यस वर्ष तिहारको लागि भारतबाट फूल नल्याइने, मालाको भाउ महँगिने

काठमाडौं । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी देश भारतबाट फूल आयात नहुने भएको छ ।

 

गएको वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक नहुने बताइएको छ ।

 

तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । गएको वर्षको तिहारमा २५ लाख माला खपत हुँदा ३ लाख माला भारतबाट ल्याइएको थियो ।

 

बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी देश भारतबाट फूल आयात नहुने भएको हो ।

 

विश्वभरि फैलिएको कोरोना भाइरसका कारण यसअघि फूलले बजार नपाए पनि तिहारमा भने स्वदेशी उत्पादनले नै धान्ने छ । स्थानीय फूल फुलिरहेका छन् ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ । व्यवसायीहरुले यस वर्षको पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाएका हुनाले उत्पादन राम्रो रहेको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताए ।

 

अघिल्ला वर्षको तुलनामा यस वर्षको तिहारमा उपभोक्ताले केही बढी मूल्य तिर्नुपर्छ । एउटा सयपत्री मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म तिर्नुपर्ने देखिन्छ ।

 

गत वर्ष ५० देखि ६० रुपैयाँ बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको एशोसिएशनलेका अध्यक्ष श्रेष्ठले बताए । प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरको छ ।

 

विगतका वर्षमा तिहारमा मात्रै १५ करोड रुपैयाँको फूल कारोवार हुने गरेको थियो । श्रेष्ठले भने, ‘यस वर्ष भने बजारमा माग कमी भएकाले कारोवारमा केही कमी हुन्छ ।’

 

अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थालेकाले पाँच प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यसअघिका वर्षमा करिब १० प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।

 

यस वर्ष समय समयमा पानी परिरहेकाले काठमाण्डौ उपत्यकाका तीन जिल्लासहित तराईका केही जिल्लामा फूलको राम्रो उत्पादन भएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि काठमाण्डौ उपत्यकामा नै सबैभन्दा बढी ६० प्रतिशत मालाको माग छ ।

 

अघिल्ला वर्षको तुलनामा कारोवारमा कमी

 

यस वर्ष फूलको कारोबारमा कमी आउने पक्का भएको छ । कोरोनाका कारण गत चैतदेखि असारसम्म फूलको कारोबार शून्य रहेको र पछिल्लो समय नगन्य मात्रामा कारोवार भएकाले अपेक्षाअनुरुप कारोवार नहुने भएको हो ।

 

अघिल्ला वर्षमा २ अर्ब ४२ करोडको फूलको कारोवार हुने गरेको थियो । चालू आवमा रु तीन अर्ब फूलको कारोवार हुने अनुमान गरे पनि कारोनाका कारण बजारमा चहलपहल नहुँदा अनुमानभन्दा कम हुने निश्चित छ ।

 

तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वार्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । यसअघि कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ ।

 

तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ । अष्ट्रेलिया र मलेशियामा धेरै नेपालीले बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताए ।

 

नेपालमा व्यावसायिकरूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । यहाँ लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सातसय व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

 

नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै फस्टाउँदै गएको छ । काठमाडौं उपत्यकामा मात्रै तीन सय व्यवसायीले यसको खेती विस्तार गरिसकेका छन् । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६ सय ७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।

सानिमा बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

सानिमा बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

मध्यपहाडी लोकमार्गमा १० आधुनिक शहर निर्माणलाई तीव्रता दिइने Read Next

मध्यपहाडी लोकमार्गमा १० आधुनिक शहर निर्माणलाई तीव्रता दिइने