काठमाडौं । आजदेखि घर, सवारी लगायत कर्जामा स्थिर (फिक्सड्) ब्याजदर लागू भएको छ । नेपाल राष्ट्र बैंकले १ वर्षभन्दा बढी अवधिको घर तथा सवारी लगायत व्यक्तिगत कर्जामा स्थिर ब्याजदर लागू गरेको हो ।
राष्ट्र बैंकका अनुसार स्थिर ब्याजदर व्यक्तिको नाममा प्रवाह भएका घर कर्जा, गाडी कर्जा, हायरपर्चेज, शैक्षिक लगायतका मासीक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह गरिएका १ वर्षभन्दा बढी भुक्तानी अवधि भएका कर्जामा लागू हुनेछ।
नयाँ व्यवस्था अनुसार अब बैंकहरुले सवारी, घरकर्जाको भुक्तानी अवधिभर एउटै ब्याजदर कायम हुनेछ अर्थात बीचमा ब्याजदर परिवर्तन गर्न पाउने छैनन् ।
बैंकहरुले छोटो समयमै बेसरेट परिवर्तन गरिरहँदा ऋणीहरुमर्काम पर्ने भन्दै यस्तो व्यवस्था लागू गरिएको राष्ट्र बैंकले जनाएको छ । तरता अभाव भन्दै बैंकहरुले ६/६ महिनामै कर्जाको ब्यादर परिवर्तन गर्ने गरेका थिए । जसले ऋणीलाई थप भार पर्ने गरेको थियो ।
नयाँ व्यवस्था अनुसार अब बैंकहरुले सवारी, घरकर्जाको भुक्तानी अवधिभर एउटै ब्याजदर कायम हुनेछ अर्थात बीचमा ब्याजदर परिवर्तन गर्न पाउने छैनन् ।
स्थिर ब्याजदर लागू भएपछि विशेषगरी निम्न तथा मध्यम वर्गका ऋणीलाई फाइदा पुग्ने देखिन्छ । ऋण लिँदाको समय एउटा ब्याजदर र पछि अनेका कारण देखाउँदै बैंकहरुले ब्याजदर बढाउँदा निश्चित आय भएकाहरुलाई थप भार पर्दा किस्ता तिर्न समस्या हुने गरेको थियो । अब भने लामो अवधिसम्म एउटै ब्याजदरमा ऋण लिन पाउने भएका छन् ।
राष्ट्र बैंकले भदौ अन्तिम साता एकीकृत निर्देशिका २०७७ जारी गर्दै असोज मसान्तसम्म घर, गाडी लगायत १ वर्षभन्दा बढी अवधिको ब्याजदर तोक्न निर्देशन दिएको थियो ।
स्थिर ब्याजदर अस्थिर ब्याजदरभन्दा केही महँगो भने रहेको छ । अहिले अधिकांश बैंकले एकल अंकको ब्याजदरमा ऋण दिइरहेका छन् भने स्थिर ब्याजदर कर्जा अवधि अनुसार १५ प्रतिशतसम्म तोकेका छन् ।
राष्ट्र बैंकको सोही निर्देशन अनुसार अधिकांश बैंकहरुले घर, गाडी लगायत कर्जाको अवधि अनुसार ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सवारी कर्जामा न्यूनतम ८.४९ देखि १४.५१ प्रतिशत, घरकर्जामा ८.४९ देखि १५ प्रतिशत प्रतिशतसम्म ब्याजदर तोकेका छन् । यस्तै अन्यकर्जामा पनि न्यूनतम ८.४९ प्रतिशतदेखि अधिकतम १५ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । बैंकहरुले अहिले १ वर्षदेखि १५ वर्षसम्मको अवधिको स्थिर ब्याजदर ताकेका छन् ।
कुन बैंकको स्थिर ब्याजदर कति ?
राष्ट्रिय वाणिज्य बैंक : सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ७ वर्षसम्मको सवारी कर्जामा ९.५ प्रतिशत र १५ वर्षसम्मको घर कर्जामा ११ प्रतिशत स्थिर तोकेको छ ।
नेपाल बैंक : बैंकले ९.३५ देखि १३.९३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। बैंकले कर्जा अवधि अनुसार फरक फरक तोकेको छ । घर कर्जामा न्यूनतम ९.८५ देखि १३.९३ प्रतिशत र सवारी कर्जामा १०.८५ देखि १३.९३ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
कृषि विकास बैंक : बैंकले बैंकले ९.७५ देखि १२.५० प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। बैंकले सवारी कर्जा १०.५ प्रतिशत र१० वर्षमाथिको घर कर्जाको ११.२५ प्रतिशत ब्याजदर तोकेको छ।
स्ट्यान्डर्ड चार्टर्ड : चार्टर्डले कर्जा अवधि अनुसार १०.७५ देखि १३.७५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले ५ वर्षसम्मको सवारी र घर ऋणको ब्याज १०.७५ प्रतिशत, ७ वर्षसम्मको ११.७५ प्रतिशत र १० वर्षमाथिको घरको ऋणको ब्याज १३.७५ प्रतिशत निर्धारण गरेको छ ।
नेपाल एसबीआई बैंक : बैंकले १० वर्षसम्मको सवारी कर्जा लिँदा १४ प्रतिशत र १० वर्षभन्दा माथिको घरकर्जा १४.५० प्रतिशत ब्याजमै ऋण उपलब्ध गराउने जनाएको छ ।
एनएमबी बैंक : यस बैंकले ५, १०, १५ र त्यसभन्दा माथिका लागि समयावधि अनुसार ९.४९ प्रतिशतदेखि १३.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले १५ वर्षसम्मको घर कर्जाको १२.२५ प्रतिशत, ३ वर्षभन्दा माथिको सवारी कर्जाको ९.५० प्रतिशत ब्याजदर तोकेको छ ।
नेपाल बंगलादेश बैंक : बैंकले ९.९९ प्रतिशतदेखि १२.९९ प्रतिशतसम्म स्थिर ब्याज तोकेको छ। बैंकले ५ वर्षभन्दा माथिको सवारी कर्जाको १०.९९ प्रतिशत, २० वर्षसम्मको घर कर्जाको ११.४९ प्रतिशत ब्याज निर्धारण गरेको छ।
नबिल बैंक : बैंकले ५ देखि १० वर्षसम्मको घर तथा गाडी कर्जाका लागि १०.५० प्रतिशत र १५ वर्षसम्को घर कर्जाको ११ प्रतिशत ब्याज निर्धारण गरेको छ ।
माछापुच्छ्रे बैंक : बैंकले कर्जा अवधि अनुसार स्थिर ब्याज दर निर्धारण गरेको छ। बैंकले ५ वर्षसम्मको घर कर्जा ९.८९ प्रतिशत र सवारी कर्जाको ९.९९ प्रतिशत ब्याज तोकेको छ । यस्तै, १० वर्षमाथिको घर कर्जाको ब्याज ११.८९ प्रतिशत, सवारी कर्जाको १०.९९ प्रतिशतमा र अन्य खालको कर्जाको ब्याजदर १२.२४ प्रतिशतसम्म निर्धारण गरेको छ।
ग्लोबल आइएमई बैंक : यस बैंकले न्यूनतम ७.९९ देखि अधिकतम १३.९९ प्रतिशतसम्म ब्याज दर निर्धारण गरेको छ। बैंकले ५ वर्षमाथिको गाडी कर्जाको ब्याज ११.९९ प्रतिशत र १५ वर्षमाथिको घर कर्जाको ब्याज ११.९९ प्रतिशत र अन्य कर्जाको १३.९९ प्रतिशत तोकेको छ।
सनराइज बैंक : बैंकले न्यूनतम १०.५० देखि १३.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। बैंकले ८ वर्षसम्मको सवारी कर्जाको ११.५० प्रतिशत र १५ वर्षसम्मको घर कर्जाको ब्याज ११.५० प्रतिशत निर्धारण गरेको छ।
नेपाल इन्भेष्टमेन्ट बैंक : बैंकले ७.९९ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। बैंकले ७ वर्ष अवधिको सवारी कर्जाको १०।७५ प्रतिशत, १० वर्षसम्मको घर कर्जाको ब्याज १२.५० प्रतिशत तोकेको छ ।
बैंक अफ काठमाण्डू : यस बैंकले ९.४९ देखि १२.९८ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। बैंकले १५ वर्षसम्मको घर कर्जाको ११।९८ प्रतिशत र ८ वर्षसम्मको सवारी कर्जाको ११.५ प्रतिशत ब्याज निर्धारण गरेको छ ।
सिद्धार्थ बैंक : यस बैंकले ५ वर्षमाथिको सवारी कर्जा १०.९९ प्रतिशतमा र १० वर्षमाथिको घर कर्जाको ब्याज १०.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
सेञ्चुरी बैंक : बैंकले ७ वर्षसम्मको सवारी कर्जाको १२.२४ प्रतिशत र १० वर्षमाथिको घर कर्जाको १२.७४ प्रतिशत ब्याज निर्धारण गरेको छ।
सानिमा बैंक : बैंकले कर्जा अवधि अनुसार न्यूनतम ८.२५ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। ३ वर्षमाथिको सवारी कर्जामा १३ प्रतिशत तोकेको छ ।