काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । बुधबार करिब साढे २ अंकले घटेको बजार आज पनि साढे ४ अंकले घटेको छ । यो साता मंगलबार बाहेक अन्य सबै दिनमा नेप्से घटेको छ ।
सूचकमा गिरावट आए पनि कारोबार रकम भने ह्वात्तै बढेको छ । हिजोको तुलनामा कारोबार रकम १ अर्ब १० करोड रुपैयाँले बढेको छ । घट्दो बजारमा मौका छोपी सस्तो सेयर उठाउने बढ्दा कारोबार रकममा बढोत्तरी आएको आँकलन गरिएको छ ।
सेयर बजार मापक सूचक नेप्से ४.५५ अंकले घटेर १६३६.०९ विन्दुमा पुगेको छ । यसदिन २०० कम्पनीको २ अर्ब ८४ करोड २४ लाख ९१ हजार १७६ रुपैयाँ बराबरको कारोबार भएको छ । ९१लाख २३ हजार ८९६ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये ४ समूहको परिसूचक उकालो लागेका छन् भने ८ समूहको परिसूचकमा गिरावट आएको छ । आज सबैभन्दा धेरै हाइड्रोपावर समूहको परिसूचक १३.९३ अंकले बढेको छ भने व्यापार समूहको परिसूचक १९.०३ अंकले घटेको छ ।
लगानीकर्ता फेरि हाइड्रोपावर कम्पनीको सेयरमा आकर्षित भएका छन् । दशैं लगत्तै बैंक, विकास बैंक र माइक्रोफाइनान्सको सेयरमा झुम्मिएका लगानीकर्ता ती क्षेत्रमा प्रफिट बुक गरेपछि फेरि हाइड्रोपावरको सेयरमा झुम्मिएका हुन् ।आज कारोबारमा आएका अधिकांश हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको छ ।
आज लगानीकर्ताको रोजाइमा प्राइम कमर्शियल बैंक परेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेपछि लगानीकर्ता यसको सेयरमा झुम्मिएका हुन् । आज यसको सबैभन्दा धेरै २० करोड ८४ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा अरुण काबेली पावर र एभरेष्ट बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
घट्दो बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सानिमा जनरल, रैराङ हाइड्रोपावर र गोर्खाज फाइनान्सकोका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
आज विशाल बजार कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ८.५० प्रतिशतले गुमाएका छन् ।