काठमाडौं। बैंक अफ काठमाण्डूले दशैंको अवसरमा ‘तीनमा तीन सय’ नगद उपहार योजना ल्याएको छ। दशैंको उपलक्ष्यमा बैंकले आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्तालाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने गरी उपहार योजना ल्याएको हो।
दशैंमा साधारणतया आफ्ना मान्यजनबाट आशिर्वाद लिई दक्षिणा स्वरुप पैसा लिनेदिने चलन छ। व्यक्तिगत दूरी कायम राख्न सहयोग पुग्ने हेतुले बैंकले ‘तीनमा तीन सय’ नगद उपहार योजना ल्याएको बैंकले जनाएको छ ।
बैंकको ग्राहकले तीन पटक भिन्न भिन्न व्यक्तिलाई बैंकको मोबाइल बैंकिङ प्रयोग गरी दक्षिणा प्रदान गर्दा १ हजार रुपैयाँ वा त्यसभन्दा बढी भएमा ३०० रुपैयाँ नगद उपहार प्राप्त हुनेछ।
यसका लागि ग्राहकले बीओकेको मोबाइल बैंकिङको प्रयोग गरी कम्तिमा ३ पटक रकमान्तर गर्नु पर्नेछ। रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्ति फरक फरक हुनु पर्नेछ।
ग्राहकले दक्षिणा दिँदा बैंकको मोबाइल बैंकिङमा भएको फोन पेमार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणास्वरुप रकमान्तर गर्नु पर्नेछ। दक्षिणा कारोबारको विवरणमा ‘दक्षिणा’ राख्नु पर्नेछ। क्यासब्याक पाउन विजया दशमीको दिनबाट रकमान्तर गर्नुपर्ने बैंकले जनाएको छ।