काठमाडौं । असोज ७ गतेदेखि रसुवागढी नाका खुला भए पनि चीनले नेपालीलाई केरुङ नाकामा प्रवेश गर्न नदिँदा व्यापारीहरु महँगो भाडा तिर्न बाध्य भएका छन् ।
नेपालीले प्रवेश नपाएपछि केरुङदेखि रसुवागढीसम्म चिनियाँ एजेन्टले नै अस्वभाविक ढुवानी भाडा लिएर सामान ढुवानी गर्न थालेपछि नेपाली व्यापारी मारमा परेका हुन् ।
केरुङदेखि रसुवागढीसम्मको २६ किलोमिटर दूरीसम्म चिनियाँ व्यवसायीहरू आफैले सामान ओसारपसार गर्ने गरेका छन् । सो खण्डमा चिनियाँहरूले बढी रकम लिने गरेको व्यवसायीहरूको गुनासो रहेको छ । २६ किलोमिटर सडकमा सामान ढुवानी गरेको ९ लाख रुपैयाँसम्म तिर्नु परेको व्यवसायी बताउँछन् ।
विगतमा साढे २ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँ खर्चमा कन्टेनरहरू काठमाडौं आइपुग्थे भने अहिले व्यापारीहरुले केरुङदेखि रसुवागढीसम्मको २६ किमीको भाडा मात्रै ९ लाखदेखि १२ लाखसम्म तिर्नुपर्ने बाध्यता रहेको छ ।
असनका एक चिनियाँ सामान व्यापारीले भने ‘हामीले एउटा कन्टेनर भित्र्याएको ९ लाख रुपैयाँसम्म तिर्नु परेको छ, उनीहरूले हाम्रो कोही पनि एजेन्टलाई केरुङ प्रवेश गर्न दिएका छैनन् ।’
हिमालयन सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल केरुङ प्रवेश गर्न नेपालीहरूलाई निषेध गरिएको बताउँछन् । एउटा कन्टेनर चीनको केरुङ नाकाबाट रसुवागढीसम्म ल्याउँदा चिनियाँहरूले ५० हजार देखि ५० हजार चिनियाँ रकम लिने गरेको बताए । सो काम नेपालको ९ लाख रुपैयाँदेखि १२ लाख रुपैयाँ पर्न जाने उनको भनाइ रहेको छ ।
परराष्ट्र मन्त्रालयलाई ध्यानकर्षण गराए पनि यस विषयमा कसैले चासो नदेखाएको उनको आरोप रहेको छ । विगतमा साढे २ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँ खर्चमा कन्टेनरहरू काठमाडौं आइपुग्थे भने अहिले व्यवसायीहरूले ठूलो घाटा बेहोर्नु परिरहेको छ ।
‘चिनियाँहरूले ढुवानीमा ९ लाखदेखि १२ लाख रुपैयाँसम्म पैसा डिमान्ड गर्ने गरेका छन्, व्यवसायी आफै केरुङसम्म पुग्न नसक्दा ठूलो घाटा भइरहेको छ,’ पौडेलले चाणक्य पोष्टसँग भने ।
शुरूमा नाका खुल्दा ७ देखि ८ हजार चिनियाँ रकम तिरे पुग्ने भए पनि केही व्यापारीहरूका कारण चिनियाँहरूले सबैसँग बढी रकम माग गर्ने गरेको उनले स्वीकारे । सो काम ढेड लाख रुपैयाँ हाराहारी हुन आउँथ्यो ।
उनले केही व्यवसायीहरूले आफ्नो सामान पहिला ल्याउनका लागि बढी रकम दिने गर्दा उनीहरूले बढी रकम माग गर्न थालेको हुन सक्ने बताए ।
‘हाम्रा व्यापारीहरूको पनि केही गल्ती छन्, आफ्नो सामान छिटो ल्याउन बढी रकम दिन थालेपछि उनीहरूले झनै बढी रकम माग गर्न थालेका हुन,’ पौडेलले भने ‘हाम्रो तर्फबाट नेपालीको पक्षमा बोल्ने कोही भएनन् । यता भनेर मात्र हुन्न जे गर्नुछ चीनकै तर्फबाट गर्नु पर्ने हो ।’
रसुवागढी भन्सार कार्यालय प्रमुख पूण्यविक्रम घिमिरेका अनुसार सो खण्डको ढुवानी शुल्क ५० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म राख्ने समझदारी भएको छ ।
ढुवानीका क्रममा व्यवसायीहरूले आफै बार्गेनिङ गरेर छिटो सामान ल्याउन बढी पैसा दिने गरेको हुन सक्ने उनले बताए । ‘हामीले ५०देखि ६० हजार ढुवानी शुल्क दिएर कन्टेनर रसुवागढीसम्म ल्याउने भनेका छौँ, शुरूमा त्यही मूल्यमा सामानहरू आएका थिए, पछिल्लो समय व्यवसायी र चिनियाँ ऐजेन्टहरू आफै सम्पर्क गरेर सामान ल्याउन थालेका छन्,’ उनले चाणक्य पोष्टसँग भने । ‘ व्यवसायीहरू आफ्नो सामान क्यूमा हुँदा हुँदै छिट्टै ल्याउन चिनियाँहरूलाई पैसा बढी दिने होडबाजीमा यो सब भएको हो, उनीहरूले क्यूमा पर्खेर ल्याउने हो भने बार्गिनीङ गरिराख्नै पर्दैन थियो ।’
चिनियाँहरूले बढी रकम लिएको भनेर गुनासो समेत गरिएको उनले बताए । चिनियाँ तर्फ आरोप लगाउदा उनीहरूले सबुत र प्रमाण माग्ने हुँदा उक्त प्रमाण बिना केही गर्न नसकिने उनले बताए ।
‘व्यवसायीहरू आफै बढी पैसा दिएर ल्याउछन्, भन्सारबाट ट्याक्स तिरेको भए प्रमाण हुन्थ्यो यसको कुनै प्रमाण छैन । प्रमाण बिना हामीले केही गर्न सक्दैनौँ,’ उनले भने ‘खै नत्र कस्ले त्यत्रो रकम तिर्नु पर्याे प्रमाण देखाउनु हामी जे सक्छौँ, त्यो गरेर देखाउछौं ।’
नाकाबाट सामान ल्याउने ३३ एजेन्ट रहेका छन् । उनीहरूलाई सोध्दा कुनै कुरा थाहा नभएको जवाफ आएको उनले बताए । उनले व्यवसायीले धेरै रकम तिरेर ल्याउदा उपभोक्ता मारमा पर्ने बताए ।
‘धेरै रकम तिरेर ल्याउने भन्दा बरु सरकारलाई दबाद दिने काम गर्नुस, बढी रकम हालेपछि सामान छिटै आउछ भन्दै चिनियाँलाई प्रलोभन देखाउनाले उनिहरूले बढी रकम माग गर्ने गरेका होलान,’ उनले भने ‘एउटाले यति बढी दिन्छु अर्कोले त्यति बढी दिन्छु मेरो सामान ल्याइदे भनेरै कुरा बिग्रिन्छ ।’
पछिल्लो समय दैनिक चीनबाट ४ देखि ५ वटा कन्टेनर नेपाल तर्फ प्रवेश गर्ने गरेको छ । रसुवागढी नाका बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्मका लागि खुल्ला गरिने गरेको छ । रसुवागढी नाकामा झण्डै १२ सय कन्टेनर अझै आउन बाँकी रहेका छन् । बाँकी रहेका मध्ये सबैभन्दा धेरै लत्ता कपडा तथा उपभोग्य वस्तु रहेको भनसारले जनाएको छ ।
घिमिरेले अब फेरि नाका बन्द गर्न नदिइने बताए । नाकामा रहेका मानिसहरूमा कोभिड देखिएमा बन्द गर्नु पर्ने हुन सक्ने चिनियाँहरूको भनाई छ । नेपाल तर्फबाट अब कुनै हालतमा बन्द नगर्ने र पिसिआर गरेर भए पनि नाकालाई सुचारु राखिने बताएका छन् ।
तातोपानी भन्सार नाका हालसम्म खुल्न सकेको छैन । सो नाका खुल्ला गर्नका लागि गृहकार्य भइरहेको वाणिज्य आपूर्ती तथा उपभोक्ता मन्त्रालयले जनाएको छ ।उनले तातोपानी नाका दशैँ लगतै खुल्ने सक्ने बताए । तातो पानी नाकामा डेढ सय कन्टेनर रोकिएका छन् ।
रसुवागढी भन्सार प्रमुख पूण्यविक्रम घिमिरेका अनुसार बीचमा असार २२ गतेबाट भन्सार खुल्दा दैनिक ४ वटा कन्टेनर नेपाल भित्राइएको थियो । फेरि त्यसपछि भदौ १७ बाट रसुवागढी नाका बन्द गरिएको थियो ।
रसुवागढी भन्सार २०७६ को माघ १५ गतेदेखि बन्द अवस्थामा रहेको थियो । बीचमा २०७७ असार २२ गतेबाट खुल्ला गरिएको थियो । त्यस अवधिमा चीनबाट सामान ओसारपसार गर्ने एक नेपालीमा कोभिड १९ देखिएपछि फेरि भदौ १७ गतेबाट रसुवागढी नाका पूनः बन्द गरिएको थियो । भदौ १७ गतेदेखि बन्द अवस्थामा रहेको रसुवागढी भन्सार नाका २२ दिन पछि फेरि असोज ७ गतेबाट खुल्ला गरिएको थियो ।