काठमाडौं । दशैंमा प्रायः जसो होटल तथा रिसोर्टहरूले पर्यटक तान्न विभिन्न प्रकारका प्याकेजका अफरहरू ल्याउने गरेका थिए । तर, यो पटक कोभिड १९ का कारण धेरै होटल तथा रिसोर्टहरूले कुनै प्याकेजै निकालेका छैनन् । केहीले मात्र प्याकेजको व्यवस्था गरेको पाइएको छ ।
सौराहाको राइनो लज एण्ड होटलमा यो पटक दशैंको कुनै प्याकेज राखिएको छैन । सधै दशैंमा पर्यटन भित्राउन विभिन्न प्याकेज ल्याउने गरेको सो होलटहरूले यो पटक कुनै प्याकेज नराखेको हो । दशैंमा मानिसहरू नआउने लक्षण देखेपछि दशैंमा कुनै प्याकेज नराखिएको होटलले जनाएको छ ।
होटलका म्यानेजर कमल अर्याल यो पटक दशैंपछि मात्र अफरहरू राखिने बताउँछन् । दशैंपछि पर्यटन बढे प्याकेज राखिने उनले बताए । ‘दशैंमा यो पटक केही प्याकेज छैन, पर्यटन आउने जस्तो देखिएन त्यसैले केही प्याकेज नराखेको, दशैंपछि अवस्था हेरेर प्याकेज राख्ने छौँ,’ उनले भने ।
यस्तै, पोखराको लेक भ्यू रिसोर्टले पनि यो दशैंका लागि कुनै प्याकेजको व्यवस्था गरेको छैन । साइट सिन पोइन्ट सबै बन्द अवस्थामै रहेकाले कुनै प्याकेज नराखिएको व्यवसायी बताउँछन् ।
लेक भ्यू रिसोर्टले यो दशैंमा आउनेलाई बेड र ब्रेकफास्टको २५०० रुपैयाँ प्रतिदिन शुल्क तोकेको छ । कात्तिक १ गतेदेखि पोखरा साइट सिन खुल्ला भएमा प्याकेज राख्न सकिने होटलले जनाएको छ । रिसोर्टले दशैं लगतै प्याकेजहरू ल्याउन सक्ने जनाएको छ ।
चितवनको कसरा रिसोर्टले भने दशैं प्याकेजको रूपमा २ रात ३ दिनको १५ हजार रुपैयाँ प्रतिव्यक्ति प्याकेज तयार पारेको छ । ३ समय खाना सहित वाइल्ड एक्टीभिटिजको समेत व्यवस्था गरिएको छ ।
यस रिसोर्टले विगतमा प्रतिव्यक्ति १७ हजार रुपैयाँ प्याकेज राखेको थियो । यो पटक २ हजार कम गरिएको हो ।