काठमाडौं । सेयर बजार मापक सूचक नेप्सेमा सामान्य गिरावट आएको छ । बिहीबार सूचकमा झिनो गिरावट आएपनि कारोबार रकममा आकर्षक वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार कारोबार रकम २३ करोड रुपैयाँले बढेको छ।
तीन दिन बजार बढेको भएपनि यस साता समग्रमा बजार ६.०८ अंकले घटेको छ। नेप्से सूचक झिनो अंकले घटे पनि खरिदबिक्री माहोल भने बढेको छ । कारोबार रकम बढेकाले लगानीकर्ता विस्तारै आकर्षित हुन थालेको अनुमान गरिएको छ ।
बिहीबार नेप्से सूचक १.७४ अंकले घटेर १२६३.८४ विन्दुमा आइपुगेको छ । आज १६८ कम्पनीको ५९ करोड ५ लाख ८८ हजार २३९ रुपैयाँको कारोबार भएको छ । २० लाख ६० हजार ६७८ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कुल १२ वटा समूहको सेयर कारोबार ७ वटा समूहको सूचक घटेको छ भने ४ वटा समूहको सूचक बढेको छ । एउटा समूहको सूचकमा घटबढ केही भएन ।जीवन बिमा समूह सबैभन्दा धेरै २०.८७ अंकले बढेको छ भने होटल समूहको सूचक १२.३९ अंकले घटेको छ ।
कारोबार रकममा नेको इन्सुरेन्सको संस्थापक सेयरले अग्रता लिएको छ । यसको ७ करोड ४७ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो ।
यस दिन आठ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्था ९.९६, गरिमा विकास लघुवित्त वित्तीय संस्था ९.९२, स्वावलम्बन लघुवित्त वित्तीय संस्था ९.९१, नेपाल एग्रो लघवित्त वित्तीय संस्था ९.८९, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.८७ प्रतिशतले कमाए ।
त्यस्तै युनाइटेड इन्स्योरेन्स कम्पनी ४.४४, पोखरा फाइनान्स ३.५२, आइएमई जनरल इन्स्योरेन्स ३.५१, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.४५, गुह्येश्वरी मर्चेन्ट बैंक एउण्ड फाइनान्स कम्पनी ३.१० र पञ्चकन्या माई हाइड्रोपावर कम्पनीका शेयरधनीले २.८० प्रतिशतले गुमाए ।
