कोरोनाका बीच नेपालमा उद्योग खोल्न विदेशी लगानीकर्ता आकर्षित, १९ अर्ब लगानीको प्रस्ताव

काठमाडौं । कोरोना महामारीका बीच नेपालमा नयाँ उद्योग खोल्न विदेशी लगानीकर्ता उत्साहित देखिएका छन् । कोरोनाले सम्पूण आर्थिक गतिविधि चलायमान हुन नसके पनि विदेशी लगानीका नयाँ उद्योग दर्ता हुने क्रम भने सामान्य अवस्थाकै जस्तो देखिएको छ ।

 

चालू आर्थिक वर्ष २०७७/७८ को ३ महिनामै विदेशी लगानीका कुल ८९ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्यांक अनुसार असोज मसान्तसम्म दर्ता भएका ती उद्योगमा १९ अर्ब १५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

 

यो रकममा आधारमा गत आवको भन्दा करिब १० करोड रुपैयाँ मात्र कम हो भने उद्योग संख्याका आधारमा एउटा मात्र कम हो । गत आवको सोही अवधिमा १९ अर्ब २५ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको थियो भने ८८ वटा उद्योग दर्ता भएका थिए ।

 

कोरोना महामारीका बीच पनि सामान्य अवस्थाकै हाराहारीमा वैदेशिक लगानी प्रस्ताव आउनु अर्थतन्त्रका लागि सकारात्मक संकेत रहेको अर्थविद्हरु बताउँछन् । कोरोनाले पूरै अर्थतन्त्र नै शिथिल भएको अवस्थामा पनि विदेशी लगानीकर्ताको आकर्षण रहनुले देशको औद्योगिक वातावरण राम्रो रहेका जनाउने उनीहरुको भनाइ छ ।

 

उद्योग विभागका सूचना अधिकारी विनोद कुमार खड्काले पछिल्लो समय हाइड्रोपावर र पर्यटन क्षेत्र तर्फ लगानीकर्ता बढी आकर्षण भएको बताए । लगानी सम्मेलन पछि पनि लगानीकर्ताहरुसँग निरन्तर सम्पर्क भइरहेकाले कोभिडका बीच समेत वैदेशिक लगानी प्रतिबद्धता निरन्तर आइरहेको उनले बताए । ‘लगानी विगतको तुलनामा केही बढेकै हो, विशेष गरी हाइड्रोपावरमा बढी लगानी आएको हो, पर्यटन तर्फ चासो देखाउने झनै धेरै छन्, यस्तो अवस्थामा पनि लगानी गर्न खोज्नु सकारात्मक हो,’ उनले चाणक्य पोष्टसँग भने ।

तीन महनिाको अवधिमा सबैभन्दा धेरै पर्यटन क्षेत्रमा वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यस क्षेत्रमा १३ अर्ब ८० करोड रुपैयाँ लगानी हुने गरी ५८ वटा नयाँ उद्योग दर्ता भएका छन् । ती उद्योगहरु सञ्चालनमा आएपछि १ हजार ५९२ जनाले रोजपारी पाउने विभागले जनाएको छ ।

 

यस्तै, सेवामूलक क्षेत्रमा २५ नयाँ उद्योगका लागि वैदेशिक गानी प्रतिबद्धता आएको छ । यस क्षेत्रमा कुल ४ अर्ब ५० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको हो । ती उद्योग सञ्चालनमा आएपछि १ हजार ३४ ले रोजगारी पाउने छन् ।

 

कृषि, प्रविधि र उत्पादनमूलक क्षेत्रमा भने तुलनात्मक रुपमा न्यून लगानी प्रतिबद्धता आएको छ । सबैभन्दा कम कृषि क्षेत्रमा प्रतिबद्धता आएको हो । कृषि क्षेत्रमा एउटा मात्र उद्योगका लागि लगानी प्रस्ताव आएको छ । कृषिमा ३५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।

 

यस्तै, उत्पादनमूलक क्षेत्रमा २ वटा नयाँ उद्योग दर्ता भएका छन् । ती उद्योगहरुका लागि २० करोड लगानी प्रतिबद्धता आएको हो । उक्त उद्योग सञ्चालन पछि ४५ ले रोजगार पाउने छन् । सूचना प्रविधि क्षेत्रमा ३ नयाँ उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । ३ उद्योगका लागि ३० करोड लगानी प्रतिबद्धता आएको हो ।

 

कुन देशबाट कति लगानी प्रस्ताव

 

चालू आर्थिक वर्षमा सबैभन्दा बढी लगानी प्रतिबद्धता चीनबाट आएको छ । चीनबाट ८३ उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो । ८३ नयाँ उद्योगहरुका लागि १५ अर्ब ८५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।

 

भारतर बेलायतबाट २÷२ नयाँ उद्योग सञ्चालनका लागि लगानी प्रस्ताव आएको छ । मेक्सीको र भर्जिन आइल्याण्डबाट १÷१ वटा नयाँ उद्योग सञ्चालनका लागि लगानी प्रतिबद्धता आएको हो । भारतले २ नयाँ उद्योग सञ्चालनका लागि १५ करोड रुपैयाँ लगानी प्रतिबद्धता गरेको छ । बेलायतले २ उद्योगका लागि १० करोड लगानी प्रतिबद्धता गरेको छ ।

 

यस्तै, मेक्सीकोले एउटा उद्योग सञ्चालनका लागि ५ करोड लगानी प्रतिबद्धता गरेको छ भने भर्जिन आइल्याण्डले ३ अर्ब लगानी प्रस्ताव गरेको छ ।

 

असोज महिनामा मात्र कुल ४४ नयाँ उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । सो उद्योग सञ्चालनका लागि ११ अर्ब ७५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको हो । उक्त उद्योगहरु सञ्चालनमा आए १ हजार ६ सय २८ ले रोजगार पाउने अनुमान गरिएको छ ।

सेयर बजारमा दशैंको रौनक छाउँदै, तीन दिनमै नेप्से ४१ अंकले बढ्यो Read Previous

सेयर बजारमा दशैंको रौनक छाउँदै, तीन दिनमै नेप्से ४१ अंकले बढ्यो

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी दर्ता Read Next

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी दर्ता