काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप १ बाट पीडित बालकलाई आर्थिक सहयो गरेको छ ।
क्लासिकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्पाइनल मस्कुलरबाट पीडित १३ महिने बालिका सियोना श्रेष्ठको उपचारको लागि १० लाख रुपैयाँ सहयोग गरेको हो ।
श्रेष्ठको उपचारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गरेको कम्पनीले जनाएको छ । कम्पनीले उनको उपचारका लागि स्थापना गरिएको बैंक खातामा सीधै अनलाइन पेमेन्टमार्फत रकम प्रदान गरेको हो ।
सियोना श्रेष्ठको उपचारका लागि क्लासिक टेक र क्लासिक टेकका सम्पूर्ण कर्मचारीहरुले समेत आफूले सक्दो सहयोग प्रदान गरेका छन् ।
क्लासिक टेकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत हरेक वर्ष विभिन्न कार्यक्रमका साथ रक्तदान कार्यक्रम समेत आयोजना गर्दै आएको छ । यसअघि पनि ब्लड क्यान्सरबाट पीडित एक बालकको उपचारको लागि क्यान्सर अस्पताल हरिसिद्धिमा लगेर सम्पूर्ण खर्चसहित उपचार गराएको थियो । त्यसैगरी ती बालकको लागि थप सहयोग समेत जुटाएको थियो । यस पटक पनि कम्पनीले सामाजिक कार्यलाई निरन्तरता दिँदै सियोना श्रेष्ठको उपचारको लागि रकम सहयोग गरेको हो ।
सियोनाको उपचारको लागि २० करोड रकम खर्च हुने अनुमानका साथ उनका आमा बुबाले विभिन्न फण्डिंगमार्फत रकम संकलन गरिरहेका छन् । यसको लागि गोफण्डमी डट कम मार्फत रकम संकलन भईरहेको छ भने सीधै उनको नाममा खोलिएको बैंक खातामा समेत रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ ।
यसका साथै उनलाई आर्थिक सहयोग गर्न चाहनेले ईसेवाबाट समेत रकम पठाउन सक्नेछन् । सहयोग रकम कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर विनय अधिकारीले हस्तान्तरण गरेका हुन् ।
‘२० करोड सहयोगमा यो हाम्रो सानो रकमको सहयोग हो तर तपाईँ हाम्रो सानो सानो सहयोगले नानीको जीवन बचाउन सक्छ । हामीले हरेक वर्ष सामाजिक कार्यलाई अगाडि बढाइरहेका छौं,’ अधिकारीले भने, ‘गत वर्ष क्यान्सर पीडित बालकलाई सहयोग गरेका थियौं भने यो वर्ष स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप १ बाट पीडित १३ महिने सियोनालाई सहयोग गरेका छौं। आगामी दिनमा पनि हामी सामाजिक कार्यमा सँधै अगाडि बढेर काम गर्नेछौं।’