काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन दोहोरो अंकको वृद्धि भएको छ । यो साता सोमबारदेखि उकालो लागेको बजार पछिल्लो तीन दिनमै करिब ४१ अंकले बढेको छ ।
आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ३५अर्ब रुपैयाँले बढेको छ ।आज कारोबार भएको सेयरको पैसा दशैंपछि भुक्तानी गरे हुने भएपछि दशैंपछि लगानीकर्ता सेयर किन्न उत्साहित हुँदा कारोबार बढेको हो ।
सेयर बजार मापक सूचक नेप्से १३.३९ अंकले बढेर १५९७.१२ विन्दुमा पुगेको छ । यसदिन १९२ कम्पनीको १ अर्ब ६३ करोड ३२ करोड ४६ हजार १४८ रुपैयाँ बराबरको कारोबार भएको छ । ५५ लाख ९ हजार ४४८ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये ८ समूहको परिसूचक हरियो भएका छन् भने ४ समूहको परिसूचक ओरालो लागेका छन् । आज सबैभन्दा धेरै निर्जीवन बीमा समूहको परिसूचक ६४.२८ अंकले बढेको छ भने होटल समूहको १५.०४ अंकले घटेको छ ।
आज लगानीकर्ता एनआइसी एशिया बैंकको सेयरमा झुम्मिएका छन् । गत वर्षको नाफाबाट २० प्रतिशत लाभांश घोषणा गरेको बैंकको सेयर किन्न लगानीकर्ता आकर्षित भएका हुन् । यसको सबैभन्दा धेरै २४ करोड २९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा अकुमारी र नेपाल बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
आज जनरल इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । आज नेपाल फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.०५ प्रतिशतले गुमाएका छन् ।