अब विद्युतीय गाडीको ‘रोड ओपिनियन टेस्ट’ उपकरण मार्फत गरिने

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढीरहँदा भेहिकल फिटनेस टेस्ट सेन्टर (भीएफटीसी) ले उपकरणको प्रयोग गरी सवारीसाधन सडकमा गुड्नका लागि उपयुक्त हो होइन भनी जाँच गर्ने भएको छ ।

 

अहिलेसम्म मानिसलेनै यसको परीक्षण गर्दै आएको सेन्टरले जनाएको छ । मान्छेले हेरेर गरिने परीक्षण भरपर्दो नहुने भएकाले वैज्ञानिक रुपमा परीक्षण गर्न खोजिएको सेन्टरका प्रमुख मणीराम भुषालले बताए।

 

उनका अनुसार भन्सारबाट आएका विद्युतीय सवारी साधन पहिले बाटोमा चलाउन मिल्ने भनी सेन्टरले प्रमाणित गरेपछि मात्रै यातायात व्यवस्था कार्यालयमा दर्ता हुने गर्छ । अहिलेसम्म ह्वाइट गुम्बालगायतका काठमाडौँ उपत्यकाका डाँडामा पुगेर कति उकालोसम्म जान सक्छ भनी जाँच हुने गरेको थियो ।

 

विद्युतीय साधनको परीक्षणका लागि अहिले उपकरण किन्न प्रक्रिया अघि बढाइएको उनले बताए । उनले भने, ‘त्यो उपकरणमा सवारी साधन राखेपछि आवश्यक जाँच गरी विवरण कम्प्युटरमा नै उपलब्ध हुनेछ ।’

 

सवारीसाधनको वास्तविक अवस्था थाहा पाउन र परीक्षणका क्रममा हुनसक्ने गल्ती कम गर्न उपकरण खरिद गर्न लागिएको प्रमुख भुषालले बताए । उपकरणले इञ्जिनको शक्ति र कति उकालो चढ्न सक्ने भन्ने जानकारी उपलब्ध गराउनेछ ।

 

विद्युतीय मात्रै नभएर भन्सारबाट भित्रने विद्युतीय वा पेट्रोलियम दुबैबाट चल्ने सवारीसाधनको ‘रोड ओपिनियन टेस्ट’ उपकरणमार्फत नै गर्ने सेन्टरको तयारी छ ।

 

उनले भने, ‘हामीले विभागसँग सल्लाह गरेर खरिद प्रक्रिया अघि बढाएका छौँ ।’ सेन्टरले अन्तर प्रदेश चल्ने सवारीसाधनको जाँच पास, रुट अनुमतिपत्र वितरण, प्रदुषण जाँच र स्तर कायम गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकको २ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा Read Previous

ग्लोबल आइएमई बैंकको २ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

एनआइबीएल एस क्यापिटलले २२.२२ प्रतिशत लाभांश दिने Read Next

एनआइबीएल एस क्यापिटलले २२.२२ प्रतिशत लाभांश दिने