कोरोना महामारीको ठूलो चपेटामा परेको भारतको लागि यो हप्ता एउटा खराब समाचार आयो । अन्तर्राष्ट्रिय मुद्रा कोषले जारी गरेको वल्र्ड इकोनोमिक आउटलुकले सन् २०२० मा भारतको कुल ग्राहस्थ उत्पादन छिमेकी बंगलादेशको भन्दा कम हुने प्रक्षेपण गर्यो ।
‘कुनै पनि विकाशोन्मुख अर्थतन्त्रले राम्रो गर्नु धेरै राम्रो संकेत हो,’ विश्व बैंकका पूर्व प्रमुख अर्थशास्त्री कौशिक बासु भन्छन् ‘तर, ५ वर्ष अघि २५ प्रतिशतले अगाडि रहेको भारत अहिले पछि पर्नु भनेको उसको लागि ठूलो धक्का हो ।’
बंगलादेशले अहिले धेरै राम्रो गरिरहेको छ । तर, यसको कारण के हो भने उसले पहिलेका एशियाली बाघ भनेर चिनिने केही अर्थतन्त्रहरुको बाटो समातेको छ । उसले सीपको खासै प्रयोग नहुने उत्पादनहरुको निर्यात गरिरहेको छ । तर, भारतले यो बाटो समातेको छैन ।
सन् १९९० देखि खुल्ला अर्थतन्त्रको नीति अंगीकार गरेको भारतको सपना भनेको चीनको जस्तो तीव्र आर्थिक वृद्धि पछ्याउनु रहेको छ । ३ दशक त्यो सपना पछ्याएको भारत अहिले बंगलादेश भन्दा पछि पर्न थालेपछि उसको छवी मै धक्का लागेको छ ।
आफ्नै सानो छिमेकीसँग पछि पर्दा यसले भारतको आत्मविश्वासमा पनि ठेस पुर्याउने र दक्षिण एशियाली क्षेत्रमा उसको प्रभाव कम हुने आंकलन गर्न थालिएको छ ।
समस्या कहाँ भयो त ? कोरोना भाइरसको महामारी माथी पनि दोष थोपरिएको छ । तीव्र गतिमा संक्रमण फैलिएको भारतमा अहिले मात्र दैनिक संक्रमण केही स्थिर हुन थालेको छ । भारतमा भाइरसको महामारीको कारण १ लाख भन्दा बढिको मृत्यु भइसकेको छ भने बंगलादेशमा ५ हजार ६ सयको मात्र मृत्यु भएको छ ।
महामारीको नियन्त्रणका लागि भारतले गरेको लकडाउनले उसको वास्तवीक उत्पादनमा १०.३ प्रतिशतको गिरावट आउने आइएमएफले आंकलन गरेको छ । यो भनेको कुल विश्वको गिरावट भन्दा २.५ गुणा बढी हो ।
तर, महामारी बहाना मात्र रहेको र महामारी नआएको अवस्थामा पनि भारत बंगलादेश भन्दा पछि नै पर्ने अर्थशास्त्रीहरु बताउँछन् ।
बंगलादेशले अहिले धेरै राम्रो गरिरहेको छ । तर, यसको कारण के हो भने उसले पहिलेका एशियाली बाघ भनेर चिनिने केही अर्थतन्त्रहरुको बाटो समातेको छ । उसले सीपको खासै प्रयोग नहुने उत्पादनहरुको निर्यात गरिरहेको छ ।
तर, भारतले यो बाटो समातेको छैन । काम गर्ने उमेर भएका १ अर्ब भन्दा बढी जनसंख्यालाई उसले उत्पादनको काममा लगाउन सकेको छैन ।
अहिले बंगलादेशमा काम गर्ने उमेर पुगेका ५ जना महिला मध्ये २ जना काममा छन् । यो भनेको भारतको भन्दा दुई गुणा हो ।
तर, दुखको कुरा के छ भने यस्ता समस्याहरु समाधान गर्नु भन्दा पनि यसलाई झन् बढाएर लैजाने तर्फ भारतका राजनीतिज्ञहरु उद्दत देखिएका छन् ।