कम्पनीहरूको एकीकृत नाफा फेरि ५.३५ अर्ब पुगिसकेको थियो ।

 

लकडाउनको समयमा घाटामा रहेका लघुवित्त कम्पनीहरूको संख्या २७ थियो भने आर्थिक वर्षको अन्त्यसम्म ९ वटा कम्पनीहरू मात्र घाटामा थिए ।

 

यसको मतलब महामारीको चरम समस्याको सामना गरेर लघुवित्त कम्पनीहरूले आफूलाई फेरि सहज अवस्थामा ल्याइसकेका थिए, अघिल्लो आर्थिक वर्ष । त्यसैले आगामी दिनहरूमा लघुवित्त कम्पनीहरूले पनि बैंकहरूले झैं रामै लाभांश घोषणा गर्ने अनुमान गर्न सकिन्छ ।

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी ६ कम्पनीका लगानीकर्ता भए मालामाल Read Previous

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी ६ कम्पनीका लगानीकर्ता भए मालामाल

हेटौंडा औद्योगिक क्षेत्रका ७५ प्रतिशत उद्योगमा अप्रमाणित ढकतराजु प्रयोग Read Next

हेटौंडा औद्योगिक क्षेत्रका ७५ प्रतिशत उद्योगमा अप्रमाणित ढकतराजु प्रयोग