काठमाडौं । अब बीमा कम्पनीहरुले कोरोना बीमा दाबी भुक्तानी ७ दिनभित्रै गर्नु पर्ने भएको छ । पछिल्लो समय बीमा कम्पनीहरुले दाबी भुक्तानीमा ढिलाइ गरेको गुनासो बढेसँगै अर्थ मन्त्रालयको निर्देशन अनुसार बीमा समितिले बीमा कम्पनीहरुलाई ७ दिन भित्रै भुक्तानी दिन निर्देशन दिएको हो ।
अर्थमन्त्रालयमा मंगलबार बसेको मन्त्रीस्तिरीय बैठकले सो निर्णय गरेको हो । दाबी भुक्तानीमा बीमा समितिले समन्वय र अनुगमन गरी भुक्तानीको दैनिक विवरण अर्थ मन्त्रालयमा पठाउने निर्णय वैठकले गरेको छ ।
बीमा समितिबाट जारी गरिएको बीमालेख बमोजिम कोरोना बीमा दाबी गरेका बीमितहरुको पीसीआर परीक्षण प्रतिवेदन पोजेटिभ प्रमाणित भएको अवस्थामा बीमालेख बमोजिम प्रदान गरिने बीमांक रकम दाबी परेका सबै बीमितलाई एक हप्ता भित्र भुक्तानी गर्ने व्यवस्था गर्न भन्दै समितिले कम्पनीलाई निर्देशन दिएको छ ।
सेवाग्राहीबाट आएका गुनासा सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीलाई निर्देशन दिन र हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्चालन गर्ने व्यवस्था बीमा समितिले तत्काल मिलाउने निर्णय पनि अर्थमन्त्रालयले गरेको छ ।
गत बैशाख देखि शुरु गरिएको कोरोना बीमामा गत सातासम्म परेका मध्ये ९० प्रतिशत दाबीले भुक्तानी पाएका छैनन ।
कारोना बीमा मापदण्ड २०७७ मा आवश्यक कागजात पुगेका बिमितले बढिमा सात दिन भित्र भुक्तानी पाइसक्नु पर्ने प्रावधान छ । तर, बीमा कम्पनीहरुले भुक्तानी दिएका छैनन ।
गत सातासम्म १३ हजार ३५३ वटा दाबी परेको छ । जसमध्ये १ हजार ४४१ वटा दाबी मात्र भुक्तानी भएको छ ।गत सातासम्म बीमा कम्पनीले कुल १ लाख ८१ हजार ७९५ वटा बीमालेख विक्री गरेका छन् । ती बीमालेख मार्फत १७ लाख ७० हजार ९२६ जनाको कोरोना बीमा भएको छ ।
ती बीमालेख मार्फत बीमा कम्पनीहरुले १ अर्ब १ करोड ९१ लाख ७४ हजार ६८२ रुपैयाँ प्रिमियम संकलन गरिसकेका छन् ।