काठमाडौं । नेपालका रैथाने बालीहरु लोप हुँदै गएका छन् । उन्नत जातको बीउको अभाव, बाली संरक्षणका लागि सरकारले प्रभावकारी कार्यक्रम नल्याउनु, कृषक पनि रैथाने बालीको खेतीतर्फ आकर्षित नहुनु जस्ता कारणले कोदो, जौं, लट्टे लगायतका रैथाने बाली लोप हुने अवस्थामा पुगेका हुन् ।
नेपालमा पुखौँदेखि उत्पादन गरिँदै आएका रैथाने बालीहरुको उत्पादनमा नयाँपुस्ता आकर्षित नहुँदा लोपोन्मुख हुँदै गएको हो । रैथानेबाली उत्पादनका लागि लगानी र समय धेरै लाग्ने तर प्रतिफल अत्यन्तै न्यून हुने भएकाले पछिल्लो समय किसानले यसको खेती गर्न छाडेका छन् ।
नेपालमा कोदो, जौँ, लट्टे, कागुनो, फापर, उवा, चिनो, सिलाम आदि रहेका छन् । यी बालिहरुलाई संरक्षण गर्नका लागि सरकारले बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्र निर्माण गरे पनि त्यसको प्रभावकारिता भने देखिएको छैन ।
उन्नत जातको बीउको अभाव, बाली संरक्षणका लागि सरकारले प्रभावकारी कार्यक्रम नल्याउनु, कृषक पनि रैथाने बालीको खेतीतर्फ आकर्षित नहुनु जस्ता कारणले कोदो, जौं, लट्टे लगायतका रैथाने बाली लोप हुने अवस्थामा पुगेका हुन् ।
सरकारले विशेष गरी कोदो, लट्टे, कागुनो र फापरलाई रैथाने खाद्यको रुपमा विस्तार गर्दै लैजाने योजना बनाएको छ । अर्को तर्फ भारत लगायतका विभिन्न देशहरुबाट कोदो, मकै, चामल लगायतका वस्तु आयात वर्षेनी बढ्दो क्रममा रहेको छ ।
नेपालमा कोदोको परिकार खाने परम्परा कम हुँदै आएको छ । जिब्रोको मिठासको भरमा नेपालमै उत्पादित भन्दा भारतबाट आयातित चामल बढी प्रयोगमा आएको देखिन्छ । फापर, लट्टे, कागुनो, जौँ लगायतका खाद्य पदार्थहरु प्रयोग हुँनै छाडे जस्तो देखिन्छ । गाउँघरमा परिवारलाई आवश्यक पर्ने जति मात्र उत्पादन गर्ने भए पनि यसलाई विक्री वितरण कै लागि भने उत्पादन गर्ने गरिएको पाइँदैन ।
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका बाली विकास अधिकृत पुरुषोत्तम सुवेदी नेपालका रैथाने बालीहरु क्रमशः लोप हुन सक्ने बताउँछन् । उनले विगतका वर्षहरुमा रैथाने बालीका केही प्रमुख बालीहरुको उत्पादन गाउँघरमा आफ्नै परिवार बाहेक विक्रीका लागि नहुने गरेको बताए ।
‘रैथाने बाली मानिने, कोदो, फापर, कागुनो, लट्टे जस्ता बाली अहिले धेरैले लगाउनै छाडिसके, खेती गर्नेले पनि आफ्नै परिवारलाई आवश्यक पर्ने जति मार्ग रोप्ने गरेका छन्,’ उनले सुवेदीले चाणक्य पोष्टसँग भने ‘रैथाने बाली बचाउन सरकारले अनुदानको समेत व्यवस्था गरेको छ तर, पनि धेरै यसबाट टाढा छन् ।’
उनले हाइब्रीड तता उन्नत बीउका कारण रैथाने बालीहरु लोप हुने क्रममा रहेको बताए । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना अन्तर्गत रैथाने बालीलाई प्रथमिक्ता दिएको छ । चालू आर्थिक वर्षमा ३० देखि ४० लाख रुपैयाँ स्थानीय लहमा अनुदानको समेत प्रवद्धन गरिएको छ ।
पछिल्लो समय नेपालको मकैलाई विस्थापन गर्दै चिनबाट ‘वेक्स क्रप’ (मकै) आयात हुन थालेको उनले बताए । उक्त मकै उसिनेर खान धेरै प्रयोग हुने भएकाले आयात धेरै भइरहेको उनले बताए ।
विगत ५/७ वर्षदेखि आयात हुन थालेको सोे चिनियााँ मकै विशेष गरी रेष्टुरेन्टहरुमा प्रयोग हुने गरेको छ । चालू आर्थिक वर्षको २ महिना (साउन,भदौै) मा १ करोड ३४ लाख ३८ हजार रुपैयाँ बराबरको ४ लाख ७ हजार केजी कोदो आयात भएको छ । चालू आवमा मकै ५ करोड ४४ लाख ३६ हजार रुपैयाँ बराबरको आयात भएको छ ।
कोदो
कोदो, चिनो, कागुनो, जुनेलो, बाजरा, साँवा आदि बालीहरु सबै कोदो वर्गमा पर्दछन् । यो औला आकारका हुनाले यसलाई अंग्रेजिमा ‘फिङ्गर मिलेट’ भनिन्छ । कोदो नेपालमा धान, मकै र गहुँ पछि चौथो महत्वपूर्ण खाद्यन्न बाली हो । नेपालमा कोदो बाली क्षेत्रफल घट्दो क्रममा रहेको छ ।
२०७४/७५ मा देशभर २ लाख ६३ हजार ४९७ हेक्टरमा कोदो खेती गरिएको थियो । प्रतिहेक्टर १ हजार १९२ केजी दरले ३ लाख १३ हजार ९८७ मेट्रिकटन उत्पादन भएको थियो ।
चालू आर्थिक वर्षमा ३ लाख १७ हजार मेट्रिकटन कोदो उत्पादन हुने अनुमान गरिएको थियो । हालसम्म कोदो उत्पादनको कुनै तथ्यांक आइसकेको छैन । देशको कुल खाद्यन्न बालीको क्षेफलको ७.७ प्रतिशत हिस्सा ओगटेको कोदोले क्षेत्रफलको ९५ प्रतिशत क्षेत्रफल पहाडी भेगमा पर्दछ ।
कोदो नेपालका ७७ जिल्लामै उत्पादन हुने भएता पनि खोटाङ, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा, कास्की, ओखलढुंगा, गोरखा र सिन्धुलीमा धेरै उत्पादन हुने गरेको छ ।
कोदोका फाइदा कोदोमा चामल र मकैमा भन्दा ३५ गुणा र गहुँमा भन्दा ७.७ गुणा बढी क्याल्सियम पाइन्छ । चामल भन्दा २.३ गुणा, मकैभन्दा ३.७ गुणा र गहुँभन्दा १.५ गुणा बढि आइरन पाइन्छ । सय ग्राम कोदोमा औसत ७६.३ ग्राम कार्वोहाइड्रेड, ९.२ ग्राम प्रोटिन, २.२ खरानी, १.४ ग्राम चिल्लो, ३.५ ग्राम रेशा, ३६० मिलिग्राम क्याल्सियम, ७.४ ग्राम आइरन, २५३ मिलिग्राम फस्फोरस हुन्छ ।
कोदोमा दूधमा जस्तै मिथायोनिन, सल्फरयुक्त एमिनो एसिड पाइन्छ । यो हुर्कदो उमेरका बालबालिका, गर्भिणी महिला, मधुमेह र उच्च रक्तचापका बिरामीलाई मेत नियमित सेवन गराउदा धेरै फाइदा हुन्छ ।
फापर
नेपालमा करिब १० हजार २९३ हेक्टरमा फापर खेती गरिन्छ । सो क्षेत्रफलबाट ११ हजार ४७२ केजी फापर उत्पादन हुने गरेको छ ।
नेपालमा उच्च पहाडमा फापरलाई मुख्य अन्नको रुपमा लिइन्छ । फापर तिते र मिठे गरी २ प्रकारको पाइन्छ । फापरलाई औषधिको रुपमा बढि महत्व दिने गरेको पाइन्छ । डोल्पा, मुस्ताङ, जुम्ला, मनाङ र सोलुखुम्बुमा फापर धेरै पाइन्छ ।
फापरमा रुटिन पदार्थ हुन्छ । फापर रक्त कोशिका मजबुत गर्न, रक्त बहने रोगका औषधिको रुपमा प्रयोग गरिन्छ । फापरको पिठोबाट धेरै परिकार बनाउन सकिन्छ । फापरलाई पिठो, मुन्टा र पातको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
लट्टे
यो बाली नेपालमा तराई र पहाडको ३५ सय मिटरको उचाईसम्म उत्पादन गर्न सकिन्छ । नेपालका विभिन्न ठाउँ अनुसार यसलाई लट्टे, लुडे, बेथे, मार्से भन्ने गरिन्छ । यसको बोट २.५ मिटरसम्म अग्लो हुन्छ । यो बाली दक्षिण र मध्य अमेरिकामा फैलिएको पाइए पनि विश्वभर यसका करिब ४०० जातहरु छन् ।
यो बालीको दाना र साग प्रचलित रहेको छ । सामान्यतया कालो दाना भएको लट्टे सागको रुपमा प्रयोग गरिन्छ भने हल्का पहेलो रंग भएकोलाई अन्नको रुपमा प्रयोग गरिन्छ ।
यसको दाना र पात दुवै पौष्टिकले भरिपूण हुन्छ । यसको दाना ९० प्रतिशतसम्म पचाउन सकिने भएकाले ब्रत बस्दा भुटेर दूधसँग खाने गरिन्छ ।
सूक्ष्म तत्वको बढी आवश्यक पर्ने बालबासलका, सुत्केरी अवस्थाका महिला तथा बृद्धाहरुलाई यो साग निकै लाभदायी मानिन्छ । अन्य बालीको तुलनामा यस बालीमा आइरन, क्याल्सियम भिटामिन सी, फोलिक एसिड र गुणस्तरिय प्रोटिन जस्ता तत्वहरु बढी मात्रामा पाइने गर्दछ ।
केही अध्ययनले दैनिक ५० देखि १०० ग्राम लट्टेको साग खाने गरेमा केटाकेटीमा हुने अन्धोपना कम भएको पाइएको छ । यस बालीमा ३० प्रतिशतसम्म प्रोटिन हुन्छ ।