ए…जाबो अर्थशास्त्र पो पढ्या !

‘ज्ञान’ मानव जातिको चेतनालाई उच्चतम तहमा पुर्याउन आवश्यक पर्ने खुराक हो । ज्ञान अध्ययन, अनुसन्धान र मानव जाति कै भोगाइबाट प्राप्त हुने, परिष्कृत हुने र विकास पनि हुँदै जाने ‘उत्पादन’ पनि हो । समाजलाई गतिशील बनाउन र दिशानिर्देश गर्ने पनि ज्ञानले नै हने । ज्ञानकै माध्यमबाट ‘सत्य’को खोजी पनि हुने हो ।

 

समाजको परिवेश तथा विकासको चरणका आधारमा ज्ञान प्राप्तिको लक्ष्य र उद्देश्य पनि फेरिँदै जान्छ । त्यसै कारण ज्ञान प्राप्तिको औपचारिक संस्था र विधि–प्रक्रियाको पनि विकास भइरहेको छ ।

 

त्यसैकारण ज्ञान प्राप्त गर्नका लागि औपचारिक विषयहरूले व्यापकता पाउँदै गएका छन् । ज्ञान विषय केन्द्रित हुँदै गइरहेको छ । मानव जीवनका पाटाहरू र आयामहरू पनि व्यापक हुँदै जाँदा विषयहरू पनि त्यसै अनुरुप विस्तार भइरहेकै छन् ।

 

विषयको गहनता त्यसको प्रयोगको व्यापकताले पनि पुष्टि गर्दै जान्छ । जहाँ अर्थतन्त्र ज्यादा चलायमान छ, प्रत्येक दिन ठूलो कारोबार हुने गर्दछ र जोखिम पनि उत्तिकै हुन्छ, त्यहाँ स-साना सूचकहरूको पनि ठूलै महत्व हुन्छ । त्यस्तो समाजमा अर्थशास्त्र अध्ययनको महत्व धेरै हुन्छ ।

 

जति जति औपचारिक प्रवाहमा नयाँ–नयाँ विषयहरू आउँदै गएका छन् त्यति नै पुराना विषयहरूमा रुची वा चाख क्रमश घट्दै जान पनि थालेको छ ।

 

उदाहरणका लागि, एक अध्ययनले संसार भर पछिल्ला वर्षहरूमा गणित विषय अध्ययन गर्ने विद्यार्थीको संख्या प्रति वर्ष ३ प्रतिशतले घट्दै गइरहेको देखाएको छ ।

 

कुन विषय ‘राम्रो’ ?

 

कुनै पनि विषयहरू आफैंमा राम्रो वा नराम्रो भन्ने हुँदैन । समय र परिस्थति अनुसार निश्चित समयमा कुनै विषय बढी सान्दर्भिक लाग्न भने सक्छन् । विषयहरू आफैंमा उत्कृष्ट वा निकृष्ट भन्ने त कदापी हुदैंन । सबैको आ–आफ्नै महत्व र आवश्यकता हुन्छ ।

 

तर, पनि व्यहारिक ढंगले सोच्दै कुन विषय पढ्दा कस्तो खाले आर्थिकलगायत पाइन्छ वा पाइँदैन भन्ने आधारमा विषयलाइ उत्कृष्ट वा निकृष्ट भनेर घोषणै गर्दिने परिपाटी समाजमा नभएको होइन । यसैका आधारमा समाजले आफ्नो दृष्किोण बनाएको पनि देखिएकै छ ।

 

लेखक सापकोटा

यसका अलावा जनशक्ति कम भएको विषयको अध्ययनले बढी प्राथमिकता पाउने गरेको छ । समाजले यस्ता विषयहरूलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ । उदाहरणको लागि चार्टट अकाउन्टेन्टको कोर्सलाई नै दिन सकिन्छ । यसैगरी डाक्टर, इन्जिनीयर, पाइलट जस्ता प्राविधिक विषय अध्ययन गर्नेको संख्यामा पनि नेपालमा कम छ । नेपालमा प्राविधिक भन्दा गैर प्राविधिक विषय अध्ययन गर्ने जनशक्तिहरू अधिक छन् ।

 

त्यसैले स्वभाविक रूपमा कम उत्पादन हुने गरेका जनशक्तिको माग अधिक हुन्छ र बढी उत्पादन हुने गरेका जनशक्ति को माग कम हुन्छ । अर्थात, अर्थशास्त्रको नियम नै हो कि माग बढी हुँदा मूल्य बढ्छ र माग कम हुँदा मूल्य घट्छ ।

 

सामान्यत प्राविधिक विषयहरूको अध्ययन गर्न लागत पनि बढी लाग्ने हुनाले आम मानिसहरूको सहज पहुँच पुग्दैन । त्यसकारण पनि ती विषयहरू समाजका आर्थिक उपल्लो वर्गका सन्ततिहरूले अध्ययन गर्ने गर्दछन । समाजको सोपानतन्त्रमा उपल्लो दर्जामा रहेका मानिसहरूले पढ्ने भएका कारण पनि यस्ता प्राविधिक विषयहरूको ‘भाउ’ झनै उच्च हुने नै भयो । त्यसैले यसमा केही वर्गीय दृष्टिकोणको पनि उपस्थिति देखिन्छ ।

 

‘नराम्रा’ वा ‘सामान्य’ मानिने विषयहरू

 

शिक्षाशास्त्र, मानविकी तथा व्यवस्थापन जस्ता संकाय अध्ययन गर्नेलाई समाजमा प्राविधिक भन्दा कम महत्व दिने गरेको देखिन्छ । उदाहरणको लागि केही समय अघि त्रिभुवन विश्वविद्यालयको इतिहासको केन्द्रीय विभागमा एकजना पनि विद्यार्थी भर्ना हुन नआएको भनेर समाचारहरू बाहिर आएका थिए ।

 

यी संकायबाट अधिक विद्यार्थी उत्पादन हुनु, अध्ययन लागत कम हुनु, तुलनात्मक रूपमा कम ग्रेड ल्याएका विद्यार्थीहरूले सहज प्रवेश पाउनु जस्ता कारणले यस्ता विषयको महत्व कम आँकिएको हुन सक्छ । तर, त्यसो भन्दैमा यी विषयहरू ‘जाबो’ चाहिँ कदापी होइनन ।

 

यस्ता विषयहरूले वैचारिक र सैद्धान्तिक नेतृत्व नदिने हो भने प्राविधिक विषयहरू कुन बाटोमा हिँड्ने भन्ने मेसो नै पाउँदैनन् । राजनीतिमा एउटा भनाई निकै चल्तीमा छ, ‘सिद्धान्त बिनाको व्यवहार अन्धो हुन्छ भने व्यवहार बिनाको सिद्धान्त लङ्गडो हुन्छ ।’

 

अब हामी इतिहासको अध्ययन बिनै वर्तमानको जटिलता चिरेर इन्जिनीयरहरूको भरमा मात्र देश ‘विकास’ गर्न तम्सिन्छौं भने त कुरा अर्कै हो । इतिहास पढ्ने विद्याथी शून्य भएको ठाउँमा विकासको गति र दिशा कस्तो हुँदोरहेछ भनेर हामीले देखिरहेकै छौं ।

 

अर्को एउटा व्यवहारिक सत्य के पनि हो भने हरेक मानिस आफूले अध्ययन गरेको विषय संसारको सबैभन्दा उत्कृष्ट विषय हो भनेर भन्छ र प्रमाणित गर्ने कोशिस पनि गर्छ । एक पटक स्नातकोत्तर तह ग्रामीण विकास विषय अध्ययन गर्ने ‘सिनियर’ ले जुनियरलाई आफ्नो विषय उत्कृष्ट हुनुको प्रमाण यसरी पेश गर्दै थिए की ग्रामिण विकास भनेको गाँउको समग्र अध्ययन गर्ने एकमात्र विषय हो ।

 

अर्थात, एउटा गाँउमा सानो बजार हुने हुनाले त्यहाँ अर्थशास्त्रको अध्ययन हुन्छ । भुगोल हुने हुनाले भूगोलको पनि अध्ययन हुन्छ । सामाजिक सम्बन्धहरू हुने हुनाले समाजशास्त्र त झन् नहुने कुरै भएन । त्यसैले उनले अध्ययन गरेको विषय अर्थशास्त्र, समाजशास्त्र, भूगोल इत्यादी सबै विषयको गुह्य कुराहरू सम्मिलित उत्कृष्ट विषय हो भन्ने उनको दलिल थियो ।

 

कुरा अर्थशास्त्रको

 

विषयको गहनता त्यसको प्रयोगको व्यापकताले पनि पुष्टि गर्दै जान्छ । जहाँ अर्थतन्त्र ज्यादा चलायमान छ, प्रत्येक दिन ठूलो कारोबार हुने गर्दछ र जोखिम पनि उत्तिकै हुन्छ, त्यहाँ स–साना सूचकहरूको पनि ठूलै महत्व हुन्छ । त्यस्तो समाजमा अर्थशास्त्र अध्ययनको महत्व धेरै हुन्छ ।

 

अर्थशास्त्र सामाजिक विज्ञान भएको हुनाले यसले समाजका विभिन्न तह र तप्कामा रहेका व्यक्तिको आर्थिक गतिविधिको अध्ययन गर्छ । यसले सामान्य मानिसहरूलाई छुन्छ । तर, नेपालमा सबैलाई सामान्य हुन भन्दा पनि विशिष्ट हुन रहर लाग्ने हुनाले सामान्य मानिसहरूको आर्थिक गतिविधिको समेत अध्ययन गर्ने यो विषय अन्य प्राविधिक विषयहरूको तुलनामा ‘सामान्य’ विषय नै मानिन्छ ।

 

माथि उल्लेख गरिएका विविध व्यवहारिक कारणहरू, वर्गीय दृष्टिकोणहरूका कारण यो विषय पनि पुर्वाग्रहकै शिकार बनिरहेको छ । संसारकै प्रतिष्ठित पुरस्कार नोबल पुरस्कार समेत यो विधामा दिने गरिएको छ । तर, नेपालमा भने प्रमुख छापाहरूको मुख्य पृष्ठमा अर्थतन्त्र सम्बद्ध समाचाहरू बिरलै आउँछन् । यो बिट हेर्ने पत्रकारहरू मूलधारका परित्रकाको प्रधान सम्पादक बन्न सक्ने अवस्था पनि अझै आइसकेको छैन ।

 

त्यसैले देशमा उन्नत स्तरका अर्थशास्त्रीहरूको उत्पादन हुन सकिरहेको छैन । अर्थशास्त्र सम्बद्ध मौलिक ज्ञानको पनि उत्पादन नेपालमा हुन सकेको छैन ।

 

विद्यालय शिक्षामा कमजोर विद्यार्थीहरूले मात्र अर्थशास्त्र पढछन् भन्ने मान्यता जकडिएर बसेको छ । त्यसैको गहिरो छाप मानसपटलमा अझै रहिरहेको छ । त्यसैले पनि हुन सक्छ अर्थशास्त्र पढेको भन्नासाथ ‘ए, जाबो अर्थशास्त्र पो पढ्या !’ भन्ने गरिन्छ ।

सिटिजन्स बैंकको लाभांश संशोधन, बोनस बढ्यो नगद घट्यो Read Previous

सिटिजन्स बैंकको लाभांश संशोधन, बोनस बढ्यो नगद घट्यो

घुम्दैफिर्दै हाइड्रोमा फर्किए लगानीकर्ता Read Next

घुम्दैफिर्दै हाइड्रोमा फर्किए लगानीकर्ता